|

दमक (झापा) : झापाको दमकबाट मोरङ जोड्ने मावा खोलामा चार करोड रुपैयाँ बढीको लागतमा पक्की पुल निर्माण भएको छ तर अझै उपयोगमा आउन भने सकेको छैन।

दमक १० (साविक वडा नम्बर- १९) सेतुमारीबाट मोरङको उर्लाबारी तथा रतुवामाई जोड्ने स्थानमा चार करोड २१ लाख रुपैयाँको लागतमा पुल बनेको हो। मेची र कोसी अंचललाई नै जोड्ने यो पुल झण्डै एक वर्षअघि नै निर्माण पूरा भएको हो। वीपी रौताह जेभी निर्माण कम्पनीले ६६ मिटर लम्बाइ र साढे पाँच मिटर चौडाइको पुल निर्माणका लागि आर्थिक वर्ष २०७० चैतमा सम्झौता गरेको थियो।

सम्झौताअनुसार २०७१ असोजबाट निर्माण सुरु गरी २०७३ चैतमा उक्त पुल निर्माण सम्पन्न गरेको निर्माण कम्पनीका राजकुमार भण्डारीले जानकारी दिए। उनले भने, ‘हामीले हाम्रो सम्झौताअनुसारको काम सकेका छौँ, सम्झौताअनुसारका सम्पूर्ण काम गत वर्षको चैत महिनामा सकिएको हो। त्यसपछिको कुरा थाहा भएन।’

जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालय झापाको निगरानीमा पुलको निर्माण भएको भए पनि पुलको पूर्वी भाग झापाको दमक खण्ड र पश्चिमपट्टिको मोरङको उर्लाबारी नगरपालिका- ९ तर्फ बाटो निर्माण हुन नसक्दा पुल उपयोगमा आउन नसकेको स्थानीयले बताएका छन्। करिब ५०० मिटर सडक निर्माण हुन नसक्दा पुल संचालनमा आउन नसकेको हो। निर्माण सम्पन्न भएपछि गरिनुपर्ने मर्मत सम्भारको काम हुन नसक्दा अहिले पुलको दुवै किनारामा भत्कने जोखिम रहेको स्थानीय बताउँछन्।

पुल निर्माण तथा रेखदेख समितिले बाँकी काम पूरा गर्न नयाँ ठेक्का आह्वान जरुरी रहेको जनाएको छ। समितिका अध्यक्ष अम्बिका खनालले भने, ‘करोडौँको लागतमा पुल त बन्यो, बाँकी काम पूरा नहुँदा पुलको उपयोग नै हुन सकेको छैन।’

‘बाँकी कामका लागि नयाँ ठेक्का’

पुल निर्माणका लागि अघिल्लो चरणको सम्झौताअनुसार काम सम्पन्न भइसकेको र पुलको दुवै किनारामा माटो पुर्ने, पुल सुरक्षाका लागि खोलामा तार जाली लगाउनेलगायतका काम बाँकी रहेको झापाका प्रमुख इन्जिनियर सुशील श्रेष्ठले जानकारी दिए। उनले भने, ‘पुलको पश्चिमको मोरङ खण्डमा पाँद्व मिटर सडक निर्माण र आवश्यकता हेरी दुई देखि तीनवटासम्म कल्भर्ट निर्माण गर्न आवश्यक छ। यसपछि मात्र पुल संचालनमा आउँछ।’ उक्त कामका लागि यही चैत मसान्तसम्ममा ठेक्का प्रक्रिया सुरु गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए। पुलदेखि पश्चिम भागको सडकमा समस्या रहेका कारण पूर्णता पाएको एक वर्षपछि पनि पुल संचालनमा आउन नसकेको उनले जनाएका छन्। 

वर्षाअघि नै बाँकी काम

पहिलो चरणको ठेक्का सम्झौतामा पुलको दुवै किनार फिलिङ गर्ने, पुलको पश्चिमपट्टिको मोरङ खण्डमा करिब पाँच मिटर सडक उचालेर निर्माण गर्नुपर्ने छुट भएकाले ती काम अब पूरा हुने दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले बताए। ठेकेदार पक्षले पहिलो चरणको काम सम्पन्न गरिसकेको भए पनि पुलको दुवै भागमा पुर्ने र मोरङ खण्डमा सडक निर्माणको कामसमेत बाँकी रहेकाले पुल तत्काल संचालनमा समस्या रहेको उनले जनाएका छन्। बाँकी काम जिल्ला प्राविधिक शाखाले नै गर्ने गरी अख्तियारी जिल्ला समन्वय समितिले दिइसकेकाले अब चाँडै काम अघि उनको भनाइ छ। ‘बाँकी काम चाँडै पूरा गरी आगामी वर्षाअघि नै पुल संचालनमा ल्याउने लक्ष्य छ’, उनले आश्वस्त पारे।

असन्तुष्ट उर्लाबारी

मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो भने उक्त पुल निर्माण प्रक्रियाप्रति नै असन्तुष्ट छन्। पुल एकलौटी हिसाबले पूर्वी किनारामा निर्माण भएको उनको तर्क छ। फागोले भने, ‘भौगोलिक स्थितिको ख्याल नै नगरी पुल निर्माण भएको छ, खोलाको मध्यभागमा निर्माण हुनुपर्ने पुल पूर्वी किनारा बनाउँदा समस्या भएको हो।’ पूर्व-पश्चिम राजमार्गभन्दा पनि करिब १० किलोमिटर दक्षिणमा निर्माण भएको उक्त पुलको लम्बाइ नै खोलाभन्दा छोटो भएको उनको भनाइ छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.