कसरी बनाउने कटिया?

|

रौतहट : कटिया भन्नाले रौतहट जिल्लाको कटहरिया नगरपालिकाको पहिचान हाे। अर्को अर्थमा स्वादिष्ट खसीकाे मासुको परिकार। कटिया भन्नेबित्तिकै मधेसी शब्द। कटहरिया मात्र पाइने स्थानीय मौलिक खाना पनि हो याे कटिया। माटोको भाँडो (कोहिया) मा पकाउने एक प्रकारको खाना हो कटिया। कटहरियामा मात्र प्रसिद्ध मौलिक मासुको परिकार कटिया अहिले अन्यत्र पनि निकै प्रसिद्ध हुन थालेको छ।  

करिब चार दशक अगाडि कटहरीयाका मौजीलाल साह र जगा साहले माटोको भाडोमा मासु हालेर पकाएर खान सुरू गरेका थिए यो परिकार। कटिया अहिले साहद्वयमा मात्र सीमित रहेन। कटहरियामा कटिया खानेको भीड बढ्न थालेको छ। दैनिक विभिन्न सहरदेखि कटिया खानै थुप्रै आगन्तुक आउने गर्दछन्। करिब ३५ वर्षअघि नै कामेश्वर साहले व्यावसायिक रूपमा कटिया बनाउन थालेका थिए। अहिले कटियाले प्रसिद्धि कामाइसकेको छ। कटहरियामा मात्र हाल डेढदर्जनभन्दा बढीले कटहरियाका पसल सञ्चालनमा रहेका छन्। कटहरियाले अशिले व्यावसायिक रूप लिएको छ। कटहरियाका कटिया बनाउनमा मात्र अहिले दैनिक दुई सय किलोभन्दा बढी खसीको मासु खपत हुने गरेको कामेश्वर साह बताउँछन्।

कसरी बनाउने कटिया?

माटोको भाँडामा करिब दुई सय ग्राम जति खसीको मासु राखिन्छ। त्यसमा तोरीको तेल, प्याज, नुन, नपिनेको मसला हालिन्छ। अनि मासु हालेको माटोको भाँडो कोइलाको भुङ्ग्रोमा राखिन्छ। कोइलामाथि कटियाको भाडा राख्ने र पंखाले हम्किने गरिन्छ। रापकाे तातोले माटोको भाडामा राखिएको मासु मजाले पाक्छ। कटिया पाक्न करिब ४० मिनेटदेखि एक घण्टासम्म लाग्छ। 

किन प्रसिद्ध भयो कटिया?

माटोको भाडोमा पकाएको मासुको परिकार अन्य भन्दा छुट्टै स्वाद हुने कारण पनि कटियाको माग बढ्दै गएको अर्का व्यवसायी हिरालाल साह बताउँछन्। महेन्द्र राजमार्ग चन्द्रनिगाहपुरबाट ३० किलोमिटर दूरीमा रहेको छ कटहरिया। भारत तथा नेपालको बिभिन्न स्थानहरूबाट आगन्तुकहरू कटिया खानकै लागि आउने गरेको बिजय कटिया हाउसका सञ्चालक सोनु जयसवालले बताए। कटिया विशुद्ध खसीको मासुको मात्र बनाइने र अन्य जनावरको कटिया नबन्नेसमेत उनी बताउँछन्। सोनुले मात्रै दैनिक ५० वटा भाडोमा कटिया पकाएर बेच्दै आएका छन्। प्रतिभाँडो चार सय रुपैयाँ लिने गरेको बताउँदै सोनुले भने, ‘ चाँडै नै कटिया बनाउने व्यवसाय काठमाडौंमा पनि सञ्चलन गर्ने छु।’

कटहरियाको कटिया खानकै लागि काठमाडौं, पोखरा, वीरगंज, जनकपुर लगायतका स्थानहरूबाट आउने गरेको स्थानीय सञ्जय मिश्रले बताउँछन्। उनी भन्छन्, ‘कटहरियाको कटियाको आफ्नै स्वाद छ। जुन स्वाद लिनको लागि पनि यहाँ विभिन्न ठाउँका आगन्तुकहरू आउने गरेका छन्।’ 

कटहरियाको कटियाले प्रसिद्धि कमाएपछि जिल्लाका गरुडा, गौर, बाराको कलैया, सिम्रौनगढ पर्साको वीरगंज, भारतको रक्सौल, बयरगनियालगायतका स्थानमा पनि बनाउन सुरु गरिएको छ। तर, कटहरियाको जस्तो राम्रो र स्वादिष्ट कटिया अन्य स्थानमा नपाउने पारखी कृष्ण तिवारीले बताउँछन्। तिवारीले भने, ‘यहाँका व्यपारीहरूले मात्र कटियाको लागि आवश्यक मरमसला पुराउन सक्छन्।  मसला कै कारणले कटहरियाको कटिया अन्य स्थानको भन्दा बढी मिठो हुने गरेको हो।’ 
यस्तै गरुडाको लक्ष्मी कटिया हाउसमा पनि कटिया खानेहरूको भीड लाग्ने गरेको छ। अन्य मासु सधैँ खाइरहिन्छ। कटिया खान यहाँ आएको बेला मात्र पाइने हुनाले कटहरिया तथा गरुडा आउँदा सधैँ कटिया खाएर नै जाने गरेको काठमाडौंका तीर्थ कार्कीले बताए। ‘अन्य मासुभन्दा फरक स्वाद छ त्यसैले कटिया मन पर्छ’ उनले भने।

विगतका दिनमा खास गरी विपन्न परिवारले मात्र कटियाको व्यापार गर्दै आएका थिए। तर, अहिले ती व्यापारी कटिया बेचेरै आर्थिक रूपमा सम्पन्न पनि भएका छन्। कटिया बनाउने पेशबाट धरैले जीविकोपार्जन गदैआएको पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.