|

  • राजेन्द्र पनेरु- 

कंचनपुर : कंचनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्रको धारापानी गाउँमा बस्दै आएका परिवारको गुजारा पानी घट्टले चल्दै आएको छ।

आर्थिक रूपमा विपन्न परिवारले पानी घट्ट संचालन गरी परिवारका लागि साँझ बिहानको खाना जुटाउँदै आएका छन्। विद्युत नहँुदा यहाँका बासिन्दाले संचालनमा ल्याएका दुई पानी घट्टबाट अन्न पिसानीको कार्य गर्दै आएका छन्।

अन्न पिसानी गर्दा केही हिस्सा घट्ट संचालन गर्दै आएका परिवारलाई दिने गरेका छन्, जसबाट घट्ट संचालन गर्ने परिवारको साँझ बिहानको खाना जुट्ने गर्छ। पचास वर्षीय स्थानीय साइमले धामीको परिवारले घट्ट संचालन गरेरै ११ जनाको परिवार धान्दै आएको छ। घट्टमा पिसानीका लागि आउनेहरूले दिने पिठोेले चार महिना गुजारा चल्ने गरेको छ उनको परिवारको। धामीले भने, ‘बाँकी खानाका लागि पाखो जमिनमा लगाएको अन्नले धानिँदै आएको छ।’ चार वर्षअघि दार्चुलाको धुलीगडाबाट घर जग्गा सबै पहिरोले लगेपछि विस्थापनमा परेको धामी परिवार आश्रयको खोजीमा यस ठाउँमा बस्न पुगेको हो।  ‘खाने गुजाराका लागि घट्ट संचालन गरेपछि जिन्दगी चल्दै आएको छ’, उनले भने।

चारैतिर नदीले घेरिएको ठाउँमा बस्दै आएका धामी परिवारलाई वर्षातको उर्लिंदो भेलले बगाउने चिन्तासमेत छ। चुरे क्षेत्रमा पर्दै गएको मानवीय चापले विनाश हुनथालेपछि संरक्षणका लागि बस्ती हटाउन दबाबसमेत आउने गरेको छ।

उनी भन्छन्, ‘पहाडमा रहेको सबै खेत–जग्गा पहिरोमा पर्‍यो, अब यहाँबाट समेत विस्थापनमा परे कुन ठाउँमा परिवारलाई लगेर राख्ने भन्ने पिरलो छ।’ उनी जस्तै वि.सं. २०४० देखि पानी घट्ट संचालन गर्दै आएका जयलाल धामीको परिवारसमेत यसमै निर्भर छ। धारापानी खोलाबाट ल्याइएको कुलोमा थोरै पानी हुँदा घट्ट विस्तारै घुम्ने भएकाले एक दिनमा पन्ध्र किलो मात्र अन्न पिसानी हुने गर्छ।

चुरे क्षेत्रका कसानी, बेलडाँगा, धारापानी, बर्रेगडा, कार्कीफाँटा बागमारेका बासिन्दा पालैपालो पिसानीका लागि घट्टमा पुग्ने गरेका छन्। घट्टमा पिसानी गरेवापत घट्ट मालिकलाई आधादेखि एक किलोसम्म पिसानी गरिएको पिठो बुझाउने गरेका छन्। 

यसबाट घट्ट संचालन गर्ने परिवारको खाना जुट्ने गरेको छ। घट्टबाट खाना र बाख्रा पालेर लुगाफाटो जुट्ने गरेको जयलालले बताए। खेती हुँदै आएको थोरै पाखो जग्गामा अन्न उत्पादनसमेत निकै थोरै हुने गरेको छ।  

चारैतिर घना जंगल र पहाडले घेरिएको ठाउँ धारापानीमा १४ परिवारको बसोवास छ।

विद्यालय र स्वास्थ्य चौकीको सेवा लिन पैदल नै २० किलोमिटरको यात्रा तय गर्दै यहाँका बासिन्दा पिताम्बर, पारिफाँटा र झलारीसम्म पुग्ने गरेका छन्। वर्षातमा नदीमा पानीको बहाव बढ्दा सेवा लिनबाट समेत यहाँका बासिन्दा बञ्चित हुने गरेका छन्। पिउने पानीका लागि खोलाकै पानी यहाँका बासिन्दाले प्रयोगमा ल्याउने गरेका छन्। 

वि.सं. २०२९ देखि धारापानीमा बस्ती बसेको भए पनि आधारभूत सुविधा नहुँदा विस्तारै बस्ती छाड्ने क्रम बढ्दै गएको छ। बालबालिकालाई विद्यालय पढाउनसमेत निकै सास्ती रहेको छ यहाँका मानिसलाई। २० किलोमिटरको यात्रा जंगलै जंगल भएर बालबालिका बस्तीभन्दा टाढा रहेको विद्यालय पुग्ने गरेका छन्।

ससाना बालबालिका भने विद्यालय जानबाट बञ्चित छन्। सात वर्षमाथि उमेर पुगेपछि मात्रै स्थानीय बासिन्दाले बालबालिकालाई विद्यालय पठाउने गरेका छन्। वर्षातका बेला खोलामा आउने बाढीले गर्दा बालबालिका विद्यालय जानबाट बञ्चित हुने गरेका हुन्।

चारैतर्फ जंगल र खोलाले घेरिएको बस्ती सुविधाविहीन रहेकाले बस्ती नै स्थानान्तरण गरिनुपर्ने वडा अध्यक्ष बहादुरसिंह महराले बताए।

बस्तीका कारण चुरे विनाश त बढेको छ। उनले भने, ‘कुनै पनि सुविधा पुर्‍याउन थोरै स्रोतले संभव नभएकाले बस्ती नै अन्यत्र सारिनुपर्छ। यसका लागि योजना बनाउन जुटेका छौँ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.