|

उदयपुर : किसानले उत्पादन गरेको भुईँस्याउले बजार नपाएपछि उदयपुरका किसान मारमा परेका छन्। बजारमा पहुँच नहुँदा ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको भुईँस्याउ (ग्राउण्ड एप्पल) ले किसानलाई चिन्तित बनाएको छ।

जिल्लाको रौतामाई, लिम्चुङबुङ, ताप्ली लगायतका विभिन्न नगरपालिकाको पहाडी क्षेत्रका किसानले उत्पादन गरेका भुइँस्याउ बिक्री भएका छैनन्। व्यावसायिक रूपमा भुईँस्याउको खेती सुरु गरेका किसानले खेती छाड्न थालेका छन। ‘विभिन्न सरकारी तथा गैर सरकारी निकायले बिक्री प्रवर्धन गरिदिने भन्दै खेती गर्न लगाए,’ रौतामाई गाँउपालिकाका डम्बरकुमार राईले भने, ‘किसानले उत्पादन पनि गरे, तर, कता लगेर कसलाई बेच्ने भन्ने थाहा नपाएर समस्यामा परेका छौँ।’

एक वर्षदेखि झण्डै दस रोपनीमा भुईँस्याउनको खेती सुरु गरेका राईले बिक्री नभएपछि रक्सी बनाउन र गाईबस्तुलाई खुवाउन थालेको गुनासो गरे। वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सकिने सपना बोकेर भुईँस्याउको खेतीमा लागेका किसान बिक्री नभएको उनले बताए। ‘सामान्य खेती गरे पनि वर्षमा लाखौं रुपैयाँ कमाइ हुन्छ भनियो’, नामेटारका एकराज मगरले भने, 'बजारमा त्यसको महत्त्वबारे जानकारी नहुँदा गाईभैंसीको खोले र मदिरा बनाउन प्रयोग गरिरहेका छौँ। भैंसीलाई खुवाउँदा दूध बढ्ने रहेछ भने मदिरा पनि राम्रो बन्ने रहेछ।’

ओख्ले, बौरेनी, माझखर्क, भालेबास, यारी खोला, रतने, ठाडाखोलाका किसानहरु भुईँस्याउ खेतीमा लागेका छन। न्यूनतम वार्षिक ५ क्विन्टलदेखि ५० क्विन्टलसम्म यस क्षेत्रका किसानले उत्पादन गरेको भुँईस्याउ बिक्री हुन सकेको छैन। ‘यातायातको लागि सडक समेत छ, बजारमा लग्यो मान्छेहरुले मन नै पराउँदैनन्,’ किसान शेरजंग राउतले भने, ‘उपभोक्तालाई समेत भुईँस्याउको महत्त्व थाहा नहुँदा समस्या परेको छ।’

औषधीय गुण भएको भुईँस्याउको जानकारी नहुँदा बारीमै खेर गइरहेको राष्ट्रिय कृषक समूह नेपाल उदयपुरका अध्यक्ष सोमबहादुर दनुवारले बताए। ‘यसले ब्लड प्रेसर, सुगर लगायका अन्य बिरामीका लागि यो फल लाभदायी हुन्छ भन्ने सुनेको छु,’ उनले भने, ‘यसको बारेमा सर्वसाधारणलाई जानकारी छैन। किसानले उत्पादन गरेर बजार ल्याए पनि बिक्री हुन सकेको छैन।’

पूर्वी नेपालका धरान, विराटनगर, इटहरीलगायत बजारमा माग भए पनि उदयपुरको बजारमा भने भुईँस्याउले बजार पाउन सकेको छैन। उदयपुरमा उत्पादन हुने भुईँस्याउको बारेमा प्रचार प्रसार नहुँदा बजार पाउन नसकेको जिल्ला कृषि विकास कार्यालय उदयपुरका बालीविकास अधिकृत रामसेवक ठाकुरले बताए। ‘भुईँस्याउ पनि फलफूल खेती नै हो,’ ठाकुरले भने।

विभिन्न संघसंस्थाले ५\७ वर्षयता पहाडी क्षेत्रका किसानलाई भुईँस्याउको खेतीमा लगाएका छन्। उनका अनुसार ५२ हेक्टरभन्दा बढी जग्गामा भुईँस्याउको खेती हुन थालेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.