|

सुर्खेत : संघीयता लागू भएसँगै गाउँगाउँमा सिंहदरबार भनिए पनि सुर्खेतको चौकुने गाउँपालिकाले सम्पर्क कार्यालय जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा खोलेको छ। गाउँपालिकाकाे कामका लागि सदरमुकाम धाउनुपर्ने भएकाले स्थानीयवासीले गुनासो गरेका छन्। 

जिल्लाको सुदूरपश्चिममा रहेको गाउँपालिकाको कार्यालय कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा स्थापना गरिएको भन्दै स्थानीयवासीले गुनासोगरेका हुन्।स्थानीयवासीको गुनासो बढेपछि एमाले चौकुने गाउँपालिका कमिटीले प्रदेश राजधानी वीरेन्द्रनगरमा स्थापना गरिएको सम्पर्क कार्यालय तत्काल बन्द गर्न माग गरेको छ। 

बैठकबाट अविलम्ब कार्यालय बन्द गर्न चौकुने कार्यपालिकाको कार्यालयलाई जानकारी दिने निर्णय गरेको चौकुने गाउँ संगठन कमिटीका संयोजक हरिप्रसाद अधिकारीले जानकारी दिए। चौकुनेको अस्थायी केन्द्र गुटुमा रहेको र अविलम्ब उपयुक्त स्थानमा स्थायी केन्द्र तोक्न कार्यपालिकालाई सुझाव दिने निर्णयसमेत गरिएको संयोजक अधिकारीले बताए।

चौकुने गाँउपालिकाका अध्यक्ष र उपाध्यक्ष एमालेतर्फबाट निर्वाचित भएका हुन्। यसैबीच चौकुने गाउँपालिकाका उपाध्यक्ष निर्मला रानाले गाउँपालिकामा बैंक र विद्युतको सुविधा नहुँदा पालिकाको काम कारवाही सहज रूपमा गर्नका लागि सम्पर्क कार्यालय वीरेन्द्रनगरमा खोलिएको बताइन्। 

गाउँपालिकाका करिब ६०० योजना भएकाले बैंकिंङ सेवाका साथै प्रिन्ट र फोटोकपी गर्नका लागि मन नहुँदा नहुँदै बाध्यतावस सामान्य रूपमा सम्पर्क कार्यालय खोलिएको रानाको भनाइ छ। रानाले आउँदो बैशाख महिनादेखि सम्पर्क कार्यालय सुर्खेत बजारमा नरहने बताइन्।

लक्ष्मी बैंकले चौकुनेमा शाखा विस्तार गर्ने भने पनि विद्युत सुविधा र सुरक्षित घर नपाइएकाले बैंक नगएको रानाको भनाइ छ। बैशाखदेखि बैंक पनि गाउँपालिकामा जाने भएकाले बजारमा सम्पर्क कार्यालयको कुनै आवश्यकता नहुने उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.