|

काठमाडौं : नेपाल राष्ट्र बैंकले चैत १ (आज) देखि नागरिक बचतपत्र बिक्री गर्न सुरु गरेको छ। नेपाल सरकारको स्रोत व्यवस्थापनका लागि राष्ट्र बैंकले बिहीबारबाट यो रकम उठाउन नागरिक बचतपत्र बिक्री गर्न थालेको हो।

आगमी चैत २१ गतेसम्मका लागि बिक्री खुला गरिएको बचतमा नौ प्रतिशतको व्याज तोकिएको छ। राष्ट्र बैंकले बजारको अवस्था हरेर यो व्याजदर निर्धारण गरिएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए। 

आमनागरिकले बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्ने व्यवस्थासमेत राष्ट्र बैंकले गरेको छ। प्रत्येक ६/६ महिनामा ब्याज दिइने र २०७९ चैत २६ गते सावाँ फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ। 

बचतपत्र खरिद गर्न घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमाभित्र रहेर १० हजार रुपैयाँले भाग जाने अंक बराबरको आवेदन दिन पाइनेछ। नागरिक बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउने व्यवस्था छ। तोकिएको उक्त ब्याज आफूलाई पायक पर्ने वाणिज्य बैंक, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयबाट लिने सकिने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ।

सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र, ट्रेजरी बिललगायत मौद्रिक उपकरणबाट राष्ट्रका लागि स्रोत व्यवस्थापन गर्छ। यसअघि सरकारले एक खर्ब १४ अर्ब ७९ करोड रुपैयाँ आन्तरिक ऋण लिइसकेको छ। 

सरकारले बजेट स्रोतका लागि चालू आर्थिक वर्षमा एक खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएर बजेट स्रोत जुटाउने लक्ष्य लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.