काठमाडौं : घोडे जात्रा। बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्त्वले दुःख नदिऊन् भन्ने उद्देश्यले प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने परम्परा छ।
चैत्र कृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचलाई मनाइने र त्यति गर्दा पनि नजानेलाई औँसीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन्।
किंवदन्तीअनुसार परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाचलगायतले दुःख दिन्थे। गाैतमका अनुसार यी तत्त्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँसीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको हो।
किचकन्या, मुर्कट्टा आदि नामका नकारात्मक तत्वले विशेषगरी बालबालिकालाई दुःख नदिऊन् भन्ने ध्येयले सहरभर घोडा कुदाउने गरिन्थ्यो, बस्ती घना बन्दै गएपछि हाल टुँडिखेलमा मात्र कुदाउन थालिएको बताइन्छ।
'यहाँ दौडिने घोडाको टापले दुष्ट तत्त्वलाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ', संस्कृतिका ज्ञाता पं.बालमुकुन्द देवकोटा भन्छन्, अागामी वर्ष मंगलकारी होस् भन्ने कामनाले यो जात्रा गरिन्छ।'
घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गर्छ। राष्ट्रपति, प्रधानमन्त्रीलगायतले सेनाको प्रस्तुति अवलोकन गर्ने चलन छ। घोडेजात्राका अवसरमा सेनाले अश्वकला देखाउने परम्परा भने राणा प्रधानमन्त्री जुद्ध शमशेरले शुरु गरेको बताइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।