|

बागलुङ:  चैत ९ गते शुक्रबारदेखि बागलुङको बलेवा विमानस्थलमा व्यावसायिक उडान सुरु भएको। बन्द भएको २६ वर्षपछि गत सोमबारबाट  तारा एयरलाइन्सको 'टुइनटर' विमानले परिक्षण उडान सुरु गरेकोमा शुक्रबारबाट नियमित उडान सुरु गर्न थालिएको हो। 

काठमाडौं –बागलुङ पहिलो उडान तारा एयरलाइन्सकै विमानले गर्ने भएको छ। दोस्रो व्यावसायिक उडान भने चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्नेछ। 
नेपाल नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच सातामा दुई उडान गर्ने सहमति भएको छ। हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सको विमानले उडान गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। 

‘परीक्षण उडान सफल भएको छ, अब नियमित उडान शुरु हुन्छ’ प्रमुख पौडेलले भने 'धवलागिरिवासीको सपना पूरा भएको छ।' प्राधिकरणको प्राविधिक टोलीले धावनमार्गको सतह मिलाउन र विमानस्थल वरपरका थप केही रुख काट्न सुझाव दिएको उनको भनाई छ। 

प्राविधिक हिसाबले विमानस्थल चलाउन कुनै समस्या नरहेको तारा एयरलाइन्सका वरिष्ठ प्रबन्धक सन्त प्रजापतिले बताए। विगतमा भएको सहमति अनुसार विमान कम्पनीले नियमित उडान शुरु गर्ने उनको भनाई छ। १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने सहमतिमा उल्लेख छ। 

बागलुङ–काठमाडौंको भाडादर निश्चित भइनसकेको तर ६ हजार रुपैयाँको आसपास हुनसक्ने जनाइएको छ। करिब ३५ मिनेटको उडानपछि यात्रु बलेवाबाट काठमाडौंमा पुग्नेछन्। 

विसं २०४८ मा बन्द भएको विमानस्थल पछिल्लो समय गौचरनमा परिणत भएको थियो। मर्मतसम्भार र पूर्वाधार तयारीपछि विमानस्थल सञ्चालनको वातावरण बनेको हो। मर्मत, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा प्राधिकरणले लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.