|

नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको औपचारिक यात्रा शनिबारबाट अन्त्य गर्दैछ। प्रतियोगिताको सातौं स्थानका लागि हुने 'प्लेअफ'मा नेपाल शनिबार नेदरल्याण्डसँग प्रतियोगिताको अन्तिम खेल खेल्दैछ।

जिम्बाबेको क्वेक्वेस्थित क्वेक्वे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपालले झन्डै दुई वर्षपछि नेदरल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। बलियो प्रतिद्वन्द्वी मानिएको पपुवा न्यूगिनीलाई बिहीबार ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गरेको नेपाल सोही लयलाई निरन्तरता दिँदै बलियो प्रतिद्वन्द्वी नेदरल्याण्डलाई हराउने ध्येयमा रहेको छ।

नेदरल्याण्ड स्वभाविक रूपमा 'सुपर सिक्स'मा दाबेदार टिमका रुपमा रहेको थियो। दुई वर्ष लामो विश्व त्रिकेट लिग च्याम्पियनसिपका दौरान शीर्ष स्थानमा रहँदै एकदिवसीय मान्यता पाउँदै सोझै विश्वकप छनोटमा स्थान बनाउन सफल नेदरल्याण्डका लागि विश्वकप छनोट भने दुर्भाग्यपूर्ण रह्यो। नेदरल्याण्डलाई पछि पार्दै यूएई सुपर सिक्समा पुग्दा नेदरल्याण्ड भने विश्वकप छनोटबाट बाहिरियो।

तर नेदरल्याण्डले सातौं प्लेअफ भिडन्तका लागि भएको पहिलो प्लेअफमा हङकङलाई पराजित गर्दै नेपाललाई एकदिवसीय मान्यतामा पुर्‍याउन निर्णायक योगदान दिंदा। यी दुईबीच शनिबार प्रतिष्ठाका रूपमा रहेको खेलमा प्रतिस्पर्धा हुने छ। जित्ने टिमले आफूलाई सातौं स्थानमा उभ्याउनेछ।

पपुवा न्यूगिनी विरुद्ध फराकिलो जित निकाल्दै आफ्नो तर्फबाट एकदिवसीय मान्यता पक्का गरेको नेपालले सोही लयलाई अन्तिम खेलमा दोर्‍याउने विश्वास लिएको छ। एकदिवसीय मान्यताको लक्ष्य पूरा भएकाले शनिबार नेपाल विनादबाब मैदानमा उत्रिँदैछ। जहाँ नेपाल नेदरल्याण्डलाई पराजित गर्दै आफ्नो विश्वकप छनोट अभियानको सुखद अन्त गर्ने ध्याउन्नमा हुने छ।

त्यसो त नेदरल्याण्डलाई पनि सुपर सिक्समा पुग्न नसके पनि आफ्नो प्रभाव देखाउनका लागि नेपाललाई पराजित गर्नुपर्ने चुनौती छ। नेपाललाई हराउँदै सातौं स्थानमा रहनु उसका लागि अबको मुख्य चुनौती रहनेछ।

ब्याटिङमा समालिने चुनौती

लगातार तीन खेलमा पराजित भए पनि पछिल्ला दुई खेलमा नेपाल जित निकाल्न सफल हुँदा मध्य क्रमको 'ब्याटिङ लाइन अप' उत्कृष्ट रह्यो। युवा ब्याट्सम्यानको प्रदर्शन नेदरल्याण्डविरुद्ध पनि दोहोरिए खेल प्रतिस्पर्धात्मक हुनेछ। 

त्यसो त नेदरल्याण्डले पनि आफ्नो प्रभावशाली ब्याटिङ चल्न नसक्दा जारी प्रतियोगितामा सुपर सिक्सबाट बाहिरिनु परेको थियो। त्यस्तैले प्रतियोगितामा अस्थिर ब्याटिङ नेदरल्याण्डको टाउको दुखाइ बनिरहेको छ। जसका फाइदा उठाउने चुनौती पनि नेपाललाई हुनेछ। हङकङविरुद्ध पनि १ सय ७४ रनमानै अलआउट हुन पुगेको नेदरल्याण्डले बलरहरूकै भरमा जित निकालेको थियो। त्यसैले नेदरल्याण्डलाई नेपाली बलरसामु टिक्नु पनि ठूलो चुनौती हुनेछ।

सीमित भेट, कडा प्रतिष्पर्धा

नेपाल र नेदरल्याण्डबीच धेरैपटक प्रतिस्पर्धा भएको छैन्। पछिल्लो पटक विश्व क्रिकेट लिग च्याम्पियनसिपका दौरान २०१६ को अक्टोबरमा एक अर्काविरुद्ध भिडेका यी दुई टिममा पहिलो खेलमा नेपालले १९ रनले जित निकाल्दा दोस्रो खेलमा नेदरल्याण्डले ७ विकेटले नतिजा आफ्नो पक्षमा पारेको थियो। त्यसअघि भएका दुई भिडन्तमा पनि दुवै टिमले एक–एक नतिजा आफ्नो पक्षमा पारेका छन्। त्यसैले दुवैका लागि पछिल्ला दुई वर्षमा यो पहिलो भिडन्त भएकाले दुवै टिम एकअर्काविरुद्ध नयाँ टिमका रूपमा नै प्रतिस्पर्धामा उत्रिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.