|

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहाल विजयी भएकी छन्। आइतबार भएको राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा दाहाल विजयी भएकी हुन्।

माओवादी सांसद दाहालले दिनानाथ शर्माको प्रस्ताव र दिलकुमारी रावल थापाको समर्थनमा उपाध्यक्षको उम्मेदवारी दिएकी थिइन्। उनको प्रतिस्पर्धीमा नेपाली कांग्रेसकी सांसद बिन्दादेवी आले रानाले सांसद बद्रीप्रसाद पाण्डेको प्रस्ताव र सरिता प्रसाईँको समर्थनमा उम्मेदवार बनेकी राना पराजित भइन्।

राष्ट्रियसभामा आइतबार भएको मत विभाजनमा दाहालको पक्षमा ४५ र रानाको पक्षमा ११ मत परेको थियो। उक्त मत विभाजनपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दाहाल उपाध्यक्षमा विजयी भएको घोषणा गरेका थिए।

राष्ट्रियसभामा एमालेका २७, माओवादीका १२, कांग्रेसका १३, राष्ट्रिय जनता पार्टीका २ तथा संघीय समाजवादी फोरमका २ सांसद रहेका छन्। त्यस्तै राष्ट्रपतिबाट मनोनित ३ सांसद रहेका छन्।

उपाध्यक्षका लागि भएको निर्वाचनमा राजपा र फोरमले पनि दाहालका पक्षमा मतदान गरेको थियो। आलेका पक्षमा कांग्रेसका मात्रै मत परेका थिए। नेपाली कांग्रेसका २ जना सांसद भने अनुपस्थित रहेका थिए।

राष्ट्रियसभाको अर्को बैठक चैत १३ गते १ बजे बस्नेगरी स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.