|

रुकुम : मुसिकोट नगरपालिकाले सडक किनारामा बनाइएका घुम्ती पसलहरू यथाशीघ्र हटाउने निर्णय गरे पनि अझै हटाउन सकेको छैन। गत पुस ४ मा मुसिकोट नगरपालिकाले जिल्ला सदरमुकामको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका १९ वटा घुम्ती पसल हटाउने निर्णय गरेको थियो।  

मुख्य सडक मिचेर बनाइएका घुम्ती पसल तत्काल हटाउन एक साताको अल्टिमेटमसहित रातो चिह्न लगाइएको थियो। तर रातो चिह्न लगाइएको महिनौँ बित्दा पनि घुम्ती हटाइएको छैन। पटक पटक घुम्ती हटाउन आग्रह गरे पनि व्यापारीले अटेर गरिरहेका छन्। 

नगरपालिकाले रातो चिह्न लगाएका घुम्ती सात दिनभित्र हटाउन अन्तिम पटकको चेतावनीको समय पनि गुज्रिएको लामो समय बिते पनि निर्णय कार्यान्वयन नभएको स्थाानीयको गुनासो छ। हटाउन थालिएका घुम्ती पसल पनि फेरि उही ठाउँमै सारिएका छन्। ‘सडक मिचिएकै छ, सार्वजनिक क्षेत्र अतिक्रमण भएकै छ, नगरपालिकाले खासै एक्सन लिन सकेन’, स्थानीय नरबहादुर केसीले भने, ‘सार्वजनिक जमिन र सडक मिचिँदा दुर्घटनाको जोखिम त बढेको छ नै, अन्य कामकाजमा पनि अवरोध भएको छ।’ 

कर्मचारीले नगर चलाउँदा त भएन भएन, जनप्रतिनिधि आइसक्दा पनि नगरपालिकाको पहल कार्यान्वयन नहुनु विडम्बना रहेको स्थानीय वीरबहादुर खत्री बताउँछन्। नगरपालिकाले दोहर्‍याएर अनुगमन नगरेको उनको गुनासो छ। 

सडक अतिक्रमणसँगै जथाभावी सवारी साधन पार्किङ गरिनु यहाँको ठूलो समस्या बनेको छ। अव्यवस्थित सवारी साधन पार्किङले पैदल यात्रुमा दुर्घटनाको जोखिम पनि बढेको छ। मुसिकोट- ५ सेरीगाउँदेखि सल्लेसम्मको तीन किलोमिटर सडकमै सवारी साधन पार्किङ हुने गरेको छ। 

पाँचवटा यातायात व्यवसायी समिति र तिनै समितिसँग सहकार्य गरी जिल्लाबाहिरका सवारी साधानहरू सडकमै पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ। नगर प्रमुख देवीलाल गौतमले रातो चिह्न लगाएर घुम्ती हटाउनु भनिएपछि अनुगमन गर्न नभ्याइएको बताउँछन्। ‘रातो चिह्न लगाइदिएपछि कतिले त हटाउनु पनि भएको छ। नहटाएकालाई हटाउन अनुरोध गरिनेछ’, उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.