|

दमक (झापा) : २०३८ सालमा भोजपुरको चम्पेमा जन्मिएकी भीमा नेपालीले २०५८ सालमा झापाको तोपगाछीका अर्जुन मगरातीसँग प्रेम विवाह गरिन्। विवाहपछि चार सन्तान भइसके। जेठी छोरी त १५ वर्षकी भएकी छन् तर न उनको विवाह दर्ता भएको छ, न त सन्तानको जन्म दर्ता नै। उनी आफैँ नागरिकताविहीन भएकाले हुर्किंदै गएका सन्तानलाई कसरी नागरिकता दिलाउने भन्ने चिन्ता पनि चुलिँदै गएको छ। 

प्रेमपछिको पछुतो

भीमा २०५८ सालमा दमक आइन्। आफन्त थिए दमकमा, त्यहीँ बसिन्। पहाडबाट आएकै वर्ष झापा तोपगाछीका अर्जुन मगरातीसँग प्रेम विवाह भयो उनको। भीमाले विवाह गरेको एक वर्षपछि छोरी जन्माइन्। अहिले उनकी छोरी संगीता कक्षा ८ मा पढ्दै छन्। २०६४ सालमा जन्मिएका छोरा सागर पनि कक्षा ३ मा पढ्ने भए। त्यसपछि पनि जुम्ल्याहा छोरी गंगा र छोरा सुमन जन्मिएपछि सन्तानको संख्या ४ पुग्यो। तर जुम्ल्याहा सन्तान वर्ष दिनका पुग्दा नपुग्दै भीमाका श्रीमान बेपत्ता भए। अहिलेसम्म उनी घर फर्केका छैनन्। अझै अत्तोपत्तो छैन उनको। उनीहरूको अहिलेसम्म विवाह दर्तासमेत छैन।

विवाह दर्ता नगरेकाले अहिले उनी मान्यताविहीन परिवारको सदस्य बनेकी छन्। ‘के गर्नु, पहाडबाट आउनेबित्तिकै ऊ (श्रीमान)सँग भेट भयो, उसैसँग प्रेममा परियो। विवाह भयो। छोराछारी पनि भए।’ आफैँसँग गुनासो गर्दै उनले भनिन्, ‘गरी नलाग्ने मान्छेसँग परिएछ, न विवाह दर्ता गरायो, न त नागरिकता बनाइदियो। अहिले आफैँसँग पछुतो छ नि! तर के गर्नु, अब गरेर केही हुँदैन।’

पेट पाल्नै पिरलो

भीमा अहिले झापाको कमल गाउँपालिका- ७ मा अस्थायी बसोवास गर्दै आएकी छन्। चार सन्तान पनि सँगै छन्। ‘श्रीमानको परिवारको कुनै जग्गा छैन, श्रीमानको नागरिकता पनि रहेन छ’, भीमाले भनिन्, ‘विवाह दर्ता र नागरिकता बनाउन भन्दा पनि केही लागेन, पछि त मान्छे नै हराए।’ ससुरा लेखबहादुर सार्कीको अाठ वर्षअघि निधन भयो। त्यसै वर्षको भदौमा उनका बुबा हस्तबहादुर दर्जीको पनि निधन भयो। अहिले उनको टेक्ने समाउने कोही छैन। बुबा, ससुरा र श्रीमानसमेत नहुँदा सन्तानको शिक्षाका लागि मजदुरी गर्दै आएको उनले बताइन्। 

‘आफ्नो त जे जस्तो भइहाल्यो, यिनीहरूको चाहिँ बिचल्ली नभए हुन्थ्यो’, उनले भनिन्, ‘विवाह दर्ता र नागरिकता भएदेखि छोराछोरीलाई पढ्न र गरिखान पनि सजिलो हुन्थ्यो कि भन्ने लागेको छ।’ तर आफूहरूको यस्तो अवस्थाका बारेमा कुनै पनि जनप्रतिनिधिलाई भने जानकारी नगराएको उनले बताइन्। आफूले कसैलाई पनि नचिन्ने र दिनहुँ मजदुरीमा जानुपरेकाले कसैलाई भन्नसमेत नसकेको उनको भनाइ छ। ‘म जे गरेर भए पनि यिनलाई पाल्छु, पढाउँछु, भोकै राख्दिनँ’, हिम्मतसाथ भीमाले भनिन्, ‘मलाई सम्पत्तिको लोभ पनि छैन, तर कम्तीमा विवाह दर्ता र नागरिकता भइदिए यिनले घरका न घाटका हुनुपर्ने थिएन।’

स्थानीय सरकार अनभिज्ञ

भीमाको अवस्थाका बारेमा स्थानीय सरकारले भने कुनै जानकारी पाएको छैन। भीमा र उनको परिवारको अवस्थाका बारेमा आफूले भर्खरै मात्र जानकारी पाएको कमल गाउँपालिका- ७ का वडाध्यक्ष पृथ्वीपति राईले बताए। ‘यस विषयमा मलाई पनि थाहा थिएन, बल्ल तपाईंले भन्दा थाहा भयो’, उनले भने, ‘म गएर अवस्थाका बारेमा बुझ्छु, नागरिकता जटिल विषय हो। सबै अवस्था र प्रक्रियाका बारेमा हामी अध्ययन गरेर उनको पीडालाई सम्बोधन गर्ने प्रयास गर्नेछौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.