|

पर्सा: सरकारले  तेस्रो मुलुकबाट आउने कालो मरिचको आयतमा तत्काललाई रोक लगाएको छ।  अन्तर्राष्ट्रिय बजार मूल्य घट्दै जाँदा नेपाल सरकारले मरिच आयातमा रोक लगाएपछि  व्यापार प्रभावित भएको व्यापारीहरुको गुनासो छ। 

सरकारले हालै जारी गरेको भन्सार नीति अनुसार आयातमा रोक लगाएको हो। आयात प्रभावित भएकाले यसको प्रत्यक्ष असर भन्सार राजश्वमा परेको वीरगञ्ज सिर्सियास्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका निमित्त प्रमुख धनबहादुर बडुवालले बताए। उनले आयतमा परेको समस्याको विषयमा सरकार र व्यापारीबीच वार्ता भइरहेकाले चाँडै नै यो समस्या समाधान गरिने बताए। 

भियतनाम सरकारले मरिच उत्पादन गर्ने आफ्ना किसानलाई सबसिडी ( अनुदान) दिएपछि अन्तर्राष्ट्रिय बजारमा कालो मरिचको मूल्य गिर्दो अवस्थामा रहेको र बढी मरिच आउन थालेका कारण यसको तस्करी पनि बढ्न भएकाले सरकारले तत्कालका लागि यसको आयातमा रोक लगाएको सुख्खा बन्दरगाह प्रशासनका अधिकारीले बताएका छन् ।

यता कालोमरिच आयातकर्ताले भने सरकारले अन्तर्राष्ट्रिय मूल्य सहजै पत्ता लगाउन सकिने भए पनि व्यवसायीलाई दुःख दिने नियतले जारी गरेको भन्सार नीतिका कारण करोडौँ मूल्य बराबरको मरिच रोकिएको बताएका छन्। कालो मरिच हालको मूल्य सूचीअनुसार प्रति मेट्रिक टन सात हजार युएस डलर खरिद मूल्य तोकिएको छ भने नेपाली व्यवसायीले ३१५० युएस डलरको दरमा मरिच भित्र्याउने गरेको बताइएको छ। 

सरकारले जारी गरेको  निर्देशनपछि २० फागुनदेखि एउटा व्यवसायीले समेत मरिच भन्सारबाट लगेका छैनन्। नियमित रुपमा आउने मरिच एकाएक बन्द भएपछि यसले भन्सार राजश्वसमेत प्रभावित भएको छ।

भन्सार नीतिकै कारण ट्रेडिङका करीब ७–८ र्‍याक सामान रोकिएको छ। व्यापारी सरकारसँग करीब चार हजार युएस डलरको दरले पाँच प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट जोडेर मरिच छुटाउने प्रयासमा छन्।

 मरिचमा पाँच प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्दै आएको छ। अहिले सुख्खा बन्दरगाहमा रेलमार्गबाट दैनिक ४० कन्टेनर आउने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.