|

काठमाडौं : दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले आधारभूत टेलिफोन सेवाको सञ्चालन अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्दाको शर्तअनुसार काम नगरेपछि दुई कम्पनी कारवाहीमा परेका छन्। नियायक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटिएल) र स्मार्ट टेलिकमलाई पाँच-पाँच लाख रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणको बोर्ड बैठकले यी दुवै कम्पनीले सञ्चालन अनुमतिपत्र लिँदा लिखित रूपमा प्रस्तुत गरेको ‘रोलआउट प्लान’ उल्लंघन गरेको पाएपछि कारवाही गर्ने निर्णय गरेको हो। 

स्मार्ट टेलिकमले २०७० वैसाख २ गते र यूटिएलले २०७३ भदौ २० मा आधारभूत टेलिफोनको सञ्चालन अनुमति पाएका थिए। दुवै कम्पनीले शर्त उल्लंघन गरेकोले कारवाही गरिएको प्राधिरकण प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। दूरसञ्चार ऐन २०५३ को दफा ४७ बमोजिम दुवै कम्पनीलाई कारवाही गरिएको भन्दै उनले दफा २८ बमोजिम सुधार गर्न निर्देशन दिएको उनले बताए । ‘कुनै व्यक्तिले ऐनबमोजिम अनुमतिपत्र नलिइ वा अनुमति पत्रमा उल्लेखित शर्तहरू पालना नगरी दूरसञ्चार सेवा सञ्चालन गरेमा प्राधिकरणले त्यस्ता व्यक्तिलाई ५ लाख रुपैयाँसम्म जरिवाना गरी त्यस्तो काम बन्दसमेत गराउन सकिनेछ’ ऐनको दफा ४७ ९२० मा भनिएको छ। यही व्यवस्थाबमोजिम प्राधिकरणले दुवै कम्पनीलाइ अनुमति पत्रबमोजिम काम नगरेको र रोलआउट प्लानमा उल्लेख गरेअनुसारको कार्य गर्न नसक्दा कारवाही गरिएको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.