|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको मौखिक आदेशमा मोरङमा वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम रोकिएको छ।

नेपाल सरकारकोे वार्षिक बजेट र नीति तथा कार्यक्रमअनुसार समुदाय र सरकारलाई फाइदा पुग्ने तथा वनको दिगो व्यवस्थापन हुने निश्कर्षसहित चार वर्षदेखि संचालन भएको कार्यक्रम मुख्यमन्त्रीको निर्देशनमा रोकिएको हो।

वन कार्यालयको सहमतिमा जथाभावी रूख कटान गरिएको सूचना आएको भन्दै त्यसबारे चासो दिएका मुख्यमन्त्री राईले आइतबार जिल्ला वन कार्यालय र मातहतका कार्यालयका प्रमुखलाई बोलाएर कार्यक्रम रोक्न निर्देशन दिएका हुन्। 

जथाभावी रूख कटान भएको बारे बुझ्न भन्दै बोलाइएका वनका कर्मचारीलाई मुख्यमन्त्री राईले संविधानअनुसार वन जंगलसहितका प्राकृतिक स्रोत र साधनमा प्रदेश र स्थानीय तहको अधिकार बाँडफाँट भइनसकेको भन्दै कार्यक्रम रोक्न निर्देशन दिएको बताइएको छ। 

जिल्ला वन कार्यालय मोरङका प्रमुख डा. विनोद देवकोटाले मुख्यमन्त्रीको निर्देशनपछि तत्काललाई कार्यक्रम रोकिएको जानकारी दिँदै अब संघीय सरकारको वन मन्त्रालयले दिने निर्देशनअनुसार काम अगाडि बढ्ने बताए।

वन व्यवस्थापन नबुझेको गुनासो

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअनुसार जंगलमा रहेका ढलेपडेका र सयौँ वर्ष पुराना तथा वृद्धि हुन नसक्ने अवस्थामा पुगेका रूखहरू निकालेर नयाँ बिरुवा हुर्काइन्छ। मोरङका २० सामुदायिक र चारवटा साझेदारी वनमा यो कार्यक्रम सफलतापूर्वक संचालन भइरहेको छ। कार्यक्रममा कुनै त्रुटि भएमा त्यसलाई सच्याउनुपर्नेमा कार्यक्रम नै बन्द गर्ने निर्देशन हचुवाको भरमा आएको भन्दै सामुदायिक वनका पदाधिकारीले गुनासो गरेका छन्।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएपछि वनको हैसियतमा सुधार आएको उनीहरूको भनाइ छ। मोरङमा पहिलो पटक चार वर्षअघि सुरु भएको लाटीझोडा साझेदारी वन उपभोक्ता समिति मातहतको क्षेत्रमा अहिले नयाँ बिरुवा राम्रोसँग हुर्किरहेका छन् भने लेटाङको नमुना सामुदायिक वनमा त नयाँ बिरुवा हुर्किएर घना जंगल बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.