|

काठमाडौं : २०६० को दशकमा नेपाली साहित्यमा गजलको बाढी आयो। कति त्यही बाढीमा मिसिएर कहाँ पुगे, स्वयम् तिनीहरूलाई थाहा छैन। कोही गजलको बाटो  हुँदै उपन्यास लेखनमा व्यस्त छन्। कोही गजलकै उन्नयन र प्रवर्द्धनका लागि आज पनि कलम चलाउँदै आइरहेका छन्।

यहाँ गजलको नाम सुन्नेबित्तिकै नाक खुम्च्याउनेहरूको भीड पनि प्रशस्त भेटिन्छ। नेपाली गजलको स्वर्णिम युगका रूपमा ०६० को दशकलाई मानिन्छ। यही बाढीमा मिसिन आएकी हुन्, गजलकार तथा गीतकार शीतल कादम्बिनी। शीतल आफैँमा सशक्त नाम हो नेपाली गजलमा। उनका 'गयो रात के भो', 'धेरैचोटि मरेँ म त', पछिल्लो क्रमको 'झुमा झुम्कावाली'सम्म आइपुग्दा अधिकांश गीत/गजल हिट छन्। यस्तो लाग्छ 'शीतल र सफल' शब्द एकअर्काका परिपूरक हुन्। त्यही हिट गजलमध्ये एक हो :

कहाँ थियौ तिमी रंगमंच उठेपछि आयौ

समयले जवानी यो लुटेपछि आयौ।

२०६४\०६५ तिर देशमा लोकतन्त्र आइसके पनि जनयुद्धका खाटाहरू बाँकी नै थिए। युद्धमा होमिएका व्यक्तिहरू, जसले परिवारलाई आउँछु भनेर गएका थिए,  तीमध्ये कतिले ज्यान गुमाए भने कति बेपत्ता भए। परिवारलाई मरेको मान्छे फर्केर आउने आश रहेन तर बेपत्ता भएका परिवारलाई त फर्केर आउला भन्ने हुँदो हो। उनीहरूलाई चुह्लोमा भरभराएको आगोले आश जगाउँदो हो, साँझमा हावाले ढोका हल्लाउँदा झस्काउँदो हो अनि मोबाइलमा बज्ने अपरिचित नम्बरको घन्टीले रुवाउँदो हो। आउने दिन गनेर बस्दा समयले आफ्नो गति बन्द गरेको आभास गराइदिँदो हो।

तर जो फर्केर आए, उनलाई पनि आफ्नो घरले चिन्ने अवस्था रहेन। बालबच्चाले आफ्नै बाबुआमा चिन्न सकेनन्। श्रीमतीले श्रीमान/श्रीमानले श्रीमती वा प्रेमीले प्रेमिका/प्रेमिकाले प्रेमी चिन्ने अवस्था रहेन। जो फर्केर आए, तिनको जीवनसँग मेल खाने गजलको रूपमा देखापर्‍यो यो गजल।

यही सेरोफेरोमा हरेक नेपाली जनताको जीवनसँग मेल खाने यो गजल नेपाली सांगीतिक क्षेत्रमा तरंग पैदा गर्न सफल भयो। भलै, यस गजलले जनयुद्धसँग सम्बन्ध राख्दैन। यस गजलकी सर्जक शीतल भन्छिन्, 'त्यसबेला यो गजल रेकर्ड भएर आउनु संयोग हो। तर संयोगले पनि काहिलेकाहीँ मान्छेको जिन्दगीलाई युटर्न मार्नेरहेछ।'

म्यासेज नै गजल बनेर आयो

नेपालगन्जबाट ०५६ सालमा चितवन आए पनि उनको रेडीयो सुन्ने बानी बसाइँ सरेन। २०५८ को मध्यतिर सिनर्जी एफएम खुल्यो। सिनर्जी एफएममा अर्जुन पौडेलले गजल कार्यक्रम 'अनुराग' चलाउँथे। शीतलले पहिलोचोटि गजल पठाइन। अर्जुनले उनको गजललाई गीतल बनेर वाचन गरिदिए रे! शीतल भन्छिन्, 'त्यो बेला कम्ता झोँक चलेको थिएन। मिहिनेत गरेर गजल पठाएको झन्, गीतल पो भन्छ त!', उनले हाँस्दै भनिन्, 'सायद गजलको आधारभूत तत्त्व त्यसमा थिएन।' 

त्यसभन्दा अघि शीतललाई गजल कस्तो हुन्छ, थाहा थिएन। हावाले अगाडि ल्याएको कपाल मिलाउँदै उनले भनिन्, 'जब म चितवन आएँ, तब गजलको बारेमा जान्ने र बुझ्ने अनि सिक्ने अवसर पाएकी हुँ।'

आफ्नो गजललाई गीतल भनेपछि इख बस्यो उनमा। उनलाई गजलको आधारभुत ज्ञान सिक्नु थियो। त्यसै बखत उनको भेट भयो गोविन्दराज विनोदीसँग, जसले वीरेन्द्र क्याम्पस पढाउँथे। उनले भनिन्, 'मैले सरलाई घुस खुवाएर गजल सिकेकी हुँ।' विनोदीको क्लास सकिनेबित्तिकै उनी फोन गर्थिन्। मनपर्ने खाजा खुवाउँथिन् अनि गजल सिकाइमाग्थिन्। शीतल आफ्नो गजल गुरुको रूपमा विनोदीलाई सम्मान गर्छिन्। उनले भनिन्, 'सरको खुला हृदयकै कारण आज म यहाँसम्म आइपुगेकी छु।' 

त्यसबेला उनलाई गजलमा लाग्न प्रेरित गर्न प्रेमविनोद नन्दन, गोविन्दराज विनोदीको हात जति छ, त्यति नै हात चितवनका रेडियोको पनि रहेको उनको भनाइ छ।रमाइलो पक्ष त के छ भने नेपालमा पहिलो पटक गजलमा सवाल जवाफको सुरुवात नै शीतल र प्रेमविनोद नन्दनले गरेका हुन्। उनले भनिन्, 'एक दिन मलाई अपरिचित नम्बरबाट 'म आएँ' भनेर म्यासेज आयो।' गजलको भूत सवार थियो उनको तन र मनमा अनि के चाहियो र? 'मैले त्यो सवाललाई जवाफको रूपमा यही गजल म्यासेज गरिदिएँ, जुन गजल नै आज मलाई श्रोताले चिन्ने माध्यम भएको छ।' उनले सन्तुष्टिको आवाज निकालिन्।

तर यो गजल कसरी रेकर्ड हुन गयो? त्योचाहिँ रोचक प्रसंग छ। २०६२/०६३ तिर गगन प्रधान र सहन प्रधानको रिवेल क्रियसनमा गायक शिव परियार आवद्ध थिए। गायनको सिलसिलामा शिव एक पटक चितवन पुगे। नेपाली सांगीतिक क्षेत्रमा शिव बामे सर्दै थिए। शीतलले भनिन्,'मचाहिँ चितवनमा बसेर गजल लेखेर चर्चित हुँदै थिएँ। चारैतिर मेरो प्रशंसा हुन्थ्यो।' त्यसै बेला शिवसँग उनको चिनजान भयो। विस्तारै दिदीभाइको जस्तो सम्बन्ध गाँसियो। केही समयपछि उनी काठमाडौं आइन्। शिवसँग भेटघाट बाक्लियो।

एक दिन शिवले सँगै काम गर्ने रहर गरे। दुवै जना रत्नपार्कमा बदाम खाँदै गीतको बजेट तयार पारे। शिवले शीतलको डायरीमा रहेका गजल हेरे। उनले पुरानो डायरी पल्टाए। यो गजल भेटे। शीतल सम्झिन्छिन्, 'मेरो गजलसंग्रहमा समेत नअटाएको गजललाई शिव भाइले पढ्नेवित्तिकै ल दिदी यो गजल ब्लाकबस्टर हिट हुन्छ भन्यो। ममा पनि आँट आयो', उनले भनिन् ,'शिव केही क्षणको लागि ज्योतिष पो भएर निस्क्यो, नभन्दै गजलले कमाल गर्‍यो।'

यो गजल कम्पोजिसन शिवले गरेका हुन्। सुरुमा यो गजल एरेन्ज गर्ने जिम्मा चाँद सिंहको काँधमा पुग्यो। चाँदले पूरै झ्याउरे लयमा तयार गरिदिए तर शीतललाई मनपरेन। त्यसपपछि शिव र शीतल गोपाल रसाइलीकहाँ पुगे। उनले पूरै वेस्टर्न प्याटर्नमा बनाइदिए। रसाइलीको एरेन्ज सुनेपछि उनले पनि यो गजललाई न्याय गर्न नसकेको जस्तो शीतलको मनमा लाग्यो। भागाभागको सिलसिला जारी थियो। शीतललाई यो गजल ननिकालौँ भन्ने सोच आइसकेको थियो तर अन्त्यमा विकल्पको रूप थिए, किरण कँडेल। कँडेलले शीतलको चित्त बुझाउन सफल भए। फलस्वरूप त्यसै वर्ष गजल बजारमा आयो ।

उनको लेखन यात्रा

शीतलको पुर्ख्यौली घर गोरखा हो तर उनी सानै उमेरमा दिदीको घर नेपालगन्ज पुगिन्, उतै पढिन्। उनी रेडियो धैरे सुन्थिन्। त्यसबेला क्षेत्रप्रताप अधिकारी, रत्नशमशेर थापा, राजेन्द्र थापा, किरण खरेलका गीत बज्थे। उनी गायक/गायिकाको स्वरले भन्दा लेख्नेहरूको खुबीले मोहित हुन्थिन्। उनीहरूले के खाएर लेख्दा हुन्? कस्ता होलान्? एक किसिमको चासो हुन्थ्यो उनमा। 

उनले अतीत सम्झिँदै भनिन्, 'म त गीतका स्वर फालेर आफैँले लेखेको गीत गाएर रेकर्ड गर्ने प्रयास गर्थें घरमा।' उनको मन राख्न भए पनि दिदीले 'गजब छ' भनिदिने रे! त्यसपछि त के चाहियो र? उनले खिस्स हाँस्दै भनिन्, 'खतरै पो लेखेँ कि के हो भन्ने लाग्थ्यो।' स्कुलमा कार्यक्रम हुँदा सधैँ प्रथम हुन्थिन् उनी। सरको स्याबासी पाइने, घरमा सबैको माया पनि पाइने। यही लोभका कारण उनले गीत/कविताप्रति मोह बढ्यो। समय यस्तो पनि आयो कि उनका लगाउने गरेका जामा छोटा हुन थाले, फूलमा डुल्ने भमरा देख्दा कहीँ कतै काउकुती लाग्न थाल्यो।

अब भने परिवार  चिन्तित हुन थाले।  पढ्ने उमेरमा गीत, कविता भन्दै हिँड्दा एक दिन दिदीले भनिछन्, 'तेरो कविताले पैसा आउँछ? खुरुखुरु पढ्नू, यी कविता हुन् कि के हुन्, बन्द गर।' तर शीतल पनि कम थिइनन्, उनले उल्टै जवाफ फर्काउँथिन्- 'अनि तिम्रो पैसाले चाहिँ कविता आउँछ?'

लेखनमा उनको रुचि देखेपछि घरमा गाली गर्न छाडे। उनले आफ्नो लेखनलाई अगाडि बढाइन्। उनका 'शीतल', 'कादम्बिनी', 'निर्झरी' एल्बमहरू बजारमा छन् भने पहिलो गजलसंग्रह 'सुगन्ध-यात्रा'लगायत अन्य कृति प्रकाशित छन्। 

आधुनिक गीत र चलचित्रका गीतमा पनि उनका गीतको छुट्टै पहिचान छ। अवार्ड र सम्मानपत्र पनि प्रशस्त छन् उनले पाएका। 'घरमा अवार्ड र सम्मानपत्रको खात देख्दाचाहिँ केटीले इख मानेर प्रगति गरी भन्छे दिदी', उनले आफ्नै दिदीको पोल खोलिन् यसरी।

गीत लेखेर बाँचिन्छ

साहित्य होस् या कला, त्यसमा सम्बन्धित हरेक कुराको ज्ञान र चेतना हुनुपर्ने उनको तर्क छ। उनी भन्छिन्, 'अध्ययन महत्त्वपूर्ण कुरा हो।' अध्ययन र ज्ञानविना यस क्षेत्रमा नलाग्न उनको सुझाव छ। साहित्य, कला भन्ने भन्ने कुरा कोमल भावनाको सबैभन्दा ठूलो बौद्धिक सम्पत्ति हो भन्छिन् शीतल। 'क्षणिक चर्चाको लोभ गर्नेलाई बाँचिदैन भन्ने लाग्ला तर गीत/गजललाई नै कर्म ठानेर अघि बढे मान्छे बाँच्ने प्रशस्त संभावना छ', शीतलको मत छ।

'गीतमा नेतालाई गाली, आफ्ना कुण्ठा, उत्ताउला कुरा लेखेर हुँदैन', उनले मुठ्ठी कस्दै भनिन्, 'गीतका शब्दले सास फेर्नुपर्छ, नत्र गीत मर्छ। हरेक मान्छेको संवेदनालाई छुन सक्ने गीत लेख्न सके मात्र सर्जक बाँच्छ।'

यसो भनिरहँदा उनको मोबाइलको  घन्टी बज्यो ।

हातले इसारा गर्दै 'एकछिन है' भन्दै फोनमा व्यस्त भइन्।

एकछिनमा उनले कुरोलाई लयमा ल्याउँदै भनिन्, 'यत्रो वर्ष मैले गीत/गजल लेखेर बाँचेकी छु। अहिले आएको फोन पनि देशको नामुद संगीतकार हो। अब आउने वर्ष  मैले सय वटा गीत लेखेर सक्नुछ।' उनले फोनमा भएको कुरालाई प्रष्ट्याउन भ्याइन्, 'अब भन्नुस्, गीत/गजल लेखेर बाँचिने अवस्था छ कि छैन त?' उनको प्रश्न ती तमाम व्यक्तिलाई थियो, जसले गीत/गजल लेखेर बाँच्न सकिँदैन भनिरहेका छन्।

बजारमा आएका पछिल्ला गीतहरूबाट केही हदसम्म सन्तुष्ट छन‍् उनी। भन्छिन्, 'सर्जक पनि समाजकै एक हिस्सा हो, समाजले जस्ता गीतको माग गर्छ, सर्जकले पनि त्यही कुरालाई निरन्तरता दिने हो।' समाजको गतिमा हिँड्नुको विकल्प नरहेको उनको बुझाइ छ।

 नाम जस्तै शीतल मन

समाजले महिलालाई खुलेर नहाँस्न भन्छ, पुरुषलाई खुलेर नरुनू भन्छ। शीतल यस मानेमा विद्रोही देखिन्छिन्। 'कसले के भन्छ भनेर हाँस्न छोड्नु त?', उनले एकफेरो मिलेका दाँत देखाएर लामै हाँसो हाँसिन्। सधैँ हँसिलो मुद्रामा हुने उनलाई देख्दा यस्तो लाग्छ, पीडा भन्ने जिनिसले उनको अोठको हाँसो मनपराउँछ र परैबाट फर्कन्छ। उसो त मान्छे पीडा लुकाएर हाँस्न अभिसप्त छ। यसका आफ्नै समाजशास्त्रीय मान्यता छन्। उनका पनि आफ्नै कहानी छन्। पीडाका खात छन् र रुन मन लाग्ने अतीत छन्, खुसी हुने अनगिन्ती क्षणहरू छन्। उनी भन्छिन्, 'दु:ख भयो भनेर रुँदै हिँड्न पनि त भएन।'

जे जस्तो भए पनि उनलाई जिन्दगीप्रति कुनै गुनासो छैन रे! 'जिन्दगीसँग असन्तुष्ट हुन थालियो भने त आत्महत्या गरे भइहाल्यो नि! आफ्नै जिन्दगीप्रति कुण्ठित भएर पनि के बाँच्नु?' कति सजिलै उत्तर दिन्छिन् शीतल।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.