|

लहान : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई बहुमतसहितको वर्तमान सरकारले आगामी दश वर्षभित्र मुलुकको आर्थिक समृद्धि गर्ने बताएका छन्। 

सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिकामा मंगलबार अपरान्ह हुलाकी राजमार्गको स्तरोन्नति शिलान्यास गर्दै प्रचण्डले वर्तमान सरकारले आर्थिक क्रान्तिमार्फत पछाडि रहेको सिङ्गो मधेससहित मुलुकको समृद्धि र विकासले आर्थिक मानचित्र बदलिने बताएका हुन्। 

‘संविधान कार्यान्वयन अन्तर्गत स्थानीय, प्रादेशिक र संघीय सरकारसमेत बनिसकेको सन्दर्भमा अब राजनीतिक नभइ आर्थिक क्रान्तिका लागि काम गरिने छ’,उनले भने, ‘पूर्व–पश्चिम हुलाकी सडकलाई छ लेनको बनाई छ। मध्य पहाडी लोकमार्गसँग जोडेर मधेसको कायापलट गरिने छ।’  सिँचाइ, पूर्वाधारको विकास गरी समृद्ध मधेस बनाउन सुनकोशी–कमला डाइभर्सनको सर्वेको काम भइरहेको र वर्तमान सरकारले नै त्यसको कार्यान्वयन गर्ने बताए। 

त्यसका साथै तिब्बतसँग जोडिएको केरुङ– काठमाडौं– लुम्बिनी – जनकपुरलाई जोड्ने रेलमार्ग निर्माण गर्दै धार्मिक पर्यटकीय क्षेत्रको  विकास गरी लाखौं पर्यटक भित्र्याएर समृद्ध मधेस बनाउन आफ्नो प्रयास रहने प्रचण्डको उद्घोष थियो। आफू दोस्रो पटक प्रधानमन्त्री बनेका बेला भएको भारत भ्रमणको क्रममा भारतीय समकक्षीसँग वार्ता गरी अलपत्र परेको हुलाकी सडकको काम पुनः सुचारु गरेको स्मरण गर्दै उनले भने, ‘पछिल्लो निर्वाचनमा जनताले वाम गठबन्धनलाई बलियो बनाएका छन्। अब विकास र समृद्धि कुनै पनि बहानामा रोकिंँदैन।’   

संविधान संशोधनको सन्दर्भमा अध्यक्ष प्रचण्डले मधेशको पहिचान, आत्मसम्मान, सामाजिक न्यायका लागि असन्तुष्ट दलहरूसँग वार्ता चलिरहेको चर्चा गर्दै चाँडै सहमति गरेर प्रदेश २ सहित सिङ्गो मुलुकको समृद्धिका लागि सबै दलहरू जुट्ने दाबी गरे।  
राजनीतिक एजेण्डा सकियो : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले संविधान कार्यान्वयपछि मुलुकमा राजनीतिक एजेण्डा सकिएकाले सबैले मिलेर मधेशसहित मुलुककै विकास र समृद्धका लागि मिलेर अगाडि बढ्नु पर्ने औँल्याए।

‘विगतमा जस्तो हुलाकी सडकसहित अन्य विकास निर्माणमा ठेकेदारले गर्ने ढिलासुस्ती, काम छोड्ने गरे जरिबानासहित अनुमति खारेज गरिने छ’, मन्त्री महासेठले भने ‘उत्तरी क्षेत्रमा फलफूल खेती र दक्षिणी भेगमा सिँचाइको प्रबन्ध गरी अन्न उत्पादन बढाएर मधेसलाई सम्पन्न बनाउन केन्द्रित हुनेछौँ।’ 

विकासको विशेष प्याकेज : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले वर्षौँदेखि उपेक्षित मधेसको समृद्धिका लागि विकासको विशेष प्याकेज घोषणासहित काम गरिने उद्घोष गरे।

‘शिक्षा, स्वास्थ्यसहित मानवीय विकास सूचकाङ्कमा पछि रहेको मधेशका लागि संघीय सरकारले प्रदेश २ लाई विशेष ध्यान दिनुपर्छ’,मुख्यमन्त्री राउतले भने,‘संघीय सरकारमा मधेसी दलहरूको समेत सहकार्य रहेकाले प्रादशिक सरकारमा पनि गठबन्धनसँग मिलेर मधेशको विकास गर्नेछौँ।’

आगामी पाँच वर्षभित्र मिलेर अन्य प्रदेशको तुलनामा प्रदेश २ लाई उत्कृष्ट बनाइने मुख्यमन्त्री राउतले दाबी गरे। 
करिब सवा ४७ अर्ब बजेट

पूर्व–पश्चिम हुलाकी सडक ९ सय ७५ किलोमिटर र उत्तर दक्षिण जोडिने सहायक सडकसहित एक हजार सात सय ९२ दशमलव ४२ किलोमिटर हुलाकी सडक स्तारेन्नतिका लागि ४७ अर्ब २४ करोड बजेट रहेको छ।

उक्त सडकमा प्रारम्भिक अनुमानअनुसार एक सय ५० वटा पुलमध्ये ६५ वटा पुल निर्माण सम्पन्न भएको  र ६८ वटा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक आयोजनाका निर्देशक श्याम खरेलले जानकारी दिए। 

राणाकालीन प्रधानमन्त्रीहरू जुद्धशमशेर, जंगबहादुर राणा र पद्म शमशेरको कार्यकालामा वि.सं. १९०३ देखि २००८ सालसम्म पूर्वी सीमामा पर्ने झापाको भद्रपुरदेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्म ९ सय ७५ किलोमिटर खण्ड बनेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.