एकतर्फी निर्णय मान्दैनौँ : व्यवसायी

|
File Photo

काठमाडाै‌ : यातायात व्यवस्था विभागले २० वर्ष पुराना सार्वजनिक सवारी साधन चलाउन चैत १ बाट पूर्ण रूपमा प्रतिबन्ध लगाउने भएको छ। विभागले यसअघि नै फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारीधनीलाई अनुरोध गरेको थियो। 

अटेर गरी यस्ता सवारी साधन सडकमा गुडाउनेलाई चैत १ देखि नियन्त्रणमा लिई कारवाही गरिने यातायात व्यवस्‍था विभागका प्रमुख रूपनाराण भट्टराईले बताए।

'विभागमा बुझाएका सवारीधनीले कबाडीमा सवारीका पार्टपुर्जा बेच्न पाउने सुविधा दिएका थियौँ, सुविधा दिँदा पनि सवारीधनी सम्पर्कमै नआएपछि अब सडकबाटै नियन्त्रण गरेर कानुनी कारवाही गर्न लागेका हौँ', उनले भने, 'यसका लागि ट्राफिक प्रहरीलगायत उपत्यकामा अनुगमनका लागि छुट्टै चारवटा टोली र देशभरका लागि २७ टोली गठन गरिसकेका छौँ।' 

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना हुने भन्दै विभागले गत वर्ष कार्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने सूचना विभागले सार्वजनिक गरेको थियो।

एकतर्फी निर्णय मान्दैनौँ : व्यवसायी

उता, यातायात महासंघका महासचिव सरोज सिटौला भने यातायात विभागको उक्त निर्णय कुनै हालतमा नमान्ने बताउँछन्। 'विभागको निर्णय सच्याउन  अाजै यातायात महासंघको केन्द्रीय सदस्यसहितको बैठक बसिरहेको छ, कसरी अगडि जाने भन्नेबारे निर्णय गर्छौं', उनले भने। 

यसअघि पनि विभागले उपत्यकाबाट २० वर्ष पुराना सार्वजनिक सवारी साधन हटाउने निर्णय गरेको थियो तर कार्यान्वयन भने प्रभावकारी हुन नसकेको कतिपयको बुझाइ छ। यसको एक वर्षपछि विभागले देशभरिबाट २० वर्ष सार्वजिनक सवारी साधन हटाउन लागेको हो। हाल देशभरि २० वर्ष पुराना सवारी साधन १० हजारको हाराहारीमा रहेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.