मुख्यमन्त्री पोख्रेलका यस्ता छन् समृद्धिका सपना

|

बुटवल : मधेस र पहाडका जिल्ला मिलाएर बनाइएको विविधतायुक्त प्रदेश हो, प्रदेश ५। प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ निर्वाचन क्षेत्र रहेको प्रदेश ५ मा १२ जिल्ला छन्। 

यहाँबाट प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद् निर्वाचित भएका छन्। यीमध्ये नेकपा एमालेबाट ४१, माओवादी केन्द्रबाट २०, नेपाली कांग्रेसबाट १९, संघीय समाजवादी फोरमबाट पाँच, राष्ट्रिय जनता पार्टी र  राष्ट्रिय जनमोर्चाबाट एक/एक जना छन्। 

यस प्रदेशको सभामा सबैभन्दा बढी पहाडे बाहुन २६, क्षत्री/ठकुरी १४, तराई–जनजाति १४, मधेसी १०, पहाडे/हिमाली जनजाति सात, पहाडे दलित सात, नेवार चार, मुस्लिम चार, दशनामी एक जनाको उपस्थिति छ। सातवटा प्रदेशको तुलनामा यहाँको सभामा दलितको प्रतिनिधित्व सबैभन्दा बढी हो।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकअनुसार यस प्रदेशको जनसंख्या ४४ लाख ५८ हजार २५३ रहेको छ। 

लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी र महेन्द्र संस्कृत विश्वविद्यालय दाङ गरी यस प्रदेशमा दुईवटा विश्वविद्यालय रहेका छन्।

यो प्रदेश प्रशस्त पर्यटकीय क्षेत्र र उद्योग कलकारखाना रहेको प्रदेश हो। उद्योग कलकारखानाका हिसाबले यो प्रदेश दोस्रो ठूलो प्रदेश हो। 

राष्ट्रिय योजना आयोगको तथ्यांकअनुसार गरिबी दरको आधारमा यो प्रदेश चौथो नम्बरमा पर्छ भने मानव विकास सूचकांकका आधारमा पनि चौथो नम्बरमै छ। यस प्रदेशका नागरिकको प्रति व्यक्ति वार्षिक आम्दानी ९४३ अमेरिकी डलर छ। 

सरकारी तथ्यांकहरूको आधारमा प्रदेश ५ मा दुई हजार ६६० वर्ग किलोमिटर सडक छ। त्यसमध्ये एक हजार ४५९ किलोमिटर सडक कालोपत्रे छ भने एक हजार २०१ किलोमिटर सडक कच्ची छ। यस प्रदेशमा मगर र थारू समुदायको बसोवास अधिक छ। त्यसपछि क्षेत्री, ब्राह्मण र दलित समुदायको जनसंख्या देखिन्छ। 

रूपन्देही, नवलपरासी (बर्दघाट–सुस्ता दाउन्ने पश्चिम), पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, बाँके, बर्दिया र रुकुम (पूर्व) गरी १२ जिल्लामा चार उपमहानगरपालिका, ३२ नगरपालिका, ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन्। तिनमा ९८३ वडा छन्। 

यस प्रदेशका समृद्धिका मूख्य आधार पर्यटन, कृषि, उद्योग कलकारखाना तथा व्यापार हुन्। संस्कृतिविद् तथा पर्यटन उद्योगका जानकार प्रा.डा. गीतु गिरी भन्छन्, ‘यस प्रदेशका १२ वटा जिल्लामा कम्तीमा पनि एउटा ऐतिहासिक स्थल छ, पर्यटकीयस्थल त त्यसभन्दा धेरै छन्, ती क्षेत्रमा पर्यटक लैजान सके सहजै आम्दानी गर्न सकिन्छ।’ 

पर्यटन, कृषि, उद्योग, कलकारखाना तथा व्यापारका साथै यस प्रदेशमा प्राकृतिक स्रोत साधनको उपयोगबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ। आर्थिक विश्लेषक बैकुण्ठ पाण्डे भन्छन्, ‘यहाँका प्राकृतिक स्रोत साधनतर्फ हामीले ध्यान दिन पाएका छैनौँ, चुनढुंगाको मात्रै होइन, जडिबुटीका लागि पनि यहाँ प्रशस्त संभावना छ।’

जिल्लैपिच्छे बन्न सक्छन् पर्यटकीय गन्तव्य 

तराईका समथर भूभागमा रहेका धार्मिक र ऐतिहासिक स्थल हुन् वा हिमाल, पहाडको काखमा रहेका मनोरम दृश्य, सहज गन्तव्य र ध्यान तान्न सक्ने कला प्रस्तुत गर्न सके यहाँ सजिलै पर्यटक आउँछन्। 

बुद्ध जन्मेको लुम्बिनी, हुर्केको तिलौराकोट, मावली र ससुराली थलो देवदह वा अस्तु धातु रहेको रामग्रामको प्रचार हुन सके सजिलै पर्यटक आउँछन्। क्रकुच्छन्द बुद्धको नगरी गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवाको अध्ययन, अनुसन्धान हुनै बाँकी छ। 

मानव पुर्खाको इतिहास भेटिएको बुटवलको रामापिथेकस, अंग्रेज फौजलाई हराएको जीतगढी किल्ला, गुल्मीको रेसुंगा, रुरुक्षेत्र, अर्घाखाँचीको पाणिनी तपोभूमि, अर्घा दरबारसहितका दर्जनौँ पर्यटकीयस्थल ओझेलमै छन्। 

यसैगरी बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्वारी, पाल्पाको रानी महल, बाँकेको बागेश्वरी, बाह्रकुने दह, जुँगे महादेव, सिस्ने हिमाल, जनयुद्ध प्रारम्भ भएका रुकुम–रोल्पाका गाउँहरू पनि यहाँका प्रमुख पर्यटकीय क्षेत्र हुन्। 

नेपालगन्ज पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ। मानसरोवर जाने पर्यटकहरू नेपालगन्ज भएर जाने गर्छन्। 

यस प्रदेशमा पर्यटकका लागि सम्भावना रहे पनि सुविधा सम्पन्न होटलहरूको भने कमी नै छ। रूपन्देही र बाँकेमा तारे होटलहरू रहे पनि अन्य जिल्लामा भने सामान्यस्तरका होटल संचालनमा छन्। तराईका पर्यटकीयस्थलमा सबैजसो मौसममा घुमफिर गर्न सकिने भए पनि पहाडी क्षेत्रमा भने सडक र यातायातको समस्या छ।  

कृषि पकेट क्षेत्र बनाए निर्यात गर्न सकिन्छ 

रूपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दिया अन्न भण्डारका रूपमा परिचित छन्। यहाँको कृषियोग्य भूमिलाई व्यवस्थित गरेर किसानलाई राहत दिने गरी कार्यक्रम गर्न सके नेपाललाई नै पुग्ने गरी उत्पादन हुन सक्छ।

‘सरकारले पकेट क्षेत्रको रूपमा विकास गरेर किसानलाई व्यावसायिक बनाउँदै प्रशस्त अनुदान दिएर यान्त्रीकरण गर्न सके यहाँको अन्न, फलफूल, तरकारी, बिउ निर्यात गर्न सकिने संभावना छ’, विश्लेषक पाण्डे भन्छन्।

यस प्रदेशमा धान, गहुँ, मकै, तोरीको उत्पादन राम्रो हुनुका साथै सुन्तला, अदुवा, कफीको लागि पनि यो पकेट क्षेत्र मानिन्छ। पछिल्लो समय सिँचाइको समस्या र खेतीयोग्य जमिन मासेर घडेरीका लागि प्लटिङ गर्ने प्रवृत्ति भने चुनौतीका रूपमा देखिएको छ।

उद्योग, कलकारखाना र व्यापार : हव बन्ने यात्रामा

यहाँका रूपन्देही, बाँके र नवलपरासी जिल्ला तीव्र औद्योगिक विकास भइरहेका जिल्ला हुन्। यहाँ ठूला लगानीका उद्योगहरू खुल्ने क्रम जारी छ। सिमेन्ट, छड, प्लाष्टिकका अर्बौं रुपैयाँ लगानीका उद्योगहरू यहाँ संचालनमा छन्। 

रूपन्देहीमा बुटवल औद्योगिक क्षेत्र, निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्र, भैरहवाको सेजको संचालनपछि प्रदेशकै औद्योगिक हवको रूपमा रूपन्देही चिनिएको छ। 

दाङमा दुईवटा ठूला सिमेन्ट उद्योग संचालनमा छन्। रूपन्देहीको बुटवल, भैरहवा, कपिलवस्तुको चन्द्रौटा, दाङको लमही, घोराही, बाँकेको नेपालगन्ज व्यापारिक केन्द्र बनेका छन्।

उद्योगी खेम हमालका अनुसार यस प्रदेशमा वर्सेनि ५०० को हाराहारीमा साना ठूला उद्योगहरू स्थापना भइरहेका छन्। 

भैरहवा प्रदेश ५ को प्रमुख व्यापारिक केन्द्र र बेलहिया भन्सार नाका भएकाले राजस्व संकलनमा पनि यो प्रदेश अब्बल बन्ने क्रममा छ।

यी योजना, जसले बढाउँछन् शाख

विश्वको ध्यान तान्न सक्ने लुम्बिनी गुरुयोजना पूरा हुने क्रममा छ। गुरुयोजना पूरा भएपछि बुद्ध जन्मस्थल लुम्बिनी स्वर्गको टुक्रा जस्तै सुन्दर बन्नेछ। भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले मुलुककै ठूलो विमानस्थल त्रिभुवन विमानस्थलको विकल्पको काम गर्नेछ। 

बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले अन्तर्राष्ट्रियस्तरका ठूलाठूला कार्यक्रमहरू गर्नका लागि सहज बनाउनेछ। 

राष्ट्रिय गौरवका आयोजनाहरू सिक्टा सिँचाइ, बबई र भेरी–बबई डाइभर्सन आयोजना निर्माणाधीन छन्। नारायणी, राप्ती, बबई नदीबाट सिँचाइ नहरहरू विस्तार भइरहेकाले यिनले कृषि उत्पादनलाई दोब्बर बनाउनेछन्। 

छ लेनको बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजना, भैरहवामा संचालनमा आउन लागेको विशेष आर्थिक क्षेत्र (सेज), भैरहवादेखि लुम्बिनीसम्मको चार लेनको सडक एवम् लुम्बिनीदेखि तौलिहवासम्म दुई लेनको सडक निर्माण हुँदै छ। यी योजना पूरा हुँदा औद्योगिक उत्पादनमा वृद्धि हुँदै त्यसका लागि आवश्यक सडक संजाल बलियो बन्नेछ। 

दाङको कोइलाखानी तथा अर्घाखाँची र पाल्पामा चुनढुंगा खानी प्राकृतिक स्रोतका रूपमा रहेका छन्। 

यस प्रदेशमा नौमुरे, शारदा, झिमरुक, रिडी जस्ता मध्यम खालका विद्युत् परियोजना रहेका छन्। यी योजनाबाट प्रदेश आत्मनिर्भर बन्दै राम्रो आम्दानी गर्न सक्छ।

मुख्यमन्त्री पोख्रेलका सपना

मुख्यमन्त्री शंकर पोख्रेल योजनाबद्ध पहल र सक्रियताका माध्यमबाट लक्ष्य हासिल गर्न अघि बढ्ने बताउँछन्। ‘हामी मुलुक समृद्ध र नमुना प्रदेश बनाउने संकल्प गर्दै छौँ। हाम्रो अवस्था समग्रमा चौथो अवस्थामा रहेको छ’, उनी भन्छन्, ‘हाम्रा लागि चुनौतीहरूबाट भाग्ने सुविधा छैन। आउनुहोस्, हामी सबै मिलेर चुनौतीलाई अवसरमा बदल्ने र हाम्रो प्रदेशलाई समृद्ध र नमुना प्रदेश बनाउने अठोट गरौँ। सुखी र समृद्ध प्रदेशको हाम्रो सपना हामी आफैँले पूरा गर्ने हो।’ उनले यो काम आफ्नो नेतृत्वको सरकारको संकल्प भएको बताए। 

यस्ता छन् मुख्यमन्त्री पोख्रेलका समृद्धिका सपना :

-    तीन महानगर (बुटवल–भैरहवा, घोराही–तुलसीपुर र नेपालगन्ज–कोहलपुर) बनाउने 
-    महानगरीय विकासलाई प्रत्येक जिल्लासँग जोड्ने र उत्पादनमा पकेट क्षेत्रको रूपमा विकास गर्ने 
-    पाल्पादेखि रोल्पासम्म पहाडी राजमार्ग बनाउने 
-    त्रिवेणीदेखि राजापुरसम्मको भूगोललाई समानीकरण हिसाबले विकास गर्ने 
-    गौतम बुद्धको जन्मस्थल लुम्बिनी गुरुयोजना पूरा गर्दै बुद्धकालीन बुद्धसम्बद्ध ऐतिहासिक स्थलहरू तिलौराकोट, निग्लिहवा, देवदह, रामग्रामको विकासका लागि एकीकृत योजना बनाउने 
-    स्वर्गद्वारी–प्युठान, पाणिनी तपोभूमि, सुपा देउराली, भगवती मन्दिर–अर्घाखाँची, रेसुंगा–गुल्मी, रिडी, धारापानी (पाण्डवेश्वर), चौघेरा रतननाथ–दाङमा पर्यटक भित्र्याउन योजना निर्माण गर्ने 
-    बाँके, बर्दिया र ढोरपाटन आरक्ष क्षेत्रलाई व्यवस्थित गर्दै पर्यटक आगमनमा वृद्धि गर्ने 
-    नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको संभाव्यता अध्ययन गरेर अघि बढ्ने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.