|

गोरखा : मुखले बोल्न नसक्ने मात्र होइन, उनी शारीरिक रूपमा पनि अशक्त छन्। दुई वर्षको उमेरमा उनको शरीरका विभिन्न भाग डढे। घरभित्रै अँगेनाको आगोको भुंग्रोमा परेर उनको शरीरको देब्रे भाग पूरै जलेकाे थियाे।

आरूघाट गाउँपालिका- १० डाँडागाउँकी अाइती बराम (नाम परिवर्तन) १५ दिनकी सुत्केरी छन्। ३५ वर्षकी आइती बोल्न सक्दिनन्। आइलीले अहिले छोरी जन्माएकी छन् तर ती छोरीका बाबुको भने टुंगो लागेको छैन। ‘धान रोप्ने, कोदो रोप्ने बेलामा पेट बोकेको भनेर इशारा गर्छे’, उनका काका भीमबहादुरले भने, ‘उसले भनेअनुसार उसको पेटमा असारतिर बच्चा रहेको हुनुपर्छ।'

लाटी मान्छेलाई कसैले यस्तो गर्ला भनेर आफूले सोच्नै नसकेको भीमबहादुर बताउँछन्। 'जाडोयाम लाग्यो, बाक्लो लुगा लाएर हिँड्थी। पेट त्यत्ति ठूलो पनि देखिँदैनथ्यो', उनी भन्छन्, 'यही १५ गते त छोरी पो जन्माई।’ आइतीले आफन्तलाई इशारा गरेर रातको समयमा घरमै आएर बलात्कार गरेको आरोप लगाएकी छन्। ‘राती सुतेको बेलामा कोठामा छिरेर बत्ती मारेर अवैध काम गरेको भन्छे। उसले जति बेला पनि एउटै व्यक्तिलाई मात्रै दोष दिन्छे’, काका भीमबहादुरले भने। यस विषयमा आइतीका परिवारले इलाका प्रहरी कार्यालय आरुघाटमा ठाडो उजुरीसमेत दिइसकेका छन्। उजुरीका आधारमा सामान्य सोधपुछसमेत गरिएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी सहायक निरीक्षक प्रकाश गुरुङले स्वीकारे। 

‘पीडित पक्षले चौकीमा ठाडो उजुरी दिनुभएको हो’, गुरुङले भने, ‘यो मुद्दा देवायनी प्रकारको मुद्दा हो। हामीले मुद्दा चलाउन मिल्दैन। हामीले सामान्य सोधपुछबाहेक केही गर्न सक्दैनौँ, अदालत जानुहोस् भनेर सुझाव दिएर पठाएका हौँ।’ पीडितका आफन्तहरूले भने प्रहरीले यस घटनालाई चासो नदिएको आरोप लगाएका छन्।  

इलाका प्रहरी कार्यालयमा ठाडो उजुरी परेपछि पीडित र आरोपित दुवैलाई बोलाएर छलफल गरिएको थियो। प्रहरी सहायक निरीक्षक गुरुङ भन्छन्, ‘आरोपित केटाले मैले हुँदै होइन, जे गर्न पनि तयार छु भनेको छ।’ आइतीले बच्चाको बाबु भनेर आरोप लगाएका युवा सोही गाउँका हुन्। 

स्थानीयहरू प्रहरीले न्याय दिनभन्दा पनि सम्झाउन बुझाउन खोजेर दोषीलाई बचाउन खोजेको स्थानीयको भनाइ छ। आइतीले उक्त युवकले पटक पटक आफूलाई बलात्कार गरेको आरोपसमेत लगाउँदै आएको उनकी आफन्त धनमाया बताउँछिन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.