|

काठमाडौं : नेकपा माओवादी केन्द्रबाट तेस्रो चरणको सरकार विस्तारमा एक राज्यमन्त्रीसहित छ जना मन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका छन्। माअोवादीबाट यसअघि दुई मन्त्री सरकारमा सहभागी भइसकेका छन्।

एमालेसँगको सहकार्यमा माओवादीले एक राज्यमन्त्रीसहित आठ मन्त्रालय पाएको थियो। तेस्रो चरणको सरकार विस्तारमा ऊर्जा तथा जलस्रोत मन्त्रीमा वर्षमान पुन, शिक्षा मन्त्रीमा गिरिराजमणि पोखरेल, कृषि तथा भूमिसुधारमन्त्रीमा चक्रपाणि खनाल, वन तथा वातावरणमन्त्रीमा शक्तिबहादुर बस्नेत र खानेपानीमन्त्रीमा बिना मगर नियुक्त भएका छन् भने कृषि तथा भूमिसुधार राज्यमन्त्रीमा रामकुमारी चौधरी नियुक्त भएकी छन्।

पुनको सिंहदरबारमा दोस्रो इनिङ

माओवादी नेता वर्षमान पुन मन्त्रीको रूपमा दोस्रो पटक सिंहदरबार प्रवेश गर्दै छन्। पार्टीको हरेक निर्णयक तहमा उनको नाम आउने गर्छ। उनी पार्टी अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिन्छन्। ओली नेतृत्वको सरकारमा माओवादीबाट सरकारको नेतृत्व गर्दै मन्त्रालय जाने आकांक्षा देखाएका थिए उनले तर पार्टी नेता रामबहादुर थापाले नेतृत्व गर्ने भएपछि उनी पछि हटेका थिए।

पार्टीमा भएको सहमतिको आधारमा उनले ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। यसअघि उनी मन्त्रीको रूपमा एक पटक मात्र सिंहदरबार प्रवेश गरेका छन्। यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६८ सालमा उनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

ऊर्जामन्त्री बनेका पुन माओवादीको १० वर्षे जनयुद्धका सक्रिय नेता हुन्। उनले जनयुद्धमा तत्कालीन माओवादीको जनमुक्ति सेनाको डिपुटी कमाण्डरको भूमिकामा निर्वाह गरिसकेका छन्। विभिन्न आक्रमणमा उनले नेतृत्व गरेका थिए।

उनी आफ्ना शिक्षक कृष्णबहादुर महराबाट प्रभावित भएर २०४२ सालबाट कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेका थिए। राष्ट्रिय जनमोर्चाबाट राजनीतिमा प्रवेश गरेका उनी २०४८ सालदेखि पूर्णकालीन कार्यकर्ता भए। त्यसपछि उनी माओवादीको तत्कालीन जनयुद्धमा सक्रिय भूमिका खेले। ०५२ सालमा जनयुद्ध थालनीको समयमा  भएको होलेरी चौकी आक्रमणमा पुन राजनीतिक कमिसार थिए।

२०५५ सालमा उनी पार्टीको केन्द्रीय सदस्य हुँदै स्थायी समिति सदस्य भए। सशस्त्र जनयुद्धका बेलामा उनले धेरै आक्रमणको नेतृत्व पनि गरिसकेका छन्। जनयुद्धको बेला पुनले पूर्वाञ्चल र राजधानीमा काम गरेका थिए। २०६२/०६३ को जनआन्दोलनमा भने माओवादीको तर्फबाट उपत्यकामा आन्दोलन परिचालनको मुख्य नेताका रूपमा काम गरेका थिए उनले।

शान्ति प्रक्रियापछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी ललितपुर- १ बाट निर्वाचित भए भने दोस्रो संविधानसभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर- ९ मा गएका उनी पराजित भए। यस पटकको प्रतिनिधिसभा निर्वाचनमा गृहजिल्ला रोल्पाबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका उनी निर्वाचित भए।

पोखरेलको चौथो इनिङ

शिक्षामन्त्री बनेका गिरिराजमणि पोखरेल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता हुन्। पार्टीभित्र पटक पटक अवसर पाउनेमध्येका एक हुन् उनी। यस पटकसमेत उनी चार पटक मन्त्री भइसकेका छन्। उनी पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका विश्वासपात्र मानिन्छन्। पोखरेल माओवादी केन्द्रमा प्रभावशाली, बौद्धिक तथा कुशल संगठक मानिन्छन्। उनी माओवादीको सचिवसमेत भइसकेका छन्।

पोखरेलले २०३६ सालदेखि राजनीति सुरु गरेका हुन्। तत्कालीन जनमोर्चा नेपालमा रहेका उनी पार्टी एकीकरणसँगै नारायणकाजी श्रेष्ठसँगै माओवादीमा एकीकरण प्रक्रियामा आएका हुन्। तत्कालीन एकता केन्द्र मसालको विद्यार्थी संगठनमा २०४१ सालदेखि ०४५ सालसम्म अध्यक्षसमेत भएका थिए।

उनले २०६२/०६३ को जनआन्दोलमा सक्रिय भूमिका खेलेका थिए। शन्ति प्रक्रियापछि पटक पटक उनी मन्त्री भइसकेका छन्। उनी पहिलो पटक तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री भएका थिए।

यस्तै, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी दोस्रो पटक स्वास्थ्यमन्त्री बनेका थिए। त्यसपछि उनी केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा शिक्षामन्त्री भएका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बन्दै उनले एउटै मन्त्रालयमा ह्याट्रिक गरेका थिए। यस पटक भने शिक्षामन्त्रीमा उनको दोस्रो इनिङ हो।

नेता पोखरेलले नेकपा माओवादी केन्द्रको प्रमुख सचेतकको भूमिकासमेत निर्वाह गरिसकेका छन्। नेता पोखरेल अन्तरिम व्यवस्थापिका संसद, २०६४ र २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गरी चार पटक सांसद भइसकेका छन्।

शक्ति बस्नेत : डिभिजन कमिसारदेखि तीन पटक मन्त्रीसम्म

वनमन्त्री बनेका शक्तिबहादुर बस्नेत नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता हुन्। कर्णाली प्रदेशबाट जनार्दन शर्मालाई पछि पार्दै उनी ओली नेतृत्वको सरकारमा मन्त्री बन्न सफल भएका छन्। उनी पार्टी अध्यक्ष प्रचण्डका विश्वास पात्रका रूपमा चिनिन्छन्।

उनी यसअघि दुई पटक मन्त्री भइसकेका छन्। उनी यसअघि ओली नेतृत्वको सरकारमा गृहमन्त्री भएका थिए। यस्तै, यसअघि झलनाथ खनाल नेतृत्वको सरकारमा उनी स्वास्थ्यमन्त्री बननिसकेका छन्। उनी गृहमन्त्री हुँदा भूकम्पपीडितको नाममा विदेश भ्रमणमा आफन्त लगेको भन्दै विवादित बनेका थिए।

२०४७ सालदेखि राजनीतिमा प्रवेश गरेका बस्नेत २०५५ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य भए। उनी माओवादी जनयुद्धमा माओवादी लडाकुको डिभिजन कमिसारसमेत भए। त्यसबेला उनले जाजरकोट, सुर्खेत, दाङ, बर्दिया, डोल्पा, जुम्ला, बाँके, प्युठान, दैलेखलगायत जिल्लामा काम गरे।

मन्त्रीका रूपमा पहिलो पटक सिंहदरबार छिर्दै खनाल

कृषि तथा सहरी विकासमन्त्री बनेका चक्रपाणि खनाल माओवादीभित्र सबैभन्दा कम अवसर पाउने नेता हुन्। उनी माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन्। पहिलो पटक मन्त्री बनेका खनाल पहिलो पटक नै कपिलवस्तु- १ बाट विजयी भएर सांसद बनेका हुन्।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए। उनी २०३७ मा नेकपा चौथो महाधिवेशनमा सहभागी भए। माओवादी आन्दोलनमा लडाकुका डेपुटी कमाण्डरको समेत जिम्मेवारी सम्हालेका खनाल अध्यक्ष प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डका राजनीतिक सल्लाहकार थिए।

बिना मगर : भैरवनाथ गणकी बन्दीदेखि मन्त्रीसम्म

माओवादी केन्द्रबाट महिलातर्फबाट बिना मगरले मन्त्री बन्ने अवसर पाइन्। पार्टीभित्रको लामो रस्साकस्सीपछि अन्तत: पहिलो पटक अवसर पाउँदै मन्त्री बनिन् बिना। कञ्चनपुर- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै उनले खानेपानी मन्त्रालय सम्हाल्ने जिम्मा पाइन्। मन्त्रीको रूपमा उनी पहिलो पटक सिंहदरबार प्रवेश गरिन्। पार्टीभित्र रहेका धेरै आकांक्षीलाई पछि पार्दै उनी खानेपानीमन्त्री बन्न सफल भइन्। पार्टीको नयाँलाई अवसर दिने मपदण्डअनुसार उनले अवसर पाएकी हुन्।

मगर सानै उमेरबाट माओवादी जनयुद्धमा काम गरेकी नेतृ हुन्। उनले पार्टीको बाल जनकलाकार हुँदै विद्यार्थी राजनीतिबाट जनयुद्धलाई निरन्तर सहयोग गर्दै आएकी हुन्। उनले ११ वर्षको उमेरमै जनयुद्ध सुरु हुँदा २०५१ सालमा बाल जनकलाकार लडाकुमा समेत काम गरिन्। १६ वर्षकै उमेरमा उनले अखिल नेपाल महिला संघ क्रान्तिकारीको कञ्चनपुर अध्यक्षको समेत जिम्मेवारी सम्हालिन्।

त्यसपछि उनी उच्च शिक्षाका लागि राजधानी प्रवेश गरिन्। काठमाडौंमा समेत उनले जनयुद्धको सहयोगका लागि पार्टीमा राम्रै योगदान गरिन्। २०५६ सालमा एसएलसी पास गरेर उनी उच्च शिक्षाका लागि राजधानी छिरिन्। उनले राजधानी आएपछि विद्यार्थी आन्दोलनमा काम गरिन्। अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला अध्यक्षसमेत बनिन् मगर। उनले विद्यार्थी राजनीतिबाट भए पनि पार्टीको पूर्णकालीन सदस्य भएर जनयुद्धलाई सहयोग गरिन्। २०५७ सालताका रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्ययन गर्दै गर्दा उनी अखिल क्रान्तिकारीको राजनीतिमा समेत थिइन्।

आन्दोलनका क्रममा उनलाई २०६० सालमा तत्कालीन शाही सेनाले पक्राउ गर्‍यो। ‘आतंककारी’ भन्दै पक्राउ गरेर उनलाई २७ महिना जेलमा राख्यो। उनलाई सेनाको भैरवनाथ गणमा राखियो। उनीसँगै पक्राउ परेका धेरै अहिले पनि बेपत्ता छन्। धेरै शहीद भइसकेका छन् तर उनी त्यसबेला संयोगले बाँचेकी हुन्। त्यसबेला उनले धेरै यातना भोगिन्।

२०६२/०६३ मा जनआन्दोलन हुँदै गर्दा उनका परिवारले रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा हाले। सर्वोच्चले उनलाई रिहाइ गर्न आदेश दियो।  तर प्रशासनले त्यसबेला सर्वोच्चलाई बेवास्ता गर्‍यो। तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले चासो देखाएपछि उनी रिहाइ हुन सफल भइन्। शान्ति प्रक्रिया पछि पनि उनी राजनीतिमा सक्रिय रहिन्। उनले शन्ति प्रक्रियापछि सरस्वती क्याम्पसको स्ववियु सभापतिको जिम्मेवारी सम्हालिन्।

पार्टीमा संघर्ष गर्दै गर्दा पार्टी अध्यक्ष प्रचण्डका छोरा प्रकाशसँग उनको विवाह भयो। २०६९ जेठमा सर्वोच्च शिखर सगरमाथाको आरोहणका क्रममा प्रकाशसँग प्रेम बस्यो उनको। त्यसपछि उनीहरूको विवाह भयो तर उनको त्यो खुसी भने धेरै टिक्न सकेन। प्रतिनिधिसभा निर्वाचनमा प्रचारमा व्यस्त रहेका बेला उनका श्रीमान प्रकाशको गत मंसिरमा निधन भयो। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट पराजित बिनाले यस पटकको निर्वाचनमा जीतको खुसी पनि बाँड्न पाइनन् आफ्ना श्रीमानसँग। निर्वाचनमा पार्टीले टिकट दिँदा उनी निकै विवादमा परेकी थिइन्।

पार्टी अध्यक्ष प्रचण्डले आफ्नै बुहारीलाई टिकट दिएको भन्दै पार्टीभित्र विवाद भयो। मन्त्री छनोटको क्रममा पनि यस्तै विवाद आयो तर धेरै पार्टी नेता उनको पक्षमा उभिए, पार्टी अध्यक्षको बुहारी मात्र नभई पार्टीमा ठूलो संघर्ष गरेको भन्दै उनलाई मन्त्री बनाउनुपर्ने मत पार्टीका नेतामा देखियो। त्यसकारण मन्त्रीका रूपमा उनले पहिलो पटक सिंहदरबार छिर्ने मौका पाइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.