|

  • भविन कार्की-

संखुवासभा : संखुवासभा जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको परियोजना अरूण तेस्रो जलविधुत् आयोजनाअन्तर्गतको सडक निर्माणमा कार्यरत मजदुरले छ महिनायता पारिश्रमिक नपाउँदा विचल्ली भएको छ। 

लुम्बिनी, एम.के. सिंह एण्ड ब्रदर्सको संयुक्त ठेक्कामा संचालनमा रहेको छ्याङ्कुटी–पुखुवा सडक खण्डमा काम गर्ने १५० कामदारले करिब ६० लाख रुपैयाँ पारिश्रमिक र लागत खर्च पाएका छैनन्। 

छ महिनायता पारिश्रमिक नपाएका कारण चार दिनदेखि सदरमुकाम खाँदबारीमा ७० जना कामदार बस्दै आएका छन्। कामदारहरूले खाँदबारीको सडकको छेउमा ट्र्याक्टरमा दिन–रात बिताइरहेको कामदार उदयपुरका चन्द्रबहादुर राईले बताए। ‘छ महिनायताको पारिश्रमिक नपाउँदा घरसम्म जाने खर्च छैन’, राईले भने, ‘मंगलबारसम्ममा निर्माण कम्पनीले पारिश्रमिक दिने भनेको छ। यदि पारिश्रमिक नपाउने हो भने हामी खुला आकाशमुनि भोकभोकै बस्न बाध्य हुनेछौँ।’

आफू नेतृत्वको टोलीले १५ लाख रुपैयाँ पाउन बाँकी रहेको हिक्मत राईले बताए। त्यसैगरी चन्द्रबहादुर राईको टोलीले २६ लाख र नन्दलाल राईको टोलीले २२ लाख रुपैयाँ पाउन बाँकी रहेको बताएका छन्। उदयपुरका गणेशनारायण श्रेष्ठ, राजन श्रेष्ठलगायतका केही कामदार आफन्तलाई घरबाट खर्च मगाएर घर फर्केको चन्द्रबहादुर राईले बताए। सडक निर्माणमा उदयपुर, खोटाङ, दोलखालगायतका जिल्लाबाट कामदारहरू आएका थिए।

उता, लुम्बिनी, एम.के. सिंह एण्ड ब्रदर्सका संचालक माधव खनालले कामदारको पारिश्रमिक दिनमा ढिलाइ भएको स्वीकार्दै मंगलबारसम्ममा सबैको परिश्रमिक दिइने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.