|

चितवन : चितवनको कालिका नगरपालिका- ३ पदमपुरका बाबुराम केसी च्याउ खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। एउटा सानो झुप्रोबाट २०५६ सालमा च्याउ खेती सुरु गरेका केसी अहिले छ कट्ठा जमिनमा च्याउ फलाउँछन्। पहिले साइकलमा च्याउ बेच्न बजार लान्थे,अहिले गाडीमा हिँड्छन् उनी। च्याउ बेचेर  जग्गासमेत जोडिसकेका छन् उनले।

कन्ने र गोब्रे च्याउ लगाउने उनी दैनिक अौसत १०० किलो च्याउ उत्पादन गर्छन्। ‘मेरा लागि यही हो विदेश, यहीँ छ कमाइ।’ केसीले भने, ‘मिहिनेत गरे जुन पेसामा पनि कमाइ छ। कहिलेकाहीँ दिनमा ४०० केजीसम्म उत्पादन हुन्छ।’ 

२०५६ सालमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले जंगलमा मानवीय चाप घटाउन स्थानीयलाई आयआर्जनका लागि च्याउखेती तालिम दिएको थियो। वन्यजन्तु संरक्षण गर्नु यसको मुख्य उद्देश्य थियो। सुरुमा केसीसहित १० जनाले तालिम लिएका थिए। त्यस बेला ग्रामीण कृष्ण समूह गठन गरेर च्याउ खेती सुरु भएको केसी सम्झन्छन्। उक्त समूहमा अहिले मासिक ३०० रुपैयाँ बचत गरिँदै आइएको छ। 

सामान्य खेती किसानी गरेर जीविका चलाउँदै थिए केसी। पहिलो खेती पनि वन्यजन्तुले खाइदिन्थ्यो। तर अहिले जीवन फेरिएको छ उनकाे।

च्याउबाट खर्च कटाएर मासिक एक लाख रुपैयाँ न्यूनतम कमाइ हुने उनको भनाइ छ। उनले च्याउ प्रति किलो १२० रुपैयाँमा थोकमा बेच्छन्। बजारमा खुद्रा भने प्रति किलो २०० देखि २५० रुपैयाँसम्म पर्छ। विगतमा भारतमा मजदुरी गरेको अनुभव केसीसँग छ। त्यसपछि नेपाल आएर जग्गा नापी कार्यालयमा समेत काम गरे उनले। 

‘जब च्यउ खेती सुरु भयो, दु:खका दिन गए', केसीले भने, ‘अहिलेको पेसामा निकै सन्तुष्ट छु।’ उनले खेती सुरु गरेपछि पछाडि फर्कनु नपरेको अनुभव सुनाए।
झुप्रोबाट खेती सुरु गरेका उनका अहिले च्याउका छवटा ठूला उत्पादन कक्ष छन्। उनले अहिले छ कट्ठामा च्याउ खेती गर्छन्। ‘च्याउको बजार राम्रो छ, जिल्लाकै माग धान्न गाह्रो छ’, केसीले भने। 

पत्नी सीता केसीले सघाउँछिन् उनलाई। ‘उहाँले बजार हेर्नुहुन्छ, यहाँको व्यवस्थापन म गर्छु’, सीताले भनिन्। च्याउको मौसमका बेला १२/१५ जनासम्म कामदार राखेर व्यावसायिक च्याउ खेतीका सफल किसानको रूपमा केसी परिवार चिनिएका छन्। च्याउ बेचेर कार, मोटरसाइकलसहित तीन कट्ठा जग्गासमेत जोडिसकेका छन् उनले।

साइकलबाट कार मालिक 

२०५६ सालमा जब राष्ट्रिय प्रकृति संरक्षण कोषबाट तालिम लिए, त्यसबेला नै तीन प्याकेट च्याउको बिउ र १० हजार रुपैयाँ बराबरको सामग्री कोषबाट पाएका थिए उनले। झुप्रोमा च्याउ खेती गर्दा पहिलो लटमा ३५ किलो उत्पादन भयो। ‘त्यस बेला खुसीको सीमा नै भएन’, केसीले भने। विस्तारै उनले खेती बढाउन थाले। सुरुवातताका उनीसँग एउटा साइकल थियो। त्यही साइकलमा राखेर उनले उत्पादित च्याउ गाउँगाउँ र शहरसम्म डुलाउँथेँ। अहिले गाडीमा सरर शहर डुलाउने भएका छन्।

बुटवल, हेटौँडासम्म साइकलमा च्याउ बेचेको अनुभव केसीसँग छ। नारायणगढसम्म साइकलमा जाने अनि साइकलसहित च्याउ गाडीमा राख्ने र बुटवल पुगेपछि झार्ने अनि साइकलमा डुलाउने, केही वर्ष यसरी बिताए। साइकलको सहारामा च्याउ बेचेर कमाएको पैसाले खेती नै विस्तार गरे उनले।

‘मैले साइकलमा १० वर्ष च्याउ बेचेँ’, केसी सुनाउँछन्, ‘त्यो साइकल अझै माया लागेर घरमा झुण्ड्याएरै राखेको छु।’ च्याउ घरभित्रै सिलिङमा साइकल खिया लागेको अवस्थामा अझै झुण्डिएको छ। बेचे पैसा आउँथ्यो तर दु:खमा सहारा दिएको साइकल उनलाई बेच्न मन लागेन। त्यसैबाट कमाइ बढेपछि उनले साइकल छाडेर मोटरसाइकल किने अनि मोटरसाइकलमा च्याउ बजार बजार डुलाए। अहिले केसीले च्याउ कारमा लैजान्छन्। पहिले साइकलमा गाउँगाउँ डुलाउने उनलाई अब त्यसरी दु:ख गर्नुपर्दैन। घरमै लिन आउँछन्। नभए थोक पसलमा लगेर दिन्छन्। च्याउ खेतीका लागि सरकारी सहयोग भने अहिलेसम्म एक रुपैयाँ पनि नपाएको गुनासो केसीको छ। 

बिउसमेत उत्पादन गर्छन् केसी 

अहिले केसी च्याउको बिउसमेत उत्पादन गर्छन्। आफूलाई १२/१४ हजार प्याकेट बिउ लाग्छ। अरू बाँकी उत्पादित बिउ बेच्छन्। विभिन्न स्थानबाट बिउ लिन केसीकहाँ नै आउने गरेको सुरुको सहयोगी संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउँछन्। लागतअनुसारको मूल्य नपाउँदा भने उनी अलि दु:खी छन्। 

सुरुमा च्याउ खेती गर्दा जति मूल्य थियो, अहिले पनि त्यही मूल्यमा  बिक्री गर्नुपर्ने बाध्यता रहेको उनकाे दुखेसो छ। तैपनि पेसामा भने उनी सन्तुष्ट रहेको बताउँछन्। च्याउ खेतीकाे काम सिकेर उनले गाउँमा सीपसमेत बाँडे। यो सीप २०० जनालाई सिकाइसकेका छन् केसीले। केहीले व्यावसायिक खेती नै गरिरहेका छन्। ‘एउटै पेसामा लाग्नुपर्छ, सफल भइन्छ, यो मेरो सल्लाह हो’, केसीले भने, ‘अहिले म जिल्लाकै च्याउ खेतीको नमुना किसानको रूपमा परिचित छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.