|

विराटनगर : उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा बिरामीको मृत्यु भएको भन्दै विवाद उत्पन्न भएको छ। चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको मृतकका आफ्न्तले दाबी गरेका छन्। 
देब्रे तिघ्राको हड्डी भाँच्चिएर उपचार गराउन आएकी सिरहा नगरपालिका छारपट्टिकी २५ वर्षीया रंजीता साहको उपचारको क्रममा मृत्यु भएपछि विवाद भएको हो। फागुन २८ गते जनकपुरबाट एउटा विवाह समारोहमा सहभागी भएर फर्किने क्रममा श्रीमान वीरेन्द्रसहित जीप दुर्घटनामा परेकी मृतक साहको देब्रे तिघ्राको हड्डी भाँच्चिएको थियो। 

उनलाई उपचारका लागि तत्कालै विराटनगरस्थित न्यूरो अस्पताल ल्याइएको थियो र अर्को दिन उनको तिघ्राको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया अघिसम्म सामान्य अवस्थामा रहेकी साहको शल्यक्रिया भएपछि अवस्था बिग्रिँदै गएको र मंगलबार बिहान उनको मृत्यु भएको परिवारले जानकारी दिएको छ। सिकारु चिकित्सकहरूले शल्यक्रिया गरेकै कारण बिरामीको स्वास्थ्य अवस्था बिग्रिएर मृत्यु भएको मृतकका श्रीमान वीरेन्द्र साहले बताए।

हड्डी भाँच्चिएकै कारण मात्रले बिरामीको मृत्यु हुन नसक्ने मृतक पक्षले आरोप लगाइरहँदा अस्पताल प्रशासनले भने घटनामा चिकित्सक र अस्पतालको कुनै पनि लापरवाही नभएको दाबी गरेको छ। बिरामीको विशेषज्ञ चिकित्सक अर्थोपेडिक सर्जन डाक्टर सिलवन्त श्रीवास्तवले अप्रेशन गरेको अस्पताल पक्षले जनाएको छ।

बिरामीलाई फ्युमर फ्याक्चर भएको र सोहीबाट फ्याटी इम्बोलिज्म भएर विरामीको मृत्यु भएको अस्पतालले जनाएको छ। तिघ्राको मोटो हड्डी भाँच्चिएपछि  हड्डीभित्र रहने बोनम्यारो नशामार्फत किड्नीमा गएको र सोही कारणले किड्नी फेल भएर बिरामीको मृत्यु भएको अस्पतालका अप्रेसनल डाइरेक्टर राजेश भट्टराईको भनाइ छ। उनले विधि र प्रक्रियाअनुसार नै बिरामीको उपचार गर्दागर्दै बचाउन नसकिएको दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.