|

गुल्मी : गुल्मीको सदरमुकाम तम्घास नजिकै रेसुंगा वन क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। मंगलबार साँझ रेसुंगा वन क्षेत्रको गौशालाबाट सल्किएको आगो तीन दिनमा पनि नियन्त्रणमा अाउन सकेकाे छैन। 

आगो नियन्त्रणका लागि नेपाली सेना वीर भद्रजंग गुल्म धागीथुम ब्यारेक, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी, जिल्ला प्रहरी कार्यालयको टोली र सदरमुकाम तम्घासका वासिन्दा खटिँदा पनि नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए। सयौँ रोपनी जग्गामा फैलिएको आगो नियन्त्रण गर्नका लागि सुरक्षा निकाय र स्थानीयवासी लागिपरेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए। आगो कसले र कसरी लागाएको भन्ने बारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए। त्यहाँ अर्बौं रुपैयाँ मूल्य बराबरको धार्मिक भौतिक संरचना रहेको छ।  

आगलागी नियन्त्रणमा खटिएकाहरूका लागि गुल्मी उद्योग बाणिज्य संघले चाउचाउ, बिस्कुट, चिउरा र पानीको व्यवस्था गरेको संघका कार्यसमिति सदस्य चेतनारायण पाण्डेले जानकारी दिए। आगो नियन्त्रणमा ल्याउन नसकिए वन क्षेत्र नजिकका पराल्मी, बलिथुम, गौँडाकोट, दुवीचौर, तम्घास र अर्खलेसम्मका घर वस्तीहरू जोखिममा पर्छन्। ६५ हेक्टर जंगलमा आगलागी भइसकेको जिल्ला वन अधिकृत कृष्णराज न्यौपानेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.