|

बाग्लुङ : तमानखोला गाउँपालिका–६ नर्जाखानीस्थित सामुदायिक स्वास्थ्य एकाइ औषधिविहीन अवस्थामा छ। स्वास्थ्य चौकी सरहको सुविधा हुनुपर्ने एकाइ औषधि अभावले प्रभावहीन बनेको छ।

डेढ वर्षअघि स्थापना एकाइ जम्मा १०÷१२ थरी औषधिको भरमा चलेको छ। रक्तचाप र तौल नाप्नेबाहेक अन्य स्वास्थ्य उपकरण एकाइले देख्न पाएको छैन। दुर्गममा स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकारले यस्ता एकाइ खोल्ने गरेको छ। 

एकाइले न्यूनतम पनि ७० थरीका औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ। सामान्य रुघाखोकी, ज्वरोका बिरामीलाई मात्र सेवा दिने अवस्थामा एकाइ रहेको अहेब लक्ष्मी छन्त्यालले बताइन्। उनले भनिन्, ‘औषधि, उपकरण नहुँदा भनेजस्तो सेवा दिन सकिएको छैन।’ 

सामान्य रोगका बिरामीलाई पनि अन्यत्र पठाउनुपर्ने अवस्था रहेको उाको भनाइ छ। सडक नपुगेको नर्जाखानीका बासिन्दा वडा नम्बर ५, खुङ्खानीमा रहेको स्वास्थ्य चौकी पुग्न दुई घण्टा पैदल हिँड्नुपर्छ। 

भौगोलिक विकटताले स्वास्थ्य चौकी टाढा भएका ठाउँमा सामुदायिक स्वास्थ्य एकाइ खोल्ने गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले एकाइ स्थापना गरेपछि अनुगमनसमेत गरेको छैन। कार्यालयले अघिल्लो चौमासिकपछि एकाइलाई औषधि उपलब्ध गराउन छोडेको छ। सरकारले स्थानीय स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेपछि उक्त जिम्मेवारी गाउँपालिकामा सरेको छ। गाउँपालिकाले स्वास्थ्य चौकीको बजेटबाट केही रकम छुट्टाएर एकाइा लागि औषधि उपलब्ध गराएको छ। 

औषधि नै नहुने अवस्था आएपछि थोरै भएपनि औषधि उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बूढाले बताए। उनले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन र व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट नभएको उल्लेख गरे। एकाइमा औषधि खरिदका लागि बजेटसमेत व्यवस्था नगरिएको अध्यक्ष बूढाले बताए। अहेब र अनमी गरी दुई स्वास्थ्यकर्मी रहेको एकाइको भौतिक पूर्वाधार पनि कमजोर अवस्थामा छ। 

एकाइले गाउँको सामुदायिक भवनबाट जेनतेन सेवा दिँदै आएको छ। जनशक्ति भएर पनि औषधि, उपकरण नहुनु दुःखद् भएको वडासदस्य निर्मलादेवी सिरपालीले बताइन्। 

‘हुँदै नहुनुभन्दा केही सुविधा त भएको छ, तर यतिले मात्र हुँदैन,’ उनले भनिन्, ‘व्यवस्थित र सुविधायुक्त बनाएर चलाउनुपर्छ।’ एकाइ खुलेपछि गर्भवती जाँच गर्नेको संख्या भने बढेको जनाइएको छ। एकाइका स्वास्थ्यकर्मीले प्रसूतिका बेला घरमै गएरसमेत सेवा दिने गरेका छन्। एकाइमा अहेब छन्त्याल र अनमी रञ्जना घर्ती कार्यरत छन्। 

तमानखोला गाउँपालिकाकै वडा नम्बर २ बोङ्खानीमा पनि अघिल्लो महिनादेखि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ। सहजरुपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित सर्वसाधारणलाई लक्षित गरी जिल्लाको हुग्दीशीर, दर्लिङ, निशी, पैंयूपाटा, जैदी, बोवाङको ढोरपाटन, ग्वालीचौर, खुङ्खानी र अमरभूमिको भुस्कातमा पहिलेदेखि नै एकाइ सञ्चालनमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.