|

सुनसरी : बराह नगरपालिका–११ मधुवनस्थित सरदार टोलमा शनिबार राति भएको आगलागीमा एक करोड ३७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

विद्युत् सर्ट भई आगलागी भएको भनिए पनि आगलागीको कारण भने खुल्न सकेको छैन। आगलागीमा ४६ परिवारको ७० घर टहरा जलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रमुख नारायणप्रसाद चिमरियाले जानकारी दिए। आगलागीमा एक करोड ३७ लाख ६० हजार रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

आगलागीमा दर्जनभन्दा बढी चौपाया समेत जलेर मरेका छन्। आगो पुरन चौधरीको गोठबाट सल्केको बताइएको छ। गोठबाट सुरु भएको आगो पुरनको घरमा सल्केसँगै ग्यास सिलिण्डर पड्केपछि वस्तीमा आगो फैलिएको प्रहरीले बताएको छ। आगो लागेपछि सामान निकाल्ने क्रममा सिलिण्डर ग्यास पड्कदा अमरलाल उराव र प्रभु सरदार घाइते भएका छन्। उनीहरुको इनरुवा अस्पतालमा उपचार भैरहेको छ। अागलागीका बेला हावा चलिरकाले अागलागी अनियन्त्रित बनेको प्रत्यक्षदर्शीहरुको भनाइ छ।

आगलागीमा खाद्यान्न, लत्ताकपडासहितका सबै सामाग्री जलेपछि आगलागी पीडितहरुको विचल्ली भएको छ। रेडक्रस लगायतका संघसंस्थाले पीडितका लागि राहत वितरणको तयारी गरेका छन्। आगो इनरुवा, इटहरी ,धरानका दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.