|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कसैप्रति शत्रुताको भावना नदेखाउन आग्रह गरेका छन्। चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबैले आफ्ना आचरणमा पनि सुधार ल्याउनुपर्ने बताए। ‘सबैले शान्तिको अनुभूति गरून्। कसैलाई अन्याय नपरोस्’, प्रधानमन्त्री ओलीले भने, ‘मान्छे देख्दा शत्रु होइन। दाजुभाइ दिदीबहिनी देखियोस्।’

नेपाल नयाँ मोडमा प्रवेश गरेको बताउँदै प्रधानमन्त्री ओलीले विगततिर फर्केर पश्चाताप वा समीक्षा गर्ने नभएर वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका लागि काम गर्नुपर्ने बताए। ‘हिजो भनाभन गरेका थियौँ, झगडा गरेका थियौँ भनेर त्यतातिर फर्कने समय होइन यो’, ओलीले भने, ‘अब सबै मिलेर देश निर्माण लाग्नुपर्छ।’

जनताले विकासनिर्माण, उत्पादन, शिक्षा, स्वास्थ्य, सुरक्षा हरेक क्षेत्रमा परिवर्तन चाहेको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘हाम्रा बाटाहरू चिल्ला होऊन्। खेत बाँझा नहुन्। खेतमा धान र गहुँका बाला झुलुन्। विद्यालयमा पढाइ चलोस भन्ने सबैको चाहना छ’ प्रधानमन्त्री ओलीले भने ‘यसका लागि हामी सबै एकताबद्ध भएर लाग्नुपर्छ। जनताको यो सपना पूरा हुन्छ।’

प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बलले स्थापनाको छोटो समयमा नै समाजमा शान्ति सुरक्षा स्थापनामा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। उनले सशस्त्र  प्रहरी बललाई राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तालाई ध्यानमा राखेर काम गर्न पनि निर्देशन दिए।

तालिम केन्द्र निर्माणका लागि चीन सरकारको ३ अर्ब ६० करोड रुपैँयाको सहयोग गरेको थियो। प्रधानमन्त्री ओलीले चीन सरकारलाई यस सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि २४ महिना नै निर्माण सम्पन्न गरी चाइना रेल्वे कन्स्टकक्सन कम्पनीले निर्माण गरी भवन हस्तान्तरण गराएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गरे।

‘समय भन्दा अगावै निर्माण सम्पन्न गरेर यो एउटा उदाहरणीय काम भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘अब हाम्रा विकास निर्माणका सबै काम यही गतिमा अगाडि बढ्छन्। यसका लागि सबै तयार रहनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.