|

भद्रपुर (झापा) : नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गर्ने दुई जना नेपाली भारतमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गाउँपालिकाका १३ वर्षका बालक पप्पुकुमार यादव र सोही ठाउँ निवासी २० वर्षका मानिककुमार यादव रहेका छन्। उनीहरूलाई भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको हो। 

नेपाल-भारत सीमावर्ती नाका दिघल बैंक चेकपोष्टको पश्चिमतर्फबाट दुईवटा साइकलमा लोड गरी लुकाईछिपाई भारततर्फ लगिरहेको २१० लिटर डिजेलसहित दुवै जनालाई १२ बटालियन एसएसबीका प्रहरी निरीक्षक विकासचन्द्र विश्वाससहितको टोलीले पक्राउ गरेको जनाइएको छ। बरामद गरिएको डिजेलको नेपाली मूल्य १७ हजार ४३० रुपैयाँ पर्छ। यता, पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि भारतीय भन्सारमा बुझाइसकेको जनाइएको छ।

पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतीय बजारमा भन्दा सस्तो भएकाले सीमावर्ती नाकाबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी फस्टाउन थालेको छ। यसअघि पनि सोही नाकाबाट भारतीय एसएसबीले ४९ हजार रुपैयाँ मूल्य बराबरको डिजेल बरामद गरेको थियो। 

नेपालमा पेट्रोलको मूल्य १०४ रुपैयाँ पर्छ भने भारतको विहार राज्यमा नेपाली मूल्य ११९ रुपैयाँ ५० पैसा पर्छ। डिजेल र मटिट्तेल नेपालमा ८३ रुपैयाँ छ भने विहारमा १०४ रुपैयाँ पर्छ। प्रति लिटर पेट्रोल नेपालबाट भारततर्फ लगिएमा १५ रुपैयाँ फाइदा हुन्छ। डिजेल र मटिट्तेलमा प्रति लिटर २१ रुपैयाँ फाइदा हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.