|

पाँचथर : पाँचथरको फिदिम नगरपालिकाको इथुङस्थित साधुटारमा रहेको पोखरी पूर्वको नयाँ पर्यटकिय गन्तव्य बन्दै गएको छ। पछिल्लो समय चर्चामा रहेको पोखरी आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ। दुई महिनादेखि दिनहुँ पर्यटकहरूको भीड लाग्ने गरेको छ। पोखरी अग्लो डाँडामा छ। दृश्यावलोकनका लागि पनि पोखरी क्षेत्र त्यतिकै उपयुक्त मानिन्छ।

सामुदायिक रेडियोहरूको विश्व संगठन अमार्कमा आवद्ध प्रतिभा क्षेत्रीले साधुटारमा रहेको पोखरी र आसपासको क्षेत्र प्राकृतिक रुपले सौन्दर्ययुक्त भएको बताइन्। सामाजिक सञ्जालसँगै सञ्चारमाध्यमहरूमा साधुटारमा रहेको पोखरीको तस्वीर भाइरल नै भएपछि एकपटक पुग्नै पर्ने गन्तव्यको रूपमा लिएको र पुग्दा पोखरीको सौन्दर्यताले मन प्रफुल्लित र आनन्दित भएको बताइन्।

‘पोखरी सुन्दर छ। आसपासको क्षेत्र पनि त्यत्तिकै सुन्दर देखियो’, उनले भनिन्, ‘प्रचार प्रसार पर्याप्त भएको अवस्थामा पर्यटकहरूको पहिलो रोजाइमा पर्ने संभावना छ तर, पोखरीलाई यत्तिकै अवस्थामा राखिनुपर्छ।’ मेची राजमार्गको पौवाभञ्याङदेखि इथुङ मावि हुँदै साधुटारको पोखरी क्षेत्र करिब १० मिनेट सवार गर्दा पुग्न सकिन्छ।

पैदल सवार गर्दा भने करिब २५ मिनेट लाग्छ। पोखरी भने प्राकृतिक नभइ मानव निर्मित हो तर, मनमोहक देखिन्छ। पोखरी क्षेत्रमा भेटिएका आन्तरिक पर्यटक तथा फिदिमस्थित गडी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र लावतीले पाँचथर र इलामको सदरमुकामदेखि नजिक नै पोखरी क्षेत्र रहेको र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएकोले व्यस्त पर्यटकीय स्थल हुन सक्ने बताए।

भौतिक पूर्वाधारहरूको विकास गर्न भने आवश्यक देखिएको उनको भनाइ छ। ‘पर्यटकहरूका लागि होमस्टे, शौचालय र केही पसलहरू चाहिन्छ’, उनले भने, ‘यति भयो भने पर्यटकहरू अडिन सक्छन्। यसले जिल्लाको अर्थतन्त्रमा टेवा पुग्छ।’ किरात धर्मका महागुरु तथा १६औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको समाधिस्थल सिलौटी र कर्मभूमि लब्रेकुटीको ठीक सामुन्नेमा पोखरी छ। 

यसरी बन्यो पोखरी 

हाल पोखरी भएको ठाउँमा पानीसमेत थिएन। वर्षातको बेला चाहिँ थोरै पानी जम्थ्यो। इथुङ वरिपरिका स्थानीय हिउँदमा वनभोजका लागि खान जान्थे। गत भदौमा रङ्गखर्कबाट शेर्पा गाउँ, कमेरेभित्ता र इथुङका लागि खानेपानी पाइपबाट ल्याइयो। उकालोमा पानी चढ्छ कि चढ्दैन भनेर परीक्षण गरेको स्थानीय शिक्षक हरिकृष्ण मुखिया बताए।  उपभोक्ताहरूलाई पानी दिइएको थिएनन्। ७/८ दिन पानी पोखरी भएको ठाउँमा जम्मा गरेको उनले बताए। 

‘पछि हेर्दा राम्रो देखियो। फेवातालमा माछापुच्छ्रे हिमालको दृश्य देखिए जसरी यहाँ पनि कञ्चनजंघा र कुम्भकर्णको सिन देखियो’, उनले भने, ‘हामीले फोटो खिचेर फेसबुकमा लायौँ। पत्रकारहरू आएर समाचार लेखे, फोटो छपाए। चर्चा देश विदेशमा पनि भयो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.