|

रौतहट: प्रहरीले  चितामा जलाउनै लागिएको अवस्थामा महिलाको शव बरामद गरेको छ। श्रीमान्को कुटाइबाट मृत्यु भएकी महिलाको शवका साथै शव जलाउनको लागि तयार पारिएको दुई बोतल पेट्रोल र पाँच किलो चिनीसहित जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटना लगत्तै गए रातिदेखि फरार रहेको प्रहरीले जनाएको छ। 
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार अभियुक्त सोनार र उनकी श्रीमती ३५ वर्षीया राजकुमारी देवी बीच घरायसी विवादमा गए राति झगडा भएको थियो। 
झगडाका क्रममा अभियुक्तको कुटाइबाट मृत्यु भएकी राजकुमारीलाई आज बिहान मृतकका दुई भाइ र अभियुक्तका भाइ भाञ्जाले लालबकैया किनारमा जलाउन लागेका थिए। 
सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको प्रहरीको टोलीले चिहानमा जलाउनै लागेको शव बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए। 
मृतकको घाँटीमा नीलो डाम देखिएकाले घाँटी थिचेर मारेको आशङ्का प्रहरीले गरेको छ। मृतकका भाइ पर्ने कटहरिया–५ का भन्टु साह र भाञ्जा पर्ने कटहरिया–५ का रामबालक साह तथा मृतकका भाइ रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुरेश साह पक्राउ परेका छन् । घटनापछि फरार अभियुक्तको सल्लाहमा आफन्तले शव जलाउन लगेको र माइती पक्षलाई खबर गर्दा भाइ पर्ने दुवै जना बिहान आएर सीधै शव जलाउने ठाउँमा पुगेको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.