|

काभ्रेपलाञ्चोक : गणेश लामाको रिहाईको माग गर्दै कांग्रेस कार्यकर्ताले काभ्रेको बनेपामा निकाल्न लागेको मशाल जुलुसका क्रममा दोहोरो झपड हुँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। बुधबार पक्राउ परेका लामाको रिहाईको माग गर्दै सडकमा उत्रिएका कांग्रेस कार्यकर्ता र प्रहरीबीच भएको झडपमा २० जना कार्यकर्ता घाइते भएका छन्। 

शनिबार साँझ बनेपा गोदामचोकस्थित पार्टी कार्यालयबाट निकाल्न लागेको मशाल जुलुसका क्रममा दोहोरो झपड भएको हो। मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले मसाल खोस्न थालेपछि कांग्रेसका कार्यकर्ताहरूले ढुंगा प्रहार गरेका थिए। जुलुस सुरु गर्नुअघि कार्यकर्ताहरूले गणेश लामालाई रिहाई गर, प्रहरी दमन बन्द गर लगायतका नारा लगाएका थिए।

घाइलेहरूको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले बताए। कांग्रेसका कार्यकर्ताहरूले पार्टी कार्यालय गोदामचोकबाट चारदोबाटोसम्म आएर नाराबाजी गरेका थिए। सो क्रममा सडकमा करिब एक घण्टा सवारी आवागमनसमेत बन्द भएको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख उपरीक्षक सहकुलबहादुर थापाले राँके जुलुस निकाल्न खोजेपछि खोस्ने क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दा झडप भएको जानकारी दिए। ‘जबरजस्ती राँके जुलुस निकाल्न खोजेपछि खोस्ने क्रममा भीडले ढुंगामुढा गर्न थालेपछि भीडलाई पन्छाउने क्रममा ४ सेल अश्रुग्याँस प्रहार गर्नुपर्‍यो’, थापाले भने, ‘भीडलाई नियन्त्रणमा लिने क्रममा केही समय झपडसमेत हुन पुग्यो।’

लामाललाई गत बुधबार साँझ काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनबाट प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने ६ थान गोलीसहित पक्राउ गरेको थियो। 
गुण्डा नाइके भनेर चिनिने लामा प्रदेशसभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ 'ख' बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.