|

आधुनिक फुटबलमा इमानदारिताको विषयमा धेरै प्रश्न उठाउने गरेका छन्। विज्ञहरु भन्छन्, ‘खेलाडीहरुको पैसा जति बढ्दैछ। खेलप्रतिको प्रतिबद्धता उति नै कम भएको छ।’ 

खेलाडीको प्रदर्शन र टिमप्रतिको प्रतिबद्धतालाई लिएर यो बहस लामो समयदेखि हुँदै आएको छ। खैर, अब फुटबल मैदानबाहिरको कुरा गरौं। यस विषयसँग फुटबलरको इमानदारीताको कुनै लेनादेना नहोला। तर, केही खेलाडी यस्ता छन् जसले विश्वकै इमान्दार प्राणीप्रतिको आफ्नो मोह लुकाउन सकेका छैनन्। सुपरस्टार लियोनल मेसीदेखि ह्यारी केनसम्मले आफ्ना सामाजिक सञ्जालमा बेला–बेलामा मानिसको प्रिय साथी कुकुरसँगको फोटो अपलोड गर्ने गरेका छन्। उनीहरु फुर्सदको समयमा कुकुरसँग रमाइलो गर्न रुचाउँछन्।

एलेक्सिज सान्चेज

यसै वर्ष आर्सनलबाट म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका एलेक्सिज सान्चेजले दुईवटा कुकुर पालेका छन्। एटम र हम्बर उनका कुकुरको नाम हो। उनी यी कुकुरसँगको माया लुकाउन सक्दैनन्। त्यसैले त २८ वर्षका यी स्टारले बेला–बेलामा सामाजिक सञ्जालमा आफ्ना कुकुरहरुसँगको फोटो अपलोड गर्ने गरेका छन्। ‘हामीलाई सुन्दर र महान् व्यक्तिले के भनेका छन् भने जनावरहरु स्वयंम्सेवी आत्मा हुन्। शब्दको उपहार बिना नै मानिसलाई कामको मुल्य, ऐक्यबद्धता, स्वतन्त्रताको स्विकारोक्ति र टिमवर्क देखाउन उनीहरु आएका हुन्। त्योभन्दा धेरै माया देखाउन...’ सान्चेज भन्छन्।

मेसुट ओजिल

आर्सनलका यी फुटबलर सानो छदाँ कुुकरसँग डराउने गर्थे। जब उनले आफैं कुकुर पाले। त्यसपछि उनी कुकुरसँग रमाउन थाले। जर्मनीबाट विश्वकप फुटबलको उपाधि जितिसकेका यी खेलाडीले डर हटाउँदै यस प्राणीसँगको माया बढाउन आफुले कुकुर पालेको बताएका छन्। उनको कुकुरको नाम ‘बाल्बोआ’ हो। रोचक, कुरा के छ भने बाल्बोआ आर्सनलको फ्यान हो। प्लेमेकर ओजिललले बाल्बोआलाई आफ्नो ११ नम्बर अंकित जर्सी लगाइदिएका छन्।

ह्यारी केन

सन् २०१६ मा टोट्टेनह्याम इंलिस प्रिमियर लिगको उपाधिनजिक थियो। तर, सिजनको अधिकांश समय उपाधिका लागि दाबेदारी पेश गरेको टोटेह्याम अन्त्यमा चिप्लियो। ह्यारी केन निराश भएर घर फर्किए। तर जब उनले लाब्राडोर्स जातका आफ्ना दुई कुकुर भेटे त्यसपछि सबै पीडा बिर्सिए। उनीसँग लाब्राडोर्स जातको एउटा कालो र अर्को सेतो कुकुर छन्, ब्राडी र विल्सन।

उनले रग्बी लिगका आफ्ना दुई स्टार टम ब्राडी र नाभोन विल्सनको नामबाट यी कुकुरको नाम जुराएका हुन्। उनी आफ्ना कुकुरहरुलाई टाढा टाढासम्म घुमाउन लैजान्छन्।

लियोनल मेसी

मेसीकी प्रेमिका एन्टोनेल्ला रोकुज्जोले सन् २०१६ को सुरुवातमै उनलाई फ्रेन्च मास्टिफ जातको कुकुर गिफ्ट गरेकी थिइन्। त्यतिबेला रोकुज्जोसँग थप दुईवटा कुकुर थिए। बाल्यकालदेखिका प्रेमि–प्रेमिका मेसी र रोकुज्जोले सन् २०१७ मा बिहे गरिसकेका छन्।

त्यसैले अहिले मेसीको परिवारसँग कम्तिमा ३ वटा कुकुर छन्।

क्रिस स्मलिङ

म्यानचेस्टर युनाइडेका सेन्टर ब्याक क्रिस स्मलिङ पनि कुकुरका सौखिन हुन्। म्यानचेस्टर युनाइटेडको अभ्यास मैदान केरिङटन जानुपूर्व उनलाई कुकुरले एकटकले हेरेको तस्विर केही समयअघि भाइरल भएको थियो। यस फोटोमा स्मलिङले पनि अभ्यासमा निस्कनुअघि निकै मर्मस्मपर्सी रुपमा आफ्नो कुकुरलाई फर्केर हेरेका छन्, गुडबाइ भन्दै। उनको कुकुरको नाम मिले हो।

यस कुकुरले स्मलिङजस्तै शानदार जीवन बाँच्छ। उनकी प्रेमिका तथा मोडल साम कुकले यस कुकुरलाई ट्रेनको फस्ट क्लास सिटमा राखेर म्यानचेस्टरबाट लण्डनतर्फ लगिरहेको फोटो पनि भाइरल बनेको थियो।

जेम्स रोड्रिग्वेज

कोलम्बियाका फरवार्ड जेम्स रोड्रिग्वेज जनावरप्रेमी हुन्। उनी घरमा पालिएका कुकुरमात्रै नभएर सडकका कुकरलाई पनि उत्तिकै माया गर्छन्। आफ्नो इस्टाग्राम एकाउन्टमा उनले सडकको एक कुकुरसँग रमाउँदै गरेको फोटो शेयर गरेका छन्। उनले घरमा पनि दुईवटा कुकुर पालेका छन्। ककर स्पानियल जातको एउटा र फ्रेन्च बल्डग अर्को।

नेयमार

पेरिस सेन्ट जर्माइनका स्टार नेयमार पनि कुकुरप्रेमी हुन्। सन् २०१४ देखि ‘पोकर’ नामको कुकुर उनको जीवनमा आएको थियो। यस कुकुर सानो छदाँदेखिकै फोटोहरु नेयमारले सामाजिक सञ्जालमा शेयर गर्ने गरेका छन्। केही महिनाको अन्तरालमा आफ्नो कुकुरको फोटो सामाजिक सञ्जालमा शेयर गरेबाटै उनको मोह झल्कन्छ।

मार्सेलो

रियल म्याड्रिडका ब्राजिली डिफेन्डर मार्सेलो पनि कुकुर प्रेमी हुन्। उनले आफ्नो नयाँ कुकुर लोलासँगको फोटो सामाजिक सञ्जालमा शेयर गरेका छन्। लोला मात्रै नभएर उनले आफ्नो म्याड्रिडस्थित घरमा थुप्रै कुकुर पालेका छन्। रियल म्याड्रिडका पूर्व खेलाडी पेपेकाअनुसार मार्सेलोले आफ्नो घरमा साथीभाईलाई बोलाउनुअघि आफ्ना कुकुरका विषयमा पनि बयान गर्ने गर्थे। उनी आफ्ना टोलीका अन्य सदस्यलाई पनि कुकुर पाल्न सल्लाह दिन्छन् ।

एन्डी कारोल : वेस्टह्यामका यी फुटबलर पनि कुकुरप्रेमी हुन् ।

म्यानचेस्टर युनाइटेडका मेम्मपिस डेपे पनि कुकुरहरुसँगको फोटो समाजिक सञ्जालमा अपलोड गर्न मन पराउँछन्।

स्पेन तथा आर्सनलका राइटर ब्याक हेक्टर बेलिरिन पनि कुकुरलाई असाध्यै माया गर्छन्। सामाजिक सञ्जालमा उनले कुकुरलाई माया गरेका तस्विरहरु थुप्रै भेटिन्छन्।

स्पेनिस गोलकिपर डेभिड डि जिया, नेदरल्यान्डस्का डेली ब्लाइन्ड, वेल्सका आरोन राम्सेलगायतका थुप्रै खेलाडीहरुले पनि बेला–बेलामा आफ्नो कुकुर मोह सामाजिक सञ्जालमार्फत दर्शाउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.