|

कालिकोट : रोग, भोक अशिक्षा र स्वास्थ्य उपचारले भौतारिने कर्णालीवासीले अब भने कर्णाली नै बिशेषज्ञ उपचार पाउने भएका छन्। सामान्य बिरामी हुँदा उपचारका लागि सुर्खेत, नेपालगंज र काठमाडौं जानुपर्ने कर्णालीवासीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कर्णालीमा नै बिषेशज्ञ उपचार सेवा दिन थालेको हो। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीको हुम्ला, डोल्पा र जुम्लामा विशेषज्ञ चिकित्सक नै बसेर सेवा संचालन गर्दै आइरहेको छ भने, मुगु र कालिकोट जिल्लामा महिनाको दुई पटकसम्म जिल्ला अस्पतालमै पुगेर विशेषज्ञ सेवा दिँदै आएको छ। 

जाजारकोट जिल्लामा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ सेवा संचालन गरिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईले बताए। ‘सामान्य चोटपटकको उपचारका साथै जटिल खालको शल्यक्रिया कर्णालीमै हुने गरेको छ,’ उनले भने, ‘अब सामान्यदेखि जटिल उपचारका लागि कर्णालीबासीले कतै भौतारिनु पर्दैन्।’

समयमा कर्णालीबाटै विशेषज्ञ सेवा सुरु भए पनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुँदै आएको गोसाई बताए। ‘विशेषज्ञ सेवाका लागि निश्चित कार्यतालिका बनेको छ,’ उनले भने, ‘आवश्यक परेमा कार्यतालिका भन्दा बढी पटक पनि विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ।’

कर्णाली प्रदेशका कुनै पनि जिल्लामा महामारी फैलन सक्ने संकेत देखिने बित्तिकै विशेषज्ञ सहितको स्वास्थ्यकर्मीको टोली परिचालन गर्दै आएको अस्पताल निर्देशक गोसाईले बताए । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुनुअघि जुम्लामा कर्णाली अस्पताल थियो । कर्णाली अस्पतालमा चिकित्सक नबस्ने र अहेब, स्टाफ नर्स बस्नाले ठूलो प्रकारको रोगको पहिचान हुन नसकी बाध्य भएर सामान्य खालका बिरामी रेफर हुने गरेको थिए,’ उनले भने,‘तर, पछिल्लो समयमा कणालीमा बाहिरका बिरामी उपचार गराउन आउने खालको वातावरण सृजना भइरहको छ।’

विशेषज्ञ सेवालाई कर्णाली प्रदेशको सबै जिल्लामा पुर्‍याउने लक्ष्य रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिष्ट्रर विश्वराज काफ्लेले बताए । ‘अहिले स्टाफ, नर्स र एचएको पढाइ भइरहेको छ, केही वर्षपछि एमबिबिएस पढाइ गर्ने जमर्को हँुदैछ,’ उनले भने,‘अबको दश बर्षमा चिकित्सक उत्पादन गर्ने कारखानाका रूपमा कर्णालीलाई लिन सकिने छ।’

कर्णालीलाई मेडिकल राजधानीका रुपमा स्थापित गर्न प्रदेश सरकारले पहल गरेको खण्डमा कर्णाली क्षेत्रको विकासमा निकै ठूलो योगदान पुग्न सक्ने निर्देशक गोसाईले बताए । ‘२०६८ सालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको स्थापना भएसँगै यहाँका बिरामी रिफर हुन छाडेका छन् ।’ उनले भने,‘यो नै कर्णालीको पहिलो उपलब्धि हो ।’

अहिले कर्णालीमा हाडजोर्नी, एनएसथेसिया, मेडिसिन, अर्थो, एमडिजीपी, गाइनो, बालरोग विशेषज्ञ र जनरल सर्जन लगायतका सेवा प्रदान हुँदै आएको गोसाईले बताए । ‘कर्णालीका पाँच, दैलेख, अछाम, बाजुरा र जाजरकोट जिल्लालाई  शिक्षण अस्पतालले कार्यक्षेत्र वनाएको छ,’ उनले भने। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा विशेषज्ञ चिकित्सक १६ जना, मेडिकल अफिसर १६ जना लगायत प्रतिष्ठानमा १ सय १५ जना कर्मचारी कार्यरत रहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.