|

महोत्तरी : महोत्तरी गौशाला नगरपालिका–१ रामनगरका किसान बेचु महतोले दुई विघा ‘खुटी’ र अढाई विघा ‘मुरहन’ उखु लगाएका छन्। उनले रामनगर स्थित एभरेष्ट सुगर एण्ड केमिकल ईण्डष्ट्रिज उखु मिललाई स्थापना कालदेखि नै उखु बेच्दै आएका छन्।

उनले ‘खुटी’ र ‘मुरहन’ उखु भुक्तानीका लागि पर्खिरहेको महिनौं वित्यो तर, आशा झनै निराशामा परिणत भयो। हालसम्म जति लगानी गरिएको छ, सबै ऋण लिएर लगानी गरे तर समयमा भुक्तानी नहुँदा व्याज दिनदिनै बढ्दैछ तर आफ्नै पैसा लिन अरुको बाटो ताक्नुपर्छ। पोहोर पनि उखु क्रिक्री गरेको ६ महिना पछि मात्र भुक्तानीको पैसा हातमा परेको थियो।

पुरानो दर ५३१ रुपियाँ २० पैसाको दरले हिसाब जोड्ने हो भन्ने करिब २० सय क्विन्टल उखुको मुल्य झण्डै साढे १३ लाख पाउनु पर्ने हो। तर उनले पैसा कहिले पाउँछन् भन्ने ठेगान छैन। चिनी मिल उखु खरिद गरेको २१ दिन भित्र भुक्तानी गर्ने सम्झौता प्रत्येक वर्ष गरेपनि त्यो सम्झौता कागजमै सिमिति हुदै आएको महतोको गुनासो छ। 

‘समयमा भुक्तानी पायो भने साहुबाट लिएको ऋण तिरेर दुई चार रुपियाँ हुन्थ्यो, चित्त बुझ्थ्यो’ उखु कृषक महतो भन्छन, ‘एक त साहुको व्याजको टेन्शन, अर्को तर्फ मिलले कहिले पैसा देला भन्ने चिन्ता सदैव लागि रहन्छ।’ ‘किसानले कम अथवा बेसी सरकारले समयमै मूल्य तोकि देओस् भन्ने चाहन्छन्। मुल्य नतोकिँदा चिनी मिलले अल्झाएर किसानको पैसा होल्ड गरेर आफनो काम गर्छन,’ उनले भने।

यसमा उखु किसान संघर्ष समितिहरु पनि त्यतिकै जिम्मेवार छन्। उखु किसान संघर्ष समितिहरुले समयमै उखु किसानको समस्या समाधान नगर्दा समस्या हरेक वर्ष दोहोरिने गरेको सोही गाउँका अर्का किसान झुमुक रसाईली बताउँछन्।

रसाईलीले प्रायः पुसबाट चैत सम्म उखु मिलले उखु क्रसिग गर्छ । तर उखुको मूल्यअन्तिम तिरमात्र तय हुन्छ, तर यस वर्ष त्यो पनि हुन सकेको छैन, जसले गर्दा किसानलाई मर्का पर्छ। किसानले उखु खेतीबाट पाउने पर्ने पैसा समयमा पाउदैनन। त्यो पैसाले चाहेको बखत आफनो काम गर्न सक्दैनन, अनि भनाउने बेलामा चाँही उखुलाई सरकारले नगदे बाली भनेर भन्दै आएको छ, हैन यो नगदे हो की उधारो बाली!

प्रदेश २ को ८ जिल्लाका उखु किसानको पीडा यस्तै छ। चिनीमिल कम भएकोले उखु बेच्न र पैसा पाउन झन्झट रहेको किसान राजकिशोर सिंह दुःखेसो पोख्छन्। नगदे बालीको रुपमा महोत्तरी, धनुषा, सर्लाही लगायत जिल्लामा गरिने उखु खेतीका किसानहरु हरेक वर्ष यस्तै समस्या खेप्न बाध्य छन्।

उखु मिलले यसवर्ष पनि गत वर्षकै दर ५३१ रुपैयाँ २० पैसा प्रति क्विन्टलको दरमा उखु खरिद गरिरहेको छ। यस सम्बन्धमा भने एभरेष्ट सुगर एण्ड केमिकल एण्ड ईण्डष्ट्रिज रामनगरका महाप्रबन्धक पवन झाले किसानले छिटै भुक्तानी पाउने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.