|

काठमाडौं : आयातनिर्यात गरिने माल सामानहरुको कार्गो प्रबन्ध शुल्क वृद्धि गरेको भन्दै व्यवसायीहरूले विरोध जनाएका छन्। नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले शुल्क वृद्धि गरेपछि निजी क्षेत्रको प्रतिनिधि मुलक संस्था नेपाल चेम्बर अफ कमर्सलगायतका सम्बद्ध व्यसायीका संगठनले विरोध जनाएका हुन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले बिहीबारदेखि लागू हुने गरी शुल्क वृद्धि गरेको हो। निजी क्षेत्रसँग परामर्श नै नगरी वृद्धि गरिएको शुल्क तत्काल फिर्ता लिन चेम्बरले आग्रहसमेत गरेको छ।  

चेम्बरले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शुल्कवृद्धिको विरोध गरेको हो। नेपाल चेम्बर अफ कमर्सबाट विगतमा सरोकारवाला सबै निकायहरुको छलफल गरी निजी क्षेत्रको सुझाब तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमक्ष र यस सम्बन्धमा गठित कार्गो प्रबन्ध सेवा दस्तुरसम्बन्धी उपसमितिलाई दिएको बताउँदै शुल्क वृद्धि व्यावहारिक नभएको जनाइएको छ। 

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गत वैशाखमा पनि शुल्क वृद्धि गर्दा निजी क्षेत्रले विरोध गरेको थियो। एकतर्फी रूपमा नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले आफूखुसी शुल्क वृद्धि गरेको भन्दै आयात निर्यातसँग सम्बन्धित १४ ओटा संस्थाले आयात निर्यातका सबै काम बन्द गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.