|

काठमाडौं : फिल्म 'चौका दाउ' निर्माण हुने भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो। संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति शम्भुजीत बाँस्कोटाको कथा तथा संगीत रहने यो फिल्म उनकै जन्मदिनको अवसरमा घोषणा गरिएको हो।

पूर्णेन्द्र झाले निर्देशन गर्ने यस फिल्मलाई संगीतकार बाँस्कोटाका छोरा सौर्यजीत बाँस्कोटाले निर्माण गर्न लागेका हुन्। विल्सनविक्रम राई (तोक्मे बुढा), रवीन्द्र झा, सन्तोष पन्त, तैयव शाहको मुख्य भूमिका रहने यस फिल्मका नायक/नायिका भने खोजी भइरहेको बताइएको छ। फिल्ममा निर्मल शर्मा, प्राज्ञहरू रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङको पनि विशेष भूमिका रहनेछ।

कार्यक्रममा बाँस्कोटाले 'चौका दाउ' मनोरञ्जनात्मक सामाजिक फिल्म भएको बताए। निर्देशक झाले पनि फिल्म हास्यप्रधानसँगै प्रेमकथामा आधारित भएको खुलाए।

शम्भुजीत बाँस्कोटाको कथा तथा संगीत रहने यस फिल्ममा अभिमन्यु निरवीको पटकथा, चन्द्र पन्तको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेको गीत रहनेछ। दीर्घ गुरुङले खिच्ने फिल्मलाई मित्र डी गुरुङले सम्पादन गर्नेछन्। फिल्ममा सौर्यजीतसँगै मनोज राजभण्डारीको पनि लगानी रहनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.