|
फाइल तस्बिर

सल्यान : गर्मीयाम शुरु हुनै लाग्दा सल्यानका उच्च क्षेत्रमा रहेका बस्तीमा खानेपानीको अभाव सुरु भएको छ। पानीका मुहान सुक्दै जान थालेपछि वनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलामा रहेका चौर, माँझखर्क, वस्नेवटालगायतका बस्तीमा पानीको अभाव भएको हो। यस क्षेत्रमा एकगाग्री पानी लिन दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ। मुहानसम्म पुगेर पनि पालो कुर्नु पर्दछ । 

प्रत्येक घरबाट पानी लिनका लागि एकजना मान्छे दिनभर खटिनुपर्ने गुनासो वनगाड कुपिण्डे–१२ चौरकी रेवती वलीले पोखिन्। ‘वरपर मुहान छैन, दुई घण्टा हिँडेर एकगाग्री पानी ल्याउनु पर्छ,’ उनले भनिन्, ‘बस्तुभाउका लागि र खानेपानी ओसार्दैमा दिन बित्छ।’ 

नजिकैको पोखरीमा जमेको पानी शौचालयका लागि प्रयोग गर्ने गरिन्थ्यो तर अहिले पोखरीको पानी सुकेपछि त झन् समस्या भएको छ। घर परिवारमा दुई जना पानी ओसार्ने काममा लागेपछि बालबालिकाको पढाइमा समेत असर पर्न थालेको स्थानीय चन्द्रबहादुर पुनले पीडा पोखे। ‘बिहान ५ बजे पानी लिन गएको  ८ बजे फर्किन्छन्। पानीकै लागि समय दिन परेकाले छोराछोरीलाई समयमा विद्यालय पठाउन सकिँदैन यसले गर्दा तिनको पढाइसमेत बिग्रेको छ,’ पुनले भने, ‘दिनभरि पानी बोकेको मानिसकै लागि त पुर्‍याउन सकिँदैन, बस्तुभाउलाई कहाँबाट पुर्‍याउनु।’ आकाशेपानी संकलनका लागि ट्यांकी बनाएको भए पनि पानी नपरेपछि प्रयोगविहीन हुन थालेको छ । 

उच्च स्थानमा पानीका मुहान पनि कम रहेको वनगाड कुपिण्डे–१२ का वडाध्यक्ष गोविन्द डाँगी बताउँछन्। उनले भने, ‘त्यसमा पनि लामो खडेरीले गर्दा पानीका सबै स्रोत सुकिसकेकाले लिफ्ट प्रणालीको पानी ल्याउनुको विकल्प छैन। त्यसका लागि प्रयास गरिरहेको छु।’ खानेपानीको अभावकै कारण धेरै मानिसले बसाइँ सरिसकेको वडाध्यक्ष डाँगीले बताए। 

यस्तै, कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरको चोत्रेमा पनि खानेपानीको अभाव भएपछि त्यहाँको बस्ती नै काकाकुल बनेको छ। एकगाग्री पानी लिनका लागि तीन घण्टा समय खर्चनु परेपछि सिङ्गो बस्ती नै काकाकुल बनेको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतले बताए। 

४७ घरधुरी रहेको उक्त बस्तीमा खानेपानीको संकटले बस्ती नै सर्ने भएको छ। यहाँका कोट, वयाले, पोखरा, ढुंगकटेरी, धुम्का, आरुचौरलगायतका धेरै बस्तीमा खानेपानीको अभाव छ। पानी ओसार्नका दुई जनासम्म दिनभरि खटिनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.