|

दमक (झापा) : अस्थिर राजनीति र तीव्र परिवर्तनको सिकार देशका विभिन्न निकाय बनिरहेका छन्। यस्तै भएको छ, झापाको शिवसताक्षी– ३ स्थित एक सरकारी कृषि फार्मको पनि।

कृषिको व्यावसायीकरणका लागि झापाको शिवगन्जस्थित चन्द्रडाँगीमा स्थापित चन्द्रडाँगी बिउबीजन तथा दूग्ध विकास केन्द्र राजनीतिक प्रभावकै कारण वर्षौंसम्म थला परे। जुन दलको भागमा कृषि मन्त्रालय पर्‍यो, उसैले अध्यक्ष नियुक्ति गर्ने गरेकाले कुनै पनि अध्यक्षले दुई वर्षे कार्यकाल पूरा गर्न पाउँदैनन्। विभिन्न जातका कृषि उपजको उन्नत बिउ उत्पादन गरी किसानलाई वितरण गर्ने, व्यावसायिक पशुपालनमार्फत दूग्ध व्यववसाय प्रवद्र्धन गर्ने तथा कृषिसम्बन्धी परामर्श सेवा दिन भनी स्थापित केन्द्रका संरचनासमेत उपयोगविहीन बन्दै गएका छन्। सशस्त्र द्वन्द्वको समयमा आगजनी गरिएको एउटा भवन खण्डहर बनेको छ भने सवारी साधन पनि माटोमा मिलिरहेका छन्। 

नवौँ अध्यक्षको रूपमा एक वर्षअघि जिम्मेवारी लिएका ढुण्डिराज गुरागाईं भने विगतमा जे जस्तो भए पनि अब केन्द्रले नयाँ रूप लिँदै गएको बताउँछन्। ‘विगतमा यहाँ केही हदसम्म राजनीतिको प्रभाव परेको पनि हो, तीव्र नेतृत्व परिवर्तनका कारण पनि योजनाहरूले गति लिन सकेनन्’, उनले भने, ‘अब स्थिर सरकार आएको छ, केही दीर्घकालीन योजना हामीले सुरु गरिसकेका छौँ, त्यसैले पहिलेकै नजरले मात्र नहेरिदन आग्रह छ।’ 

उनी नेकपा माओवादी केन्द्रका नेता पनि हुन्। एमाले र माओवादीको सरकार रहेका कारण नेतृत्व तत्काल परिवर्तन नहुनेमा उनी ढुक्क छन्।

स्थापनाको इतिहास

यो स्थान कृषि केन्द्रको रूपमा विकास गर्ने गरी स्थापना भएको भने होइन। वि. सं. २०३२ मा कन्काई सिँचाइ योजना सुरु हुँदा प्राविधिकहरूको आवास केन्द्रका रूपमा यहाँ भवनहरू निर्माण भएका हुन्। नहर संचालनमा आएपछि त्यसको उपयोगबाट कृषकहरूलाई आधुनिक सीपसमेत सिकाउने र उन्नत बिउहरू उपलब्ध गराउने योजनासहित २०३५ सालदेखि कृषि डिभिजनको रूपमा संचालनमा ल्याइयो। तर स्वामित्व सिँचाइ मन्त्रालयमा थियो। सिँचाइ मन्त्रालयले कृषि क्षेत्रको डिभिजन संचालन गर्न नमिलेपछि २०५० सालमा सबै संरचना कृषि मन्त्रालयलाई हस्तान्तरण भएको बताउँछन्, केन्द्रका निमित्त कार्यकारी निर्देशक टेकबहादुर पोखरेल। त्यसपछि भने २०५२ सालको गठन आदेशमार्फत् यसलाई चन्द्रडाँगी बिउबीजन तथा दूग्ध विकास समितिको नामबाट संचालन गरिँदै आएको छ। 

विगतका केही वर्ष यसले अपेक्षाकृत रूपमा काम गर्न नसके पनि तीन वर्षयता भने यसलाई गतिशील र परिणामुखी बनाइएको उनको दाबी छ। ‘केन्द्रको जमिनको उपयोगिता विस्तार गरी विभिन्न प्रकारका बिउहरूको उत्पादन परिमाणमा हामीले वृद्धि गरेका छौँ’, निमित्त प्रमुख पोखरेले भने, ‘हाल यस कृषि केन्द्रले गहुँ, धान, मकै, मुसुरो, तोरी, जैघाँस, आलुलगायतका कृषि उपजको बिउ उत्पादन गर्दै आएको छ।’ तीन वर्षअघिको तुलनामा विभिन्न बालीको बिउ उत्पादनमा तीनदेखि चार गुणासम्म वृद्धि भइसकेको उनको भनाइ छ। 

विगतमा खाली रहने गरेको जमिनलाई उपयोग गरी विभिन्न बालीहरूको बिउ उत्पादन गर्दै आएको उनले बताए। यहाँ उत्पादन भएका कृषि उपजका उन्नत बिउ विभिन्न जिल्लामा पुग्ने गरेको छ।

खेती र उत्पादनमा वृद्धि

केन्द्रले मनसुली, आरती, चैते २, कान्छी मुसुली, साम्वा मन्सुली, सुखा ३, ललका बासमतीलगायतका धानका बिउ उत्पादन गर्दै आएको छ। यस्तै, गहुँ, मकै, मुसुरो, तोरी, जैघाँस र आलुको पनि बिउ उत्पादन वृद्धि गरिएको पोखरेलले बताए। ‘तीन वर्षअघि र अहिले धेरै परिवर्तन देख्नुहुन्छ तपाईंले’, उनले भने, ‘०६९ बाट ९७ मेट्रिक टन धानको बिउ उत्पादन परिमाण पुर्‍याएका छौँ, सात सय केजी मकैको बिउ उत्पादन हुनेमा हाल २८ सय केजी हुन्छ। पहिले तोरी थिएन, हामीले तोरीको बिउ पनि ५५० केजी बनायौँ, सात क्विन्टल आलुको बिउ तयार पारेका छौँ। त्यसैले पहिले जस्तै मात्र छैन अहिले यो।’ 

विगतमा खाली रहने जमिनको उपयोगिता पनि वृद्धि भएको उनले बताए। ‘उत्पादन त्यसै बढेको होइन, खाली रहने खेतमा हामीले खेती गर्ने क्रम पनि बढायौँ’, उनले भने, ‘दुई हेक्टरमा लगाइने चैते धान १० हेक्टरमा हुन्छ, अढाई हेक्टरमा हुने गहुँ खेती सात हेक्टर पुग्यो, डेढ हेक्टरमा मकै खेती हुने गरेकामा छ हेक्टरमा गरेका छौँ। त्यसैले बिउ उत्पादनसमेत वृद्धि भएको हो।’

मत्स्य ह्याचरी निर्माण

झापामा बढेको मत्स्यपालनलाई लक्षित गरी केन्द्र परिसरमा मत्स्य ह्याचरी निर्माण सुरु भएको छ। ह्याचरीमार्फत झापालाई माछाका भुरामा आत्मनिर्भर बनाउने र बाँकी अन्य जिल्लामा पनि बिक्रीको लक्ष्य रहेको पोखरेलले बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा मत्स्य ह्याचरी निर्माण सुरु भएको हो। 
केन्द्रका अध्यक्ष गुरगाईंका अनुसार आगामी तीन महिनामा ह्याचरी निर्माण कार्य सम्पन्न हुनेछ। यसबाट उत्पादित माछाका भुरा किसानहरूलाई उलपब्ध गराइनेछ। करिव २५ लाख रुपैयाँको लागतमा ह्याचरी निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरागाईंले बताए। 

झापामा माछा पालनको प्रशस्त सम्भावना रहे पनि गुणस्तरीय भुराको अभाव हुने गरेकाले ह्याचरी निर्माण थालिएको उनले जनाए। यसै वर्षबाट भुरा उत्पादनका लागि जनकपुरबाट सातवटा माउ माछा ल्याइसकेको कार्यकारी निर्देशक पोखरेलले बताएका छन्। पहिलो वर्ष ३५ लाख ह्याचलिङको लक्ष्य रहेको छ।

दीर्घकालीन योजना

एक दशकसम्म अलपत्र बनेको केन्द्रलाई प्रदेश १ कै मुख्य कृषि अनुसन्धान केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य रहेको अध्यक्ष गुरागाईंले बताएका छन्। ‘केन्द्रको नयाँ जीवन सुरु भएको छ’, उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत २५ लाखको माछा ह्याचरी निर्माण भइरहेको छ। करिव ३० लाखका औजार उपकरण पाएका छौँ। २० लाखको लागतमा घेराबारी पनि सुरु हुँदै छ। त्यसैले यसको नयाँ रूप यसै वर्ष देखिनेछ।’ 

कृषि पर्यटनको गन्तव्य, बाली अध्ययनको अनुसन्धान केन्द्र र मत्स्य पालनको स्रोत केन्द्र बनाई नयाँ रूप दिन लागिपरेका उनको भनाइ छ।

खोलाको कटान चुनौती

कृषि केन्द्रको पश्चिम भाग भएर बग्ने सतासी खोलाको कटान यहाँको चुनौती रहेको छ। दर्बिलो तटबन्ध नभएका कारण वर्सेनि फार्मको जमिन कटान हुने गरेको छ। ‘वर्षायाममा सबै जमिन जलमग्न हुने गरेको छ, कटान पनि रोकिएको छैन’, अध्यक्ष गुरागाईंले भने, ‘यो समस्या भए पनि अहिले हाम्रो स्रोतले भ्याउँदैन, यसका लागि छुट्टै स्रोतको खोजी गरिरहेका छौँ।’ स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी खोलाको कटान नियन्त्रण अबको प्राथमिकता रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.