|

पर्वत : हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा श्रद्धालुहरूको घुइँचो बढेको छ। कागबेनीको कालीगण्डकी त्रिवेणीस्थलमा श्रद्धालुहरू पितृको नाममा तर्पण र श्राद्ध गर्न पुगेका हुन्। 

अहिले कागबेनीको कालिगण्डकी बगर तर्पण र पिण्डदान गर्नेहरूले भरिभराउ छ। कागबेनीमा विशेषगरी बडादसैँ र चैतेदसैँ तथा औँसीका बेला तर्पण गर्नेको घुइँचो लाग्छ। नेपालकै प्रसिद्ध धार्मिक स्थलमध्ये कागबेनीधाम पनि एक हो। कागबेनीधाम कृष्ण र गण्डकी नदीको संगम स्थलमा पर्छ। कालिगण्डकी शालिग्रामका कारण पनि प्रख्यात छ। 

‘पितृ अधोगतिमा परेका भए यहाँ आएर पिण्डदान गर्नाले मोक्ष प्राप्त हुने पद्मपुराण र अन्य पुराणमा उल्लेख छ,’ पं.बालकृृष्ण सुवेदीले भने। कागबेनीमा तीर्थश्राद्धका लागि गएकाले दर्शन गर्ने भएकाले मुक्तिनाथ मन्दिरमा समेत श्रद्धालुहरूको घुइँचो बढेको छ। 

मुस्ताङका प्रहरी निरीक्षक ओमप्रसाद यादवका अनुसार गत शुक्रबार र शनिबार दुई दिनमा करिब १० हजार तीर्थालु मुस्ताङ पुगेका छन्। औँसीअघि दुई दिनमा पाँच सयभन्दा बढी सवारी साधन मुस्ताङ भित्रिएको अस्थायी ट्राफिक प्रहरी कार्यालय जोमसोमका ट्राफिक प्रहरी हवल्दार दानबहादुर नगरकोटीले जानकारी दिए। 

कागबेनीधाममा श्राद्ध मेला लागेपछि यहाँका व्यवसायीले स्थानीय उत्पादन बिक्री गरेर आम्दानी गर्दै आएका छन्। यहाँ शालिग्राम, स्थानीय स्याउको सुकुटीलगायत सामान बिक्री हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.