|

बारा : जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटर आफूले बनाएको समृद्ध उपमहानगर खाकालाई मूर्त रूप दिनका लागि सहयोग गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री ओलीसँग भेट गर्दै प्रमुख डा. पौडेलले उपमहानगरको वर्तमान अवस्थाबारे जानकारी गराउँदै समृद्ध उपमहानगरको खाका प्रस्तुत गरेका हुन्। 

डा. पौडेलले राष्ट्रिय गौरवका आयोजना, औद्योगिक करिडोर, निकुञ्जलगायत विभिन्न पूर्वाधार र सम्भावनाले उपमहानगरलाई समृद्ध बनाउन सकिने आधारसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका छन्। पूर्वाधारका हिसाबले अत्यन्त कमजोर रहे पनि स्थानीय तहको निर्वाचनपछि विकास निर्माणको कामलाई अघि बढाएको प्रधानमन्त्रीलाई जानकारी गराउँदै नगर प्रमुख डा. पौडेलले सरकारबाट समृद्धिको अभियानमा सहयोगको अपेक्षा राखेको बताए। 

विमानस्थल प्रभावित

जीतपुर सिमरा- १६ मा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले उपमहानगरलाई दक्षिण एसियाकै ट्रान्जिट हवका रूपमा अघि बढ्न सहयोग पुग्ने उल्लेख गरे। विमानस्थल निर्माण गरिरहँदा टांगियावस्तीका करिब एक हजार ४७६ घरधुरीको व्यवस्थापनलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने र व्यवस्थापनसँगै विमानस्थल निर्माणको कामलाई प्राथमिकता दिनुपर्ने डा. पौडेलको भनाइ छ। विमानस्थल निर्माणपछि उपमहानगरको समृद्धिको अभियानले उचाइ लिनेमा प्रधानमन्त्रीलाई जानकारी गराए।

प्रमुख डा. पौडेलले तराई काठमाडौं एक्सप्रेस हाइवे, सिमरामा निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र (सेज), पथलैया–वीरगन्ज औद्योगिक कोरिडोरको प्रमुख व्यापारिक मार्ग, पेट्रोलियम पाइपलाइन, पूर्व-पश्चिम रेलवे जस्ता राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनालाई तीब्र गतिमा अघि बढाउन आवश्यक नीति र बजेटमा प्राथमिकता दिनुपर्ने बताए। 

पूर्जा बाँड्ने अधिकार 

उपमहानगरको प्रमुख समस्याको रूपमा रहेको सार्वजनिक, ऐलानी, पर्ती र अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्न र संविधानले त्यसको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएकाले यसको व्यवस्थापनमा आवश्यक सहयोग गर्नसमेत प्रधानमन्त्रीसँग अनुरोध गर्दै नगर प्रमुख डा. पौडेलले पर्यटन क्षेत्रको सम्भावना रहेकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे। 

पर्यटन विकास

आरक्षबाट भर्खरै निकुञ्जमा बिस्तार भएको पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर चुरिया–अमलेखगंज–पथलैया–वीरगन्ज जोडेर विशेष पर्यटन हवको रूपमा विकास गर्न सकिने खाका प्रधानमन्त्रीलाई डा. पौडेलले प्रस्तुत गरेका छन्। 

प्राविधिक शिक्षा

शिक्षालाई प्राथमिकता दिनुपर्ने भन्दै प्रमुख डा. पौडेलले जीतपुर सिमरा- २३ मा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रलाई कृषिमा आधारित बहुप्राविधिक विद्यालयको र"पमा विकास गर्न र उपमहानगरभित्रका विभिन्न विद्यालयमा प्राविधिक शिक्षालय स्थापनाको पहल भइरहेकाले त्यसलाई अघि बढाउन आवश्यक निर्देशन अपेक्षा रहेको भन्दै ज्ञापनमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। 

डा. पौडेलले उपमहानगरको प्रथम नगरसभाले सडक सञ्जाललाई प्राथमिकतामा राखेकाले सडक, नाला, पुल जस्ता पूर्वाधार निर्माण गर्ने अभियानमा सरकारबाट सकारात्मक सहयोगको अपेक्षा रहेको भन्दै स्वास्थ्य, कृषि, सिँचाइँका लागि आवश्यक बजेटको व्यवस्था गर्नसमेत प्रधानमन्त्रीलाई ज्ञापनमार्फत आग्रह गरेका छन्। 

भेटमा प्रधानमन्त्री ओलीले उपमहानगरले बुझाएको ज्ञापनलाई आफूले सकारात्मक रूपमा लिएको भन्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री ओलीले प्रमुख डा. पौडेलसँग उपमहानगरको विषयमा वृहत छलफल गरेर अघि बढ्नेसमेत बताएको पौडेलका प्रेस सल्लाहकार दिवाकर भण्डारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.