|

गोरखा : एकै परिवारका तीन सन्तान अपांगता भएका व्यक्ति भएकाले अपांगमैत्री घर बनाउनका लागि नेपाली सेनाले सहयोग गरेको छ। जिल्लाको शहीद लखन गाउँपालिका- ७ स्थित मकैपुर कोर्थाेकमा धनबहादुर र पोषकुमारी श्रेष्ठको घर बनाउन नेपाली सेनाको रणसिंह दल गणका जवानहरूले मंगलबारदेखि श्रमदान सुरु गरेका हुन्। 

धनबहादुर र पोषकुमारीका छ सन्तानमध्ये तीन राजीव, लीला र शिला अपांग हुन्। दुई छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी गाउँकै विद्यालयमा छ कक्षामा अध्ययनरत छन्। वडा अध्यक्ष शरण श्रेष्ठको फेसबुक अभियानबाट रकम संकलन गरी अपांगमैत्री घर बनाउन लागिएको हो। 

‘घर बनाउन १० लाख रुपैयाँ विभिन्न सहयोगी मन भएका दाताहरूले पठाइसक्नुभएको छ’, वडा अध्यक्ष श्रेष्ठले भने, ‘उहाँहरूका छोराछोरी पनि अशक्त, आर्थिक रूपमा पनि विपन्न नै भएकाले मैले सहयोग गर्नुपर्छ भन्ने ठानेर पैसा पनि उठाउन थालेँ। अहिले घरको पिलर हाल्नलाई खाडल खनिसकिएको छ। गाह्रोको काम सुरु भएको छ।’

वडा कार्यालयले जनशक्ति सहयोग माग गरेपछि रणसिंह दल गणका १० जना सेनाहरू त्यहाँ खटिएका छन्। ‘मानवीय सहायताको काम भएकाले रणसिंह दल गणलाई वडा अध्यक्षको हैसियतले मैले केही जनशक्ति उपलब्ध गराइदिन आग्रह गरेको थिएँ’, श्रेष्ठले भने, ‘गणले आग्रह स्वीकार गरेर १० सैनिकलाई पठाएको छ। उहाँहरूले गारो लगाउनेलगायत निर्माणको काम गर्न थालिसक्नुभएको छ।’

जग हाल्नेलगायतको काम गाउँकै कामदारहरू लगाएर गरिसकेको श्रेष्ठले जानकारी दिए। नयाँ बन्ने अपांगमैत्री घरमा एक फ्ल्याटमा चारकोठे हुनेछन्। वडा कार्यालयको आग्रहलाई स्वीकार गरेर मानवीय सहयोगका लागि १० जना सेनाहरू खटाएको रणसिंह दल गण गोरखाका कर्णेल चन्दनसिंह थापाले जानकारी दिए। उनीहरूको घर २०७२ बैशाख १२ को भूकम्पले ध्वस्त पारेपछि नयाँ घर अपांगमैत्री बनाउनका लागि अध्यक्ष श्रेष्ठले फेसबुकमार्फत आर्थिक संकलन अभियान चलाएका थिए।   

अध्यक्ष श्रेष्ठले केही समयअघि तीनै जना अपांगहरूको घरमै जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूलाई पुर्‍याएर नागरिकता बनाउन सहयोग गरेका थिए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.