|

काठमाडौं : नेपाली चियाको व्यवसायीक खेती सुरु भएको करिव ५० वर्षपछि लोगो (ट्रेडमार्क) पाउने भएको छ। वार्षिक झण्डै तीन अर्ब रुपैयाँ बराबरको चियाँ विदेशी बजारमा पुग्दासमेत विदेशी उपभोक्ताले कहाँको चिया हो भनेर थाहा पाउन नसक्ने अवस्था रहेकोमा नेपाली चियाले लोगो पाउन लागेको छ।

आगामी चैत २३ गते नेपाली चियाको लोगो सार्वजनिक गरिने नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए। 'आगामी चैत २३ गते नेपाली चियालाई ‘नेपाल टी, क्वालिटी फ्रम दी हिमालय’ ट्रेडमार्क (लोगो) आधिकारिक रुपमा सार्वजनिक गरिने छ' गौतमले भने।

बोर्डले नेपालमा हुन थालेको तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सवको अवसर पारेर लोगो सार्वजनिक गर्न लागेको हो। चिया उत्पादकोहरुको साझा संस्था अर्थोडक्स टी प्रोड्युसर्स र चिया तथा कफी विकास बोर्डले तयार पारेको लोगो नेपाल सरकारले स्वीकृत गरिकेको छ।

के हुन्छ फाइदा?

अव विश्‍व बजारमा पुग्ने नेपाली चियामा 'नेपाल टी, क्वालिटी फ्रम दी हिमालय' नामक लोगो हुनेछ। जसले गर्दा तेस्रो मुलुकमा वाह्य व्यक्तिगत फार्मले आफू अनुकुल लोगोमा चियाको विक्री गर्दै आएकोमा अब भने यस्तो गर्न पाउने छैनन्।

टेडमार्क पश्चात अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको छुट्टै पहिचान स्थापना भई प्रवर्द्धनमा सहयोग पुग्ने बताउँछन् कार्यकारी निर्देशक गौतम। 'हामीलाई अन्तर्राष्ट्रिय बजारमा पहिचान स्थापना, प्रवर्द्धन तथा प्रतिस्पर्धा गर्न सहयोग पुग्नेछ' गौतमले भने।

तर ट्रेडमार्क प्राप्तिका लागि भने अन्तर्राष्ट्रिय मापदण्डभित्रका आधारभूत नियमहरु उद्योगी तथा व्यवसायीले पालना गर्नुपर्ने गौतमले बताए।

चियाका व्यवसायी तथा पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले नेपाली चियाले लोगो पाएसँगै विदेशी बजारमा माग बढ्ने बताउँछन्। उनले नेपाली चियाको स्वाद संसारका अन्य राष्ट्रको तुलनामा निकै फरक भएको बताउँदै लोगो प्रदान भएपछि नेपाली चियाको माग बढ्ने र उत्पादन पनि वृद्धि हुने बताए।

हाल नेपालले वार्षिक झण्डै सवा तीन अर्ब रुपैयाँ बराबरको चिया विदेशी बजारमा पठाउने गरेको छ। वार्षिक साढे २ करोड केजी चिया उत्पादन हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.