|

काठमाडौं : रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनामा १० अर्ब ७९ करोड ३० लाख रुपैयाँ भन्दा बढी रकम बराबरको आइपिओ (साधरण शेयर) को आवेदन परेको छ। जसमा रसुवागढीमा छ अर्ब ६२ करोड आठ लाख र साञ्जेन आयोजनमा चार अर्ब १७ करोड २२ लाख ५३ रुपैयाँ बराबरको आवेदन परेको आयोजनाका प्रमुखले जानकारी गराए। 

सीमित आइपिओ तोकिएकोमा  छ गुणा बढी आवेदन परेको छ। रसुवागढी र साञ्जेन कम्पनीले गत फागुन ११ देखि ३० गतेसम्म सीमित आइपिओ बिक्री गरेको थियो। रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाका अनुसार रसुवागढीमा एक लाख ८६ हजार ३२४ जनाले आवेदन दिएका छन्।

'केही बैंक तथा वित्तीय संस्थाले अझै विवरण बुझाउन बाँकी रहेको भन्ने जानकारी आएको छ। केही संख्या अझै बढ्न सक्छ' कोइरालाले भने। 

कम्पनीले  एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशन गरेको थियो। त्यसमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि रु एक अर्ब ३३ करोड ४२ लाख हजार बराबरको एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर छुट्याइएको थियो। 

यस्तै साञ्जेन जलविद्युत् कम्पनीमा एक लाख ८३ हजार २३५ जनाले आवेदन दिएका छन्। कम्पनीले सञ्चयकर्ताका लागि  ७१ करोड १७ लाख ५० हजार बराबरको ७१ लाख १७ हजार ५०० कित्ता शेयर छुट्याएको थियो।

सञ्चयकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ३०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.