|

धनगढी : फागुन २७ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि ‘जनकारबाही गर्ने’ भनी प्रेस विज्ञप्ति जारी गर्‍यो।  जानकारी प्राप्त गरेलगत्तै कैलाली प्रहरीको एक टोली २८ फागुनमा प्रमुख चौधरीलाई सुरक्षा दिन खटिने भयो।

सुरक्षा निकायका प्रमुखहरूले चौधरीलाई सम्पर्क गरे। उनले आफू काठमाडौंमा रहेको जवाफ दिए। उनको जवाफमा विश्वस्त हुन नसकेपछि प्रहरीले पुनः सोधखोज गर्‍यो। फेरि पनि त्यस्तै जानकारी प्राप्त भयो।

‘नगरप्रमुख चौधरीले काठमाडौंमा छु भनेपछि हामी चुपचाप बस्यौं,’ कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले भने, ‘तर त्यसै दिन (फागुन २८) राति चौधरीमाथि गोली तथा खुकुरी प्रहार भएको खबर आयो।’ घटनालगत्तै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसहित सुरक्षा समन्वय समितिका प्रमुखहरू घटनास्थल पुगे।

नगरप्रमुख चौधरी घरमै बसेका बेला अज्ञात समूहले काम छ भन्दै बाहिर बोलाएको थियो। बाहिर निस्कनेबित्तिकै बत्ती र ढोका बन्द गरेर उनको टाउको र खुट्टामा खुकुरी प्रहार गरियो, कम्मरनजिकै गोली हानियो। दुईवटा मोटरसाइकलमा आएका चार जनाले खुकुरी प्रहार गर्दा नगरप्रमुखले गुहार मागे। छिमेकीहरू नगरप्रमुखको घरमा पुगेलगत्तै आक्रमणकारी भागेका थिए।

सुरक्षा थ्रेट रहेको भनेर सुरक्षाका लागि सम्पर्क गर्दा चौधरीले गलत सूचना दिएकाले अप्रिय घटना भएको प्रहरीले जनाएको छ। चौधरीले सही सूचना दिएको भए त्यस्तो घटना नहुने प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.