|

जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकाकी उपप्रमुख रेणु झाले प्रमुख रामज्ञान मण्डलविरुद्ध शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन्।

प्रमुख मण्डलले फागुन २८ गते नगरपालिकाको विशेष साधारणसभा बोलाउने निर्णय गरे पनि आफूलाई जानकारी नदिएपछि जानकारी लिन उपप्रमुख झा बघचौडामा रहेको नपाको कार्यालय पुगेकी थिइन्। झाने भनिन्, विशेष साधारणसभा बोलाउने विषयमा निर्णय गर्दा पनि आफूलाई किन सोधिएन भनेर प्रमुखज्यूलाई प्रश्न गर्दा उनले बडो असभ्य भाषामा जवाफ फर्काए।

उनको भनाइअनुसार प्रमुखले आफूसँग दुईतिहाइ बहुमत भएको दम्भ देखाउँदै उपप्रमुखलाई सोधिराख्नु पर्ने वा जानकारी गराउनुपर्ने कुनै आवश्यकता नठानेको जवाफ दिएका थिए। त्यसपछि कार्यालयमा विवाद भएको थियो। प्रमुख मण्डलको गैरजिम्मेवारी जवाफ आएको भन्दै उपप्रमुखसँगै गएका केही वडाध्यक्ष तथा सर्वसाधारणले मनमौजी रुपमा नगरपालिका चलाउन नपाइने भन्दै होहल्ला गरेका थिए।

एकलौटी रुपमा निर्णय गरेको भनदै उपप्रमुख पक्षमा रहेका सर्वसाधारणले कार्यालयको कार्यकक्षमा ताल्चा लगाएपछि विवाद झनै उग्र बनेको थियो। स्थानीयहरुसँग कुरा गरी विवादलाई केही साम्य पारेर उपप्रमुखले प्रमुख झा विरुद्ध सोझै जिल्ला प्रशासन कार्यालय धनुषा पुगी शान्ति सुरक्षार्थ निवेदन दर्ता गराएकी हुन्। 

‘महिला भएकै कारण उप्रमुखलाई निर्णय प्रक्रियामा सहभागी नगराउने, दुई तिहाइको दम्भ देखाउँदै मनमौजी निर्णय गर्नेजस्ता क्रियाकलाप पहिले देखि हुँदै आए पनि हालसम्म चुपलागेर बेसकी थिए’, उपप्रमुख झाले भनिन्, ‘तर आफ्नो अधिकार नै खोसिन थालेपछि आवाज उठाउन बाध्य भएकी हूँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.