|

काठमाडौं : प्रधानमन्त्री र राष्ट्रपति निर्वाचनमा वाम गठबन्धनको पक्षमा मतदान गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल तत्काल सरकारमा सहभागी नहुने भएको छ। राजपालाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरे पनि संविधान संशोधनको विषय टुंगो नलागेको भन्दै तत्काल सरकारमा सहभागी नहुने राजपाले जनाएको हो।

राजपाले सरकारलाई भने समर्थन गर्ने वाम गठबन्धनका नेताहरूले बताएका छन्। एमाले सचिव प्रदीप ज्ञवालीले राजपा तत्कालका लागि सरकारमा सहभागी नहुने तर सरकारलाई उसको समर्थन भने रहने बताए। 'राजपा तत्काल सरकारमा आउँदैन, अहिले फोरम मात्रै सरकारमा सहभागी हुन्छ', ज्ञवालीले भने, 'राजपाले संविधान संशोधन भएपछि मात्रै सरकारमा सहभागी हुने र अहिले बाहिरबाट सहयोग गर्ने भन्ने कुरा भएको छ।'

'सरकारसँग औपचारिक वार्ता भएकै छैन'

सरकारमा सहभागी हुने सन्दर्भमा सरकारसँग तत्काल कुनै औपचारिक वार्ता भइनसकेको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो बताउँछन्। नेता महतोले तत्कालका लागि सरकारसँग राजपाको सम्बन्ध टुटेको अवस्था पनि नरहेको र जुटेको अवस्था पनि नरहेको भन्दै सरकारमा जाने वा नजाने भन्ने सन्दर्भमा मिडियामा आएका कुराहरू प्रचारवाजी मात्र भएको बताए।

सरकारले आफूलाई साथ दिन आमन्त्रण मात्र गरेको र औपचारिक वार्ता भइनसकेकाले औपचारिक वार्ता भएपछि मात्र कुरा टुंगो लाग्ने उनको भनाइ छ। 'वर्तमान सत्तारुढ गठबन्धनसँग राजपाको सम्बन्ध टुटेको पनि छैन र जुटेको छैन। सरकारले हामीलाई साथ दिन, सहयोग गर्न औपचारिक रूपमा आमन्त्रण मात्र गरेको हो', नेता महतो भन्छन्, 'औपचारिक वार्ता भएकै छैन। औपचारिक वार्ता भएपछि मात्र टुंगो लाग्छ, जाने कि नजाने भन्ने कुरा। यो सबै मिडिया प्रचारवाजी मात्र हो।'

प्रतिनिधिसभाको निर्वाचनमा कैलाली- १ बाट निर्वाचित सांसद तथा राजपा नेता रेशम चौधरीलाई प्रमाणपत्र दिन र शपथ खुवाउन नेता महतोले आग्रह गरे। सांसद चौधरीको स्वास्थ्य अवस्था पनि बिग्रिँदै गएकाले मानवीय हिसाबले पनि राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ। उनले भने, 'निर्वाचित सांसदलाई प्रमाणपत्र दिने, शपथ गराउने काम राज्यको हो। हाम्रो सांसदलाई शपथ खुवाउने काम गर्नुपर्‍यो। स्वास्थ्य बिग्रिएको छ, मानवीय हिसाबले पनि राज्यले ध्यान दिनुपर्छ।'

सरकार विस्तार दुई/तीन दिनमा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्री मण्डल तेस्रो पटक विस्तार गर्ने तयारी गरेका छन्। राष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायतका निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्रीले सरकार विस्तार कार्यलाई अगाडि बढाउने भएका छन्। यससम्बन्धमा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पछिल्लो केही दिनयता लगातार छलफल गर्दै आएका छन्।

बुधबार बिहान पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा एक घण्टा छलफल भएको थियो भने बिहीबार बेलुकी प्रधानमन्त्री र प्रचण्ड भेटघाट गर्ने कार्यक्रम छ।

एमालेको भागमा परेको मन्त्री छान्ने जिम्मा भने एमालेले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई दिएका कारण ओलीले नै मन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्ने एमाले नेताहरू बताउँछन्। 'सरकार विस्तार २/३ दिनभित्र हुन्छ। सबैसँग कुरा भइरहेको छ। उहाँ (प्रधानमन्त्री)ले परामर्श गरिरहनुभएको छ', ती नेताले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.