|

दमक (झापा) : झापाको दमक तथा मोरङको पथरिशनिश्चरेमा रहेका भुटानी शरणार्थीहरूले लगातारको रासन कटौतीले जीवन निर्वाहनै कठिन भएको भन्दै स्थानीय सरकारसँग कटौती रोक्न मागेका छन्। 

तेस्रो देश पुनर्वास प्रक्रिया सुरु भएपछि शिविरमा रहेका शरणार्थीहरूको जीवन निर्वाह र बाँच्न पाउने अधिकार माथिनै उपेक्षा गरिएको शरणार्थीहरूको दुखेको छ। हाल शरणार्थीहरूको शरणागत झापाको दमक र मोरङ्को पथरीशनिश्चरे नगरपालिकाका प्रमुखहरूलाई उनीहरूले बाँच्न पाउने अधिकारको रक्षा गरिदिन आग्रह गरेका हुन्।

शरणार्थीहरूको टोलीले राहत कटौती गरेपछि पछिल्लो समय शिविरमा आएको समस्याबारे स्थानीय सरकारलाई जानकारी गराएको पथरीशनिश्चरेस्थित शिविरका सचिव चम्पासिंह राईले बताए। लगातारको राहत कटौतीले दुई छाक टार्नसमेत कठिन भएपछि जीवन रक्षाको पहल गरिदिन आग्रह गरिएको उनले बताए।

शरणार्थी शिविर बेल्डाँगीका सचिव टीकाराम रसाईलीका अनुसार दमकस्थित बेल्डाँगी शिविरमा हाल रासन लिँदै आएका शरणार्थीहरूको संख्या ५ हजार छ भने पथरीशनिश्चरेमा १५ सयको हारहारीमा छन्। 

लगातार राहत कटौती

भुटानी शरणार्थीहरूलाई दिइने राहत कटौतीले सास अड्याउनसमेत कठिन भएको शरणार्थीहरूको गुनासो छ। ‘सुरुमा लुगाफाटो पनि दिन्थ्यो। पौष्टिक आहार पनि पाइन्थ्यो, तेल, मसला, तरकारीसमेत दिने गरेको थियो’, सचिव रसाईलीले भने ,‘आखिर मान्छे बाँच्न ती सबै कुरा चाहिन्छ भने अहिले किन कटौती गरियो? हाम्रो प्रश्न यति हो।’ 

हाल २८ दिनका लागि प्रतिव्यक्ति नौ केजी चामल मात्र दिइने गरेको छ। अपाङ्गता भएका, अशक्तलगायतका लागि थप तीन किलो दिइन्छ।

स्थानीय सरकारसँग आश्वासन मात्र

शरणार्थीहरूलाई आश्रय दिँदै आएका झापा र मोरङका दुई नगरपालिकाले शरणार्थीहरूको सवालमा आफूहरूले पहल गर्ने बाहेकका अधिकार नभएको बताएका छन्। शरणार्थीहरूको ज्ञापन पत्र बुझेपछि मोरङ्को पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले मानवीयताको सम्मान गर्दै शरणार्थीहरूले भागेका समस्याबारे दातृनिकायका अधिकारीहरूसँग छलफल चलाइने आश्वासन दिएका छन्। 

यस्तै, शरणार्थीहरूको ज्ञापनपत्र बुझ्दै दमकका प्रमुख रोमनाथ ओलीले शरणार्थी अगुवाहरूको टोलीलाई पछिल्लो समय कटौती गरेको रासनको विषयमा सरोकारवाला दातृ निकायसँग जानकारी लिने र सहयो गर्न पहल गर्ने आश्वासन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.