रामेछाप : खडेरीले खानेपानीका मुहान सुकेपछि रामेछापका पूर्वी–दक्षिण तथा कोसीपारि क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ। खानेपानी अभावसँगै स्थानीयहरु एक गाग्री पानीका लागि रातभर पँधेरामा बस्न थालेका छन्।
गाउँमा रहेका अधिकांश पानीका मुहान सुकेर बाँकी रहेका, धारा र कुवाहरुमा पनि पानीको सतह घटेपछि रामेछापका देउराली, साँघुटार, हिमगंगा, रामपुर, ओख्रेनी, रामेछाप, सुकाजोर, मन्थली, भलुवाजोर, भटौली, चिसापानी, पुरानागाउँ, गेलु, सुनारपानी, सालु, कठजोर, पकरवास, भिरपानी, माकादुम, खाँडादेवीमा बस्ने अधिकांश स्थानियवासीहरु खोलामा बगेको प्रदूषित पानी पिउन बाध्य छन्।
गाउँमा पानीको आपूर्ति पूरा गर्नका लागि वैकल्पिक मुहान एउटा पनि छैन। खानेपानीको मुहान नभएका क्षेत्रमा नदी वा खोलामा भएको पानी विद्युतीय माध्यमबाट पानी तान्नुपर्ने स्थानीयको भनाइ छ। उक्त योजना सञ्चालन गर्नको लागि करोडौँ रकम लाग्ने भएकाले आफ्नो पहुँच नपुग्ने व्यवसायी अशोक बोगटी बताउँछन्।
पानीको वैकल्पिक मुहान भएका ठाउँमा स्थानीयहरुको अनुरोधमा खानेपानी डिभिजन कार्यालयले २४ बढी खानेपानीका योजना निर्माणको काम अगाडि बढाएको छ। गाउँमा खानेपानी वैकल्पिक व्यवस्था नहुँदा बेसीमा सरेर बस्न बाध्य भएको र अहिले आपूmहरुले लिखुखोलामा बगेको प्रदूषित पानी खान बाध्य भएको रामेछाप नगरपालिका साँघुटारकी कल्पना सुबेदीले गुनासो गरिन्।
खोला किनारमा जमिन हुने त बेसीमा सर्ने बेसी नहुने हरुलाई त झन समस्या भएको बताउँदै साँघुटार कै सुस्मा ढकाल भन्छिन्, ‘बेसीमा हुनेहरुले त खोलामा गएर पानीको समस्या सामधान गर्छन् गाउँमा भने पानीको झनै समस्या छ।’
यातायातको साधनबाट खोलाबाट आफ्नो ठाउँसम्म एक ट्यांकी पानी ल्याउँदा दैनिक एकहजारदेखि दुईहजारसम्म खर्चहुने उनी बताउँछिन्। जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ०७२ वैशाख १२ को विनासकारी भूकम्पले क्षति गरेको खानेपानीको मुहानहरुको सुकेको हुन सक्ने स्थानीयको भनाइ छ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका डिभिजन प्रमुख लोकबहादुर चौलागाईं विद्युतीय माध्यमबाट पानी तान्ने १२ योजनाहरु सम्पन्न भइसकेका र अन्य ६ वटा योजना निर्माणको अन्तिम चरणमा पुगेको बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।