|
फोटो सौजन्य : मेरो फिल्म

काठमाडौं : नेपाली संगीत क्षेत्रलाई माया गर्ने दर्शक/श्रोता अर्जुन पोखरेललाई नचिन्ने कमै होलान्। अहिले एकदमै व्यस्त संगीतकारमा पर्छन् अर्जुन। उनले धरै फिल्ममा धेरै हिट गीतमा संगीत भरिसकेका छन्। उनकै गीत/संगीतका कारण पनि धेरै फिल्मको व्यापारमा राम्रै सघाउ पुगेको छ।

अर्जुनले तयार गरेका प्राय: गीतहरू रोमान्टिक लभ प्याट्रनका हुन्छन्। उनले संगीत भरेका हिट गीतहरूमा ‘सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छ्यौ रे’, ‘सररर बेग मारी’, ‘म यस्तो गीत गाउँछु’, ‘तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस्’, ‘मेरो सुखले दिन ढल्दैन’, ‘भन्छु आज मनका कुरा’, ‘तिमी रोएको पल तिमीलाई’ आदि पर्छन्।

उनी आफैँ गायक पनि हुन्। उनले आफूले संगीत भरेका केही गीतमा स्वर पनि दिएका छन्। उनले फिल्म 'ठमेल डट कम'मा समावेश 'मेरो सुखले दिन ढल्दैन', 'म यस्तो गीत गाउँछु' फिल्ममा समावेश 'किन आजकाल तिम्रो मन मैलो भो', 'पिँजडा ब्याक अगेन'मा समावेश 'तिमी नि आधा' बोलको गीत गाएका छन्। उनले संगीत भरेका वा गाएका धेरै गीतले युट्युबमा करोड भ्युज पार गरेका छन्। उनलाई अहिले 'हिट' संगीतकारका रूपमा लिइन्छ।

उनी आफू कुनै ठूलो ब्यानरमा काम गरेकाले हिट नभएको बताउँछन्। भन्छन्, ‘सुरुवाती दिनमा मैले राजु गिरीसँग काम गरेको हुँ। त्यहाँ गीतको पब्लिसिटी हुँदैनथ्यो। त्यही पनि दर्शक/श्रोताले त्यही बेला मेरो गीत मनपराइदिनुभयो।‘

‘प्रेम गीत’सम्म आइपुग्दा पनि आफूले कुनै ठूलो व्यानरमा काम नगरेको उनको भनाइ छ। ‘पछिल्लो समय मलाई चर्चामा ल्याउने प्रेम गीतका गीत बने, जुन गीत ब्राण्डले भन्दा पनि राम्रो भएर नै दर्शक/श्रोताले मनपराउनुभएको हो।‘

'तपाईंको गीत किन हिट छ त?' हाम्रो जिज्ञासामा उनले भने, ‘मैले बनाइरहने गीतमा मेरो आफ्नै मौलिकपन छ। म प्रेम भावका गीत बढी बनाउँछु। त्यो कुरा दर्शक/श्रोतालाई मनपरिरहेको छ। त्यसैले पनि होला कि!‘

अर्जुन आफू प्रेममय रोमान्टिक गीतभन्दा बाहिर रहेर पनि गीत सृजना गर्न सक्ने बताउँछन्। ‘मैले धेरै फरक धारका गीतहरू पनि तयार गरेको छु। मलाई फ्रि भएर काम गर्न दिने हो भने म धेरै फरक पनि गर्न सक्छु’, उनी भन्छन्, ‘मैले लोक गीतमा पनि संगीत भरेको छु। पप र गजलमा पनि संगीत भरेको छु।‘

उनी अहिलेका हिट संगीतकारका रूपमा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटालाई लिन्छन्। किन हिट उनीहरू?

राजनराज सिवाकोटी

राजनराजका गीतमा एकदमै टिपिकल शब्दहरू हुने भएकाले उक्त गीतहरूलाई दर्शक/श्रोताले मनपराइराखेको अर्जुन बताउँछन्। भन्छन्, ‘राजनराजका गीतमा ठेट नेपाली शब्दहरू प्रयोग भएका हुन्छन्। त्यसमा पनि हल्का लोक लय मिसिएको। यस्तो गीतलाई दर्शक/श्रोताले मनपराउँछन्। त्यसमा उनी सफल छन्।‘

फिल्ममा काम गर्दा राम्रो राम्रो व्यानर पाएकाले पनि राजनराजलाई सफलताका लागि सहयोग मिलेको अर्जुनको भनाइ छ। ‘सुर्के थैली हिट भयो। त्यसमा दीपक-दीपा जोडिएका थिए’, उनी थप्छन्, ‘पूर्व-पश्चिम रेल र कुटुमा कुटु आफैँमा राम्रा गीत हुन् तर ती गीत अहिलेको ब्याण्ड बनिसकेको व्यानरमा थिएनन् भने यति हिट हुने थिएनन् होला।‘

कालीप्रसाद बाँस्कोटा

कालीप्रसाद बाँस्कोटालाई राम्रो संगीतकारको रूपमा लिन्छन् अर्जुन। कालीमा फरक स्वाद भएका कारण उक्त कुरालाई दर्शक/श्रोताले मनपराएको अर्जुन बताउँछन्। ‘काली जीमा फरक प्याट्रन छ। लोक लयलाई फ्युजन गरेर उहाँले आइटम गीत बनाइदिनुहुन्छ’, अर्जुन भन्छन्, ‘त्यस्तो गीत दर्शक/श्रोताको रोजाइ बनिदिन्छन्।‘  

कालीप्रसाद भर्सटाइल संगीतकार हुन् भन्ने लाग्छ अर्जुनलाई। भन्छन्, ‘ठमेल बजार जस्तो गीतमा संगीत दिनुभएको उहाँले साइँली जस्तो गीतमा पनि संगीत दिनुभएको छ। त्यो भर्सटाइल पन हो।‘ कालीप्रसाद हिट हुनुमा केही हदसम्म फिल्मको व्यानर पनि कारक भएको अर्जुनको बुझाइ छ।

के राजनराज र कालीप्रसाद अर्जुनका प्रतिस्पर्धी हुन्?

यो कुरालाई मान्न तयार छैनन् अर्जुन। ‘राजनराज र कालीप्रसाद जी मेरा प्रतिस्पर्धी कुनै हालतमा होइन’, भन्छन्, ‘उहाँहरूले गर्ने गीत र मैले गरिरहेको गीतमा कुनै समातनता छैन त कसरी प्रतिस्पर्धी?’

राजनराज लोक लयका गीतहरू तयार गर्छन् भने कालीप्रसाद आइटम गीत बाउँछन्। ‘लोक लयका गीत बनाउने राजनराज, आइटम गीत बनाउने कालीप्रसादसँग मेरो प्रतिस्पर्धा कसरी?’, उनी भन्छन्, ‘म त लभ सङ बनाइरहेको छु।‘ निर्माता/निर्देशक पनि लोक लयको गीत बनाउन राजनराजलाई रोज्छन् भने आइटम बनाउन काली र रोमान्टिक लभ सङ बनाउन अर्जुनलाई रोज्ने गर्छन्। 

सबैको प्रतिस्पर्धा आफू-आफूसँग भएको अर्जुनको बुझाइ छ। ‘मलाई तिमी रोएको पलभन्दा राम्रो गीत दिनु छ भने राजनराजलाई कुटुमा कुटु र काली जीलाई ठमेल बजारभन्दा राम्रो गीत दिनु छु’, अर्जुन भन्छन्, ‘त्यो आफैँसँग भएको प्रतिस्पर्धा हो।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.